Shikhar Insurance

सेयर बजार म्यानिपुलेट गर्ने वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तलाई नियामकले यस्तो कारवाही गर्दै

कम्पनीलाई जरिवाना तथा सञ्चालक र सीईओलाई जेलसजायदेखि प्रतिबन्धसम्म
दिलु कार्की
२०७८ माघ २१, शुक्रबार १९:२२
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण प्रकाशित गर्दा लगानीकर्ता झुक्याउने २ लघुवित्त नियमकको कारबाहीमा पर्ने भएका छन् । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि नगरी प्रतिसेयर आम्दानी अस्वाभिक उच्च देखाउने फरवार्ड लघुवित्त र इन्फिनिटी लघुवित्त तथा ती कम्पनीका सञ्चालक र प्रबन्धक ऐन अनुसार निमकको कडा कारवाहीमा पर्ने भएका हुन् ।

झुक्याउने विवरण सार्वजनिक गरेका दुई संस्थालाई २ लाखसम्म जरिवाना र सञ्चालक तथा प्रबन्धकलाई १० वर्षसम्मको प्रतिबन्ध लाग्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

झुक्याउने विवरण प्रकाशन गर्ने यी दुई संस्थालाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म र सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारणा गरेका व्यक्तिलाई २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । यस्तै यी व्यक्ति आफू प्रत्यक्ष संलग्न भएर झुक्याउने विवरण प्रकाशन गरेको भए दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन अयोग्य हुने कारबाही हुनेछ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा झुक्याउने विवरण सार्वजनिक गर्नेलाई यस्तो सजाय हुने व्यवस्था छ । लघुवित्तहरुको नियामक नेपाल राष्ट्र बैंकमा भने स्पष्टीकरण दिनेबाहेक अन्य कारबाहीको व्यवस्था छैन ।

झुटो वित्तीय विवरण सार्वजनिक गरी यसरी झुक्याए फरवार्ड र इन्फिनिटीले
फरवार्ड लघुवित्तले गत माघ १७ गते चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको थियो । जसमा बोनस सेयरपश्चात पुँजी बढाएर देखाउनुको सट्टा ब्यालेन्सी सिटमा पुरानै चुक्तापुँजी राखेर प्रतिसेयर आम्दानी डेढ सय रुपैयाँ देखाएको थियो ।

फरवार्डले पुस २० गतेको वार्षिक साधारण सभामार्फत् ३५ प्रतिशत लाभांश पारित गरिसकेको छ । लघुवित्तको यसअघिको चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ बढेर ८४ करोड ४४ लाख ५० हजार रुपैयाँ पुग्नुपर्ने हो । तर, ब्यालेन्स सिटमा पुरानै चुक्तापुँजी देखाएको थियो ।

इन्फिनिटी लघुवित्तले समेत पुस मसान्तसम्मको ब्यालेन्स सिट तथा नाफा नोक्सानी खाता सार्वजनिक गर्ने क्रममा चुक्तापुँजी कम देखाएर सेयर मूल्य प्रभावित पार्ने विवरण सार्वजनिक गरेको थियो । लघुवित्तले बोनस बाँडेको पैसाअनुसार चुक्तापुँजीमा नबढाएर प्रतिसेयर आम्दानी ५० रुपैयाँ ९८ पैसा देखाएको थियो ।

यी समाचार सिंहदरबारमा सम्प्रेषण भइसकेपछि दुवै कम्पनीले विवरण सच्याइसकेका छन् ।

इन्फिनिटीले भोलिपल्टै चुक्तापुँजी ३२ करोड ४६ लाख रुपैयाँबाट बढेर ४१ करोड ४५ लाख रुपैयाँ पुगेको सूचना सार्वजनिक गरेको छ । जसअनुसार प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । यस्तै फरवार्डले पनि भोलिपल्ट चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँबाट ८४ करोड ४४ लाख ५० हजार रुपैयाँ पुगेको विवरण सार्वजनिक गरेको छ जसअनुसार कम्पनीको ईपीएस १ सय ८ रुपैयाँ कायम भएको छ ।

गल्ती पत्ता लगाएर सच्याउन भन्यो राष्ट्र बैंकले
यसरी, यी संस्थाहरुले वास्तविक वित्तीय विवरण प्रकाशित नगरेपछि राष्ट्र बैंकले सच्याउन निर्देशन दिएको थियो । यी दुवै संस्थाको बोनस सेयरलाई पुँजीमा समावेश गरेरमात्र ब्यालेन्ससिट सार्वजनिक गर्न भनिएको तर सो नगर्दा सच्याउन निर्देशन दिइएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘लाभांश पारित भएपछि चुक्तापुँजी बढाएर वित्तीय विवरण प्रकाशित गर्न भनेका थियौं,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘तर संस्था आफैं बढी जान्ने भएर हाम्रो स्वीकृति बिना नै ब्यालेन्ससिट पब्लिस गरेछ । त्यसैले हामीले सच्याएर पुनः सार्वजनिक गर्न दुवै लघुवित्तलाई निर्देशन दियौं ।’

