Shikhar Insurance

८ वर्षमा २ रूपैयाँले बढ्यो पेट्रोलको मूल्य !

सिंहदरबार संवाददाता
२०७८ माघ २३, आईतवार ०८:२८
NIMB
Nabil Bank

काठमाडौं । महंगीले उपभोग्य वस्तु छोइनसक्नु छ । महिनैपिच्छे खाद्यान्न, तरकारी, सवारी भाडा, घरभाडा बढिरहने गरेको छ । हरेक महिना यस्ता वस्तुको मूल्य इतिशतसकै सबैभन्दा महंगो हुने गरेको छ ।

तर, पछिल्लो ८ वर्षमा ऐतिहासिक उच्च मूल्य भाउ कायम नगरेको एउटै उपभोग्य सामाग्री थियो, त्यो हो पेट्रोल ।

Citizen Life
Kumar Bank
Nepal Life

दैनिक आवतजावत गर्न चढिने सवारीको इन्धनका रूपमा प्रयोग हुने इन्धनको भाउ बढिरहेको भएपनि हरेक नयाँ महिनामा यसको भाउ ऐतिहासिक उच्च हुने गरेको थिएन ।

तर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य थेग्नै नसक्ने गरी बढेपछि नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नेपालमा डिजेल/मट्टितेल र पेट्रोलको मूल्य ८ वर्ष अघिको भन्दा बढी भएको हो ।

नेपालको पेट्रोलियम इतिहासमा २०७० फागुनमा पेट्रोलको मूल्यले उच्च विन्दु कायम गरेको थियो । निगमले मूल्य समायोजन गर्दा त्यतिबेला पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १४० रूपैयाँ कामय गरेको थियो । त्यसयता डिजल/मट्टितेलको भाउले गत असारमै नयाँ इतिहास बनाएको थियो भने प्रट्रोलको बिक्री मूल्यले मंगलबार नयाँ उचाइ कायम गरेको हो ।

अर्थात् ८ वर्षपछि पेट्रोलको भाउ बल्ल २ रूपैयाँले बढेको हो ।

निगमले गएरातिदेखि डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलियमको मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको विनियमदर बढ्नु हो ।

अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलर आसपास छ । त्यस्तै अमेरिकी डलरको सटही दर बढेर १२० रूपैयाँ माथि पुगेको छ । आर्थिक वर्ष २०७०/७१ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.५२ अमेरिकी डलर थियो । सोही वर्ष अमेरिकी डलरको सटही दर ८७.२८ रुपैयाँ थियो ।

 

२०७० साल र अहिलेको पेट्रोलको मूल्य तुलना गर्दा

विवरण २०७० फागुन २०७८ माघ
प्रतिब्यारेल कच्चा तेलको मूल्य १०५.५२ अमेरिकी डलर ९० अमेरिकी डलर
अमेरिकी डलरको विनिमय दर ८७.२८ रूपैयाँ ११९.९७ रूपैयाँ
सरकारीले लगाएको कर प्रतिलिटर ३७.२५ रूपैयाँ ५८.४८ रूपैयाँ
विक्री मूल्य प्रतिलिटर १४० रूपैयाँ १४२ रूपैयाँ

 

दुई मितिको मूल्य तुलना गर्दा कच्चा पदार्थको मूल्य सो मितिको भन्दा कम छ, अमेरिकी डलर पनि निकै महंगिएको छ । तर, यसबीचमा सरकारले १ लिटर पेट्रोलमा २१ रूपैयाँ २३ पैसा कर थपेको छ । जसको भार उपभोक्ताको थाप्लोमा थोपरिएको हो ।

पछिल्ला १० वर्षमा पेट्रोलियमको मूल्यमा निकै उतारचढाव देखिएको छ । सो अवधिमा पेट्रोलको मूल्य प्रतिलिटर घटेर ९८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ८८ सम्म झरेको थियो । २०७० फागुनमा प्रतिलिटर १४० पुगेको पेट्रोलको मूल्य २०७१ असारमा प्रतिलिटर १३४ रुपैयाँ ५० पैसा, २०७२ असारमा प्रतिलिटर १०९, २०७३ असारमा प्रतिलिटर ९९, २०७४ असारमा प्रतिलिटर ९८, २०७५ असारमा प्रतिलिटर ११३, २०७६ असारमा प्रतिलिटर १०८, २०७७ असारमा प्रतिलिटर १०२ र २०७८ असारमा प्रतिलिटर १२९ रूपैयाँ पुगेको थियो ।

यस्तै डिजेल/मट्टितेलको मूल्य २०७० असारमा प्रतिलिटर १०९ थियो । २०७१ असारमा प्रतिलिटर १०५ रुपैयाँ ५० पैसा, २०७२ असारमा ८६ रुपैयाँ ५० पैसा, २०७३ असारमा प्रतिलिटर ७५, २०७४ असारमा प्रतिलिटर ७४, २०७५ असारमा प्रतिलिटर ९५, २०७६ असारमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा, २०७७ असारमा प्रटिलिटर ८८ र २०७८ असारमा प्रतिलिटर ११२ रुपैयाँ थियो ।

नेपाल आयल निगमले आर्थिक वर्ष २०७५/७६ मा ६ पटक, आव २०७६/७७ मा ५, आव २०७७/०७८ मा १५ र चालु आवको पछिल्लो ६ महिनामा तीनपटक पेट्रोलको मूल्य सामायोजन गरेको थियो ।

यस्तो छ, पेट्रोल र डिजेलको मूल्य ट्रेन्डः

अझै मासिक साढे चार अर्ब घाटा

पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको छ । सञ्चित बचत सकिएको छ । मूल्य समायोजन गरे पनि इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता पुष्कर कार्कीको भनाइ छ । प्रतिमहिना पाँच अर्ब रुपैयाँ ऋण लिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

निगमले पेट्रोलियम पदार्थ खरिद गरेबापत प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखका दिन आइओसीलाई भुक्तानी गर्दै आएको छ । अघिल्लो पटक सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेका निगमका अधिकारी मुखैमा आएको किस्ता कसरी तिर्ने भन्ने चिन्तित छन् ।

सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो । सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत एक अर्ब ८० करोड रुपैयाँ लिएर निगमले आइओसीलाई पठाएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ ४८ पैसा बढेको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब दुई अर्ब २३ करोड घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड, डिजेलमा एक अर्ब एक करोड र एलपी ग्यासमा करिब एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ । पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट दुई करोड, हवाई इन्धन (आन्तरिकतर्फ) तीन करोड र हवाई इन्धन (बाह्यतर्फ) १६ करोड नाफा हुने निगमको आङ्कलन छ । डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्