Shikhar Insurance

गोर्खाज फाइनान्सको सेयरमा व्यापक चलखेल, एकै कारोबारमा ७% ले यसरी बढाइयो मूल्य

रोविन पौडेल
२०७८ पुष १३, मंगलवार ०९:१८
NIMB
Nabil Bank

काठमाडौं । ठूला र पैसा भएका लगानीकर्ताको जमात मिलेर निश्चित कम्पनीको मूल्यमा व्यापक चलखेल हुने गरेको प्रमाण फेला परेको छ । नेप्से अनलाइन कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा भएको छिद्र (लुपहोल) प्रयोग गरेर केहि लगानीकर्ताको समूह चलाखीपूर्ण तरिकाले मूल्यमा उतारचढाव गराइएको तथ्य पुष्टि भएको हो ।

सामान्यतः कारोबार अवधिमा कायम रहेको मूल्यको २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही खरिद वा बिक्रीको अर्डर राख्न मिल्छ । र, मूल्य उतारचढाव हुँदा क्रमैसँग तलमाथि हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, कारोबार गर्नेहरूको समूह मिलेर यस्तो खरिद/बिक्री अर्डर राख्छन्, जसले प्रणाली नै एकैपल्ट १० देखि १२/१५ प्रतिशतसम्म बढी वा कम मूल्यमा अर्डर म्याच भएको देखाइदिन्छ भने मूल्य सोहीअनुसार उतारचढाव हुन्छ ।

सोमबार गोर्खाज फाइनान्सको सेयर मूल्यमा त्यस्तै उतारचढाव भयो । ७ सय ६३ रूपैयाँमा कारोबार भइरहेको सेयरको मूल्य कारोबारको अन्तिम समयमा बढेर ८ सय ५ रूपैयाँसम्म पुग्यो र एकैपल्ट ८ सय ६२ हुँदै ८ सय ७६ रूपैयाँ पुग्यो ।

अन्य ब्रोकरबाट बिक्री अर्डरमा राखिएका १०, २०, १०००, १००, ५०० कित्ता सेयर ४८ नम्बरको ब्रोकरबाट खरिद हुँदै गयो । र, क्रमैसँग मूल्य बढ्यो । ब्रोकर नं. ४८ बाटै प्रतिकित्ता ८ सय ५ रूपैयाँको दरमा १५ सय ६५ कित्ता सेयर खरिद भएपछि कम्पनीको सेयर मूल्य बढेर ८ सय ६२ रूपैयाँ पुग्यो र सो मूल्यमा १ सय ९० कित्ता खरिद भयो । बढ्ने क्रम यति मै रोकिएन । प्रतिकित्ता ८ सय ७६ रूपैयाँमा १ सय कित्ता खरिद भयो, जुन सर्किट लेभलमा कारोबार भएको थियो । सो मूल्यमा किनबेच भएपछि सेयरको कारोबार रोकियो ।

र, अन्ततः हिजोको क्लोजिङ प्राइस ८ सय ७६ रूपैयाँ कायम भयो ।

यसमा लगानीकर्ता समूहले टीएमएसमा भएको एउटा व्यवस्थामा ट्रिक गरेको पाइन्छ ।

टीएमएसको ‘कन्टिनियस’ कारोबारमा लिमिट (एलएमटी) र मार्केट (एमकेटी) भन्ने दुईवटा अप्सन छ । लिमिटमा कारोबार गर्दा खरिद वा बिक्री मूल्य तोकर अर्डर राख्न पाइन्छ । जसमा चलिरहेको मूल्यको बढीमा २ प्रतिशत बढी वा घटीमा अर्डर राख्न मिल्छ । ठीक विपरित एमकेटीमा मूल्य तोक्नु पर्दैन, खरिद अर्डर मात्र राखे पुग्छ ।

एमकेटीमा आएको अर्डर सिस्टमले नै म्याच गरिदिन्छ । एमकेटीमा कित्ता इन्ट्री गर्नेमात्र हो ।

के हुन् मार्केट अर्डर र लिमिट अर्डर ?
टीएमएसको कन्टिनियस फिचरमा मार्केट र लिमिट अर्डर भन्ने दुईवटा फिचर छन् ।