केही बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु राष्ट्र बैंकको निर्देशन विपरित गएर काम गर्दा समेत राष्ट्र बैंकले एक पटकलाई भन्दै मौखिक जवाफ सोध्ने वा माफी दिने काम गर्ने परिपाटीले यस्तो प्रवृति मौलाउँदै गएको ती अधिकारीको भनाइ छ ।

‘राष्ट्र बैंकलाई पछि भन्दा पनि हुन्छ वा गल्ती नै भएपनि एक्सक्युज पाइन्छ भन्ने मानसिकताले संस्थाका सीईओ र सञ्चालकहरु बढी बाठा भएका हुन्,’ ती अधिकारीले भने, ‘गत वर्ष पनि नाडेपले साधारण सभाको मिति तय गरेर सुचना सार्वजनिक गरेपछि मात्र राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएको थियो ।’

पछिल्लो समयमा राष्ट्र बैंकको सम्बन्धित बैंक सुपरिवेक्षणीय भुमिका बलियो बनाइएको हुँदा गल्तीमा माफी भन्दा ऐन अनुसारको कारवाहीको भागिदार बनाइन थालिएको उनको दावी छ ।

झुटो विवरणमा कयौं लगानीकर्ता झुक्किए
फरवार्ड र इन्फिनिटी लघुवित्त दुवै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत कम्पनीहरु हुन् । यी दुवै कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको छ ।

यी कम्पनीहरुले वास्तविक विवरण देखाउनुको सट्टा झुटो वित्तीय विवरण प्रकाशित गर्दा कयौं लगानीकर्ता झुक्किएका छन् ।

फर्वाडको माघ १७ गते ११ हजार ८३३ कित्ता २ करोड ८१ लाख ८३ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । सोदिन कम्पनीको सेयर मूल्य २२ सय १३ रुपैयाँमा कारोबार शुरु भएर सकारात्मक सर्किट लागि २३ सय ८७ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

अघिल्लो दिन कम्पनीको प्रतिसेयर मूल्य २१ सय ७० रुपैयाँ थियो । वित्तीय विवरण सच्याएको दिन समेत कम्पनीको सेयर मूल्यमा सकारात्मक प्रभाव सहित ७ प्रतिशतको वृद्धि थियो तर, कम्पनीको झुट लगानीकर्ताले थाहा पाउँदै गएपछिसेयर मूल्य घट्न थालेको थियो । माघ १९ गते कारोबार शुरु हुँदा नै मूल्य घटिरहेको कम्पनीको कारोबार समेत २.७ प्रतिशतले घटेर बन्द भएको छ ।

यसरी अस्वाभिक प्रतिसेयर आम्दानी बढाएको फरवार्डमा लगानीकर्ता लोभिएर लगानीकर्ता झुमिँदा सेयर मूल्यमा सकारात्मक प्रभाव परेको थियो । तर, वास्तिविकता बाहिरिएसँगै लाखौं लगानीकर्तालाई नोक्सानी भएको छ ।

यस्तै, फर्वाडले जस्तै बोनस सेयरलाई चुक्तामा समावेश नगरी प्रतिसेयर आम्दानी बढाएको इन्फिनिटी लघुवित्तको झुटको प्रभाव सेयर मूल्यमा नकारात्मक प्रभाव परेको थियो । अघिल्लो दिन १४ सय ४२ रुपैयाँ मूल्य कायम भएको थियो । माघ १७ गते घटेर १४ सय १८ रुपैयाँ कायम भएको थियो भने विवरण सच्याएको दिन ५ रुपैयाँले मूल्य बढेको छ ।

प्रतिसेयर आम्दानी बढाएको भएपनि राम्रो नाफा गर्न नसक्दा लगानीकर्ता हतोत्साहित भएका थिए । इन्फिनिटीले ६ महिनामा ८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने फरवार्ड लघुवित्तले ४५ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तो छ कानुनी व्यवस्था, बोर्ड भन्छः कारबाही हुन्छ
फरवार्ड र इन्फिनिटी लघुवित्तले लगानीकर्ता झुक्याउने विवरण सार्वजनिक गरी सेयर बजारलाई म्यानिपुलेट गरेका हुन् । यससम्बन्धि समाचार सम्प्रेष्ण भएपछि नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण भएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी बताए ।

“फरवार्ड र इन्फिनिटीको विषय धितोपत्र बोर्डको नजरमा परिसकेको छ, यसबारे सत्यता के हो, बोर्डले छानबिवन गरिरहेको छ” प्रवक्ता गिरीले सिंहरदरबारसँग भने, “कसुर प्रमाणित भए ऐनअनुसार कारबाही हुन्छ ।”

ती कम्पनीले झुक्याउने विवरण सार्वजनिक गर्दा बजारमा परेको प्रभावको आधारमा ऐनअनुसार कारबाही हुने उनको जिकिर छ ।

यस्तो प्रकारको कसुरमा ऐनले जेलसजायदेखि जरिवाना, क्षतिपूर्ति र सञ्चालक र प्रबन्धकलाई प्रतिबन्धसम्मको व्यवस्था छ ।

धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा नम्बर ९७ ले झुक्याउने विवरणहरु दिने कामलाई कसुर मानेको छ ।

यसो गर्ने कम्पनीलाई हदैसम्मको कारबाही हुनेछ ।

यस्तो छ व्यवस्थाः

९७. झुक्याउने विवरणहरु दिनेः कसैले कसैलाई धितोपत्र खरिद बिक्री गर्न उक्साउने उद्देश्यले देहायका काम गरेमा झुक्याउने काम गरेको मानिनेछः-
(क) झुट्टो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने,
(ख) बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने,
(ग) बदनीयत साथ झुट्टा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने ।

यसरी झुट्टा वा भ्रामक विवरण प्रकाशित गर्ने कम्पनीलाई धितोपत्र ऐन २०६३ को दफा १०१ को उपदफा ३ र ४ अनुसार उल्लेखित दण्ड सजायको व्यवस्था गरिएको छ ।

यस्तो छ व्यवस्थाः

१०१. दण्ड सजायः
(३) दफा ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई एक लाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ ।
(४) कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

यस्तै दफा १०८ ले सञ्चालक वा प्रबन्धकलाई प्रतिबन्धको व्यवस्था गरेको छ ।

यस्तो छ व्यवस्थाः
१०८. सञ्चालक वा महाप्रबन्धक हुन अयोग्यः कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन ।

नियमकको निर्देशन पछि फरवार्ड र इन्फिनिटीको वित्तीय सुचांक
यसरी राष्ट्र बैंकको निर्देशन पछि लगानीकर्ता झुक्याउने झुटो विवरण प्रकाशित गरेका फरवार्ड लघुवित्त र इन्फिनिटी लघुवित्तले माघ १८ गते सच्याएर पुन वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

नयाँ विवरणअनुसार फरवाई लघुवित्तको प्रतिसेयर आम्दानी १ सय ८ रूपैयाँ ५० पैसा कायम भएको छ । सोअघि कम्पनीले प्रतिसेयर आम्दानी १ सय ४६ रूपैयाँ ४७ पैसा देखाएको थियो ।

कम्पनीले पुस २० गतेको वार्षिक साधारणसभामार्फत् ३५ प्रतिशत लाभांश पारित गरिसकेपछि लघुवित्तको चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ बढेर ८४ करोड ४४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

चुक्तापुँजी सच्याएपछि संस्थाको प्रतिसेयर नेटवर्थ २ सय ७७ रूपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात २०.१४ कायम भएको छ । यसअघि बैंकले यी दुई सूचकांक क्रमशः ३ सय ७४ रूपैयाँ ८२ पैसा र १४।९२ देखाएको थियो ।

यसबाहेक संस्थाको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा साढे १३ करोड रुपैयाँले बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुग्दा खुद मुनाफा साढे २२ करोड रुपैयाँबाट ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तले बोसन बाँडेको पैसाअनुसार चुक्तापुँजीमा नबढाएर प्रतिसेयर आम्दानी ५० रुपैयाँ ९८ पैसा देखाएको थियो । यो यथार्थ बाहिर आएसँगै लघुवित्तले बोनस सेयर पछि चुक्तापुँजी समायोजन गरेको छ । लघुवित्तले चुक्तापुँजी ३२ करोड ४६ लाख रुपैयाँबाट बढेर ४१ करोड ४५ लाख रुपैयाँ पुगेको सूचना सार्वजनिक गरेको छ ।

जसअनुसार प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । यस्तै यसअघि कम्पनीले सेयर मुल्य आम्दानी अनुपात र नेटवर्थ प्रतिसेयर क्रमशः ३१.१९ र १ सय ८७ रुपैयाँ ५५ पैसा देखाएकामा यथार्थ चुक्तापुँजी राखेपछि ती परिसूचक क्रमशः ३९.८३ र १ सय ४६ रुपैयाँ ८७ पैसा कायम भएको बताएको छ ।

इन्फिनिटी लघुवित्तले ६ महिनामा ८ करोड २७ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । जुन अघिल्लो आवको यही अवधिको भन्दा २७ प्रतिशत बढी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्