Shikhar Insurance

‘लुप होल’ खोजी ग्राहकलाई सास्ती दिँदै राष्ट्रिय वाणिज्य बैंक, एटीएम लिमिट ५०% ले घटायो

बैंकको तर्कः राष्ट्र बैंकले अधिकतम सीमा पो तोकेको हो, न्यूनतम हो र ?
सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ११, बुधबार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नियमनको ‘लुप होल’ खोज्दै ग्राहकलाई सास्ती दिन थालेको छ । बैंकले कर्जा दिन सक्ने पैसा प्रणालीमा नभएपछि ग्राहकलाई प्राथमिक सेवा नै कटौती गरेको हो ।

बजारमा तरलता अभाव भएको र बैंकमा समेत नगद प्रवाह कम भएको जनाउ दिँदै बैंकले नियमकले ताकेको एटीएम कारोबारको सीमा ५० प्रतिशतभन्दा बढीले घटाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले प्रति कारोबार २५ हजार रुपैयाँका दरले दैनिक १ लाख रुपैयाँ एटीएम कारोबारको अधिकतम सीमा निर्धारण गरेको छ । नियमनकारी निकायले अधिकतम सीमा निर्धारण गरेको तर न्यूनतम सीमा निर्धारण नगरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकले भने सो सीमा ५० प्रतिशत बढीले घटाएको हो । सोअघि नै बैंकले राष्ट्र बैंकले निर्धारण गरेको प्रति कारोबार २५ हजारको सीमाको सट्टा २० हजार रुपैयाँमात्र झिक्न दिइरहेको थियो ।

बैंकले अहिले २० हजारलाई पनि १० हजारमा झारेको छ । माघको पहिलो सातादेखि प्रति कारोबार सीमा ५० प्रतिशतले घटाएर प्रतिकारोबार १० हजार रुपैयाँ र दैनिक कारोबार सीमा ५० हजार रुपैयाँ कायम गरेको छ ।

बैंकले एटीएम कारोबारको सीमा घटाएपछि समस्या परेको बैंकका एक ग्राहक गुनासो गर्छन् ।

‘सरकारी बैंक हो भनेर खाता खोलेको चाहिएको जति पैसा झिक्न पनि सