३० अर्बले घटेर विदेशी मुद्रा सञ्चिति ७ महिनाको आयातमात्र धान्ने स्थितिमा, आयातमा झन् कडाइ !

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार ११:३५

काठमाडौं । सरकारले आयातमा झन् कडाइ गर्ने भएको छ । दिनप्रतिदिन विदेशी मुद्रा (डलर) सञ्चिति घटेपछि आयातमा लगाइएको नगद मार्जिनको व्यवस्थामा थप वस्तु जोडिने भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामै विदेशी विनिमय सञ्चिती ३० अर्ब रुपैयाँले घटेको छ । मुलुकको विदेशी मुद्रा बाहिरिने क्रम बढेसँगै डलर सञ्चिती कात्तिक मसान्तसम्मको तुलनामा ३० अर्ब ८२ करोड रुपैयाँले घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत काक्तिक मसान्तसम्म मुलकको विदेशी विनिमय सञ्चिती १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ मौज्दात थियो । जुन मंसिरमा आइपुग्दा १२ अर्ब १४ अर्ब ३ करोड रुपैयाँमा झरेको छ ।

२०७८ असार मसान्तमा मुलुकको कुल विदेशी विनिमय सञ्चिती १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । जुन १३.२ प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी आई १० खर्ब ८४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब ४० करोड कायम भएको छ । २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

हाल १८ प्रकारका वस्तु आयातमा सतप्रतिशत र २ वटामा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था आयात निरुत्साहनका लागि नेपाल राष्ट्र बैंकले लिएको अल्पकालीन औजार हो ।

स्रोतका अनुसार विदेशी विनिमय सञ्चितिका आधारमा नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था खुकुलो गर्ने तयारी थियो । अर्थात्, सञ्चिति बढेको भए नगद मार्जिनको व्यवस्था खुकुलो हुने थियो तर सञ्चिति झनै घटेपछि आयातमा कडाइलाई निरन्तरता दिइने बताइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको स्थितिले विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखाएको थियो ।

यो तथ्यले विदेशी विनियम सञ्चिति पर्याप्तता झनै खुम्चिएको देखाउँछ ।

केन्द्रीय बैंकका अनुसार पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई रु. ७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.८ प्रतिशत, पूँजीगत वस्तुको १०.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१.६ प्रतिशत, १२.४ प्रतिशत र ३६.० प्रतिशत रहेका थिए ।

अर्कातर्फ आयात धान्ने रेमिट्यान्स झनै घटेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई रु. ३८८ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

केन्द्रिय बैंकका अनुसार ५ महिनामा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको छ भने शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा छ । अघिल्लो वर्षको मंसिर मसान्तसम्म शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा थियो ।

प्रतिक्रिया दिनुहोस्