लिमिट अर्डरमा गएर आफूले तोकेको मुल्यमा सेयर किनबेचको अर्डर दिन सकिन्छ भने मार्केट अर्डरबार खरिदबिक्रीको अर्डर दिँदा बजारमा चलेको मूल्यमा सेयर किनबेच हुन्छ ।

जुनसुकै मूल्यमा पाएपनि किन्छु भन्नेले मार्केट अर्डरमा अर्डर हाल्छन् र त्यसरी हालेको अर्डर अन्तिमसम्म रहिरहन्छ । सेलिङ अर्डर त्यही प्रकारको हालेपछि म्याच हुन्छ ।

८ सय ५ रूपैयाँबाट एकैपल्ट कसरी पुग्यो ८ सय ६२ रूपैयाँ ?
नेप्सेको फ्लोरसिट भन्छ– ७ सय ६३ रूपैयाँमा कारोबार भइरहेको गोर्खाज फाइनान्सको सेयर मूल्य क्रमैसँग बढेर ३१ औं कारोबारमा ८ सय ५ रूपैयाँ पुगेको छ । यसक्रममा ४८ नम्बरको ब्रोकरबाट मात्र सेयर खरिद भइरहेको देखिन्छ ।

त्यसपछि ८ सय ५ रूपैयाँ प्रतिकित्तामा ४८ नं. ब्रोकरबाटै १९ सय कित्ता सेयर खरिद भएपछि मूल्य ८ सय ६२ रूपैयाँ पुगेको देखिन्छ । अर्थात् दुई कारोबारको मूल्यअन्तर ७.०८ प्रतिशत हुन आउँछ ।

यस विषयमा हामीले नेप्सेका प्रवक्ता मुराहरी पराजुलीलाई सोध्यौं । प्रवक्ता पराजुलीको जवाफ छ, “लिमिट अप्सनबाट खरिद बिक्री अर्डर राख्दा त्यसो हुँदैन । तर, अर्डर राख्नेले मार्केट अप्सनबाट अर्डर राख्दा मूल्य २ प्रतिशतभन्दा बढीले हेरफेर हुन सक्छ ।” यो व्यवस्था नेप्से अनलाइन कारोबार प्रणाली बनाउँदा जानेरै राखिएको उनको भनाइ छ ।

“लुपहोल त होइन, तर कोहीले यसबाट लाभ उठाउन सकेनन् भने दुरूपयोगको संज्ञा दिन सक्छन्,” उनले भने । यो व्यवस्था संसारभर नै हुने उनले जानकारी दिए ।

नेप्सेले जानी बुझेरै यो व्यवस्था राखेको भएपनि कानुनतः यस्तो कारोबार अवैध हो । नेपाल धितोपत्र बोर्डको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ ले २ प्रतिशत तलमाथि हुनुलाई मात्र वैध ठहर्छ ।

यस विषयमा नेप्से प्रवक्ता पराजुली भन्छन्, “विनियमावली बनाउँदा हामीले मार्केट फिचरको पनि कल्पना गरेका थियौं । तर, यसले मुर्तरूप लिँदा त्यसको व्यवस्था हुन सकेन ।” जसकारण टीएमएसमा कारोबार गर्दा सेयर मुल्य सधैं २ प्रतिशतमात्र तलमाथि हुन्छ भन्नु सत्य नभएको उनी बताउँछन् ।

‘कि कानुनी व्यवस्था गर्नुपर्छ कि एमकेटी फिचर झिक्नुपर्छ’
यसको अर्थ धितोपत्र कारोबार सञ्चालन विनियमावली समयसापेक्ष संशोधन गरिनुपर्ने आवश्यकता ठहर्छ वा वैध कारोबार सञ्चालन गर्न नेप्सेले टीएमएसबाट मार्केट फिचर हटाउनुपर्ने जानकार लगानीकर्ताको ठहर छ ।

एक लगानीकर्ताले सिंहदरबारसँग भने, “मार्केट फिचरअनुसार मूल्य तलमाथि हुने व्यवस्था नियमसंगत छैन भनेर हामीले नेप्सेलाई पटकपटक ताकेता गरिसक्यौं, तैपनि नेप्सेले यो विषय सम्बोधन गरेको छैन ।” उनका अनुसार केही ठूला र पैसा भएका लगानीकर्ता मिलेर आफूले चाहेको कम्पनीको जति भन्यो त्यति नै दरले मूल्य तलमाथि गर्न सक्छन् ।

उनको प्रश्न छ, “यस्तो कारोबार अध्ययन गर्न नसक्ने र आवश्यकता अनुसार नियम बनाउन नसक्ने धितोपत्र बोर्ड किन चाहियो ?”

परिसूचकमा फरक पर्दैनः नेप्से
नेप्से प्रवक्ता पराजुली यो प्रणालीको फिचर भएपनि यसले बजार परिसूचकमा खेलन नमिल्ने जिकिर गर्छन् ।

“यो व्यवस्था प्रयोग गरेर निश्चित कम्पनीको मूल्यमा उतारचढाव गराउन सक्छन् तर नेप्से परिसूचक नै घटबढ हुने गरी खेल्ने ठाउँ छैन,” पराजुलीले भने, “एउटा कम्पनीमा खेल्दा पनि कमभन्दा कम प्रभाव बजारमा परोस् भन्ने सुनिश्चित गर्न केही विकल्प अघि सारिएको छ ।”

ती विकल्पमध्ये एउटा कार्यान्वयन भए उच्च उतारचढावको लाभ सिमित व्यक्तिले लिने स्थिति अन्त्य हुने उनको दाबी छ ।

पहिलो पल्ट होइन
विनियमावलीमा नभएको व्यवस्थाको छिद्र प्रयोग गरेर मूल्यमा उतारचढाव गरिएको यो पहिलो पल्ट होइन । गोर्खाज फाइनान्समा यसअघि पनि यसरी नै मूल्य बढाइएको थियो । यो हुने प्रायः ३–४ कम्पनीमा हो । गोर्खाजसँगै नेपाल इन्स्योरेन्स, आईसीएफसी फाइनान्स, मञ्जुश्री फाइनान्सको सेयर मूल्यमा एउटा समूह नै मिलेर मूल्य उतारचढावको खेलमा लाग्ने गरेको छ ।

लगानीकर्ताको यो समूहले फ्लोरसिट राम्रोसँग अध्ययन गर्छ । आवश्यक परे आफैं खरिदबिक्री अर्डर पनि राख्छ । कारोबार प्याटर्न हेरेर कति अर्डर राख्दा सिस्टमा म्याच गराउँछ भन्ने अन्दाज लगाउँछ । प्राविधिक अध्ययन गरेर मूल्यमा खेल्ने गरेका छन् ।

सिंहदरबारलाई स्रोत भन्छ, “कि मार्केट अर्डरमा २ प्रतिशतको नियम लाग्दैन भन्ने व्यवस्था गर्नुपर्छ कि यो खेल्न ठाउँ अन्त्य गर्नुपर्छ ।” यदी राम्रो व्यवस्था हो भने कानुनमा व्यवस्था गरिदिए हुन्छ भन्ने उनको भनाइ छ ।

विकल्प खोजिँदै
मार्केट अर्डरको व्यवस्थाले बेथिति निम्त्याउन थालेपछि नेप्सेले यसको विकल्पको खोजी हुन थालेको छ । नेप्से स्रोतका अनुसार अघिल्लो दिन जे जति मूल्यमा कारोबार भएपनि अन्तिम मिनेट वा अन्तिम सिमित कारोबारको औसत रकमका आधारमा क्लोजिङ मूल्य कायम गर्ने तयारी भइरहेको छ ।

यसो गर्दा अन्तिममा सर्किट लेभलमा कारोबार भएपनि भोलिपल्ट खुल्दा औसत मुल्यमा खुल्ने व्यवस्था हुनेछ । तर, यो व्यवस्थाले मूल्य २ प्रतिशत भन्दा बढीले तलमाथि हुने विकृतिको अन्त्य भने गर्दैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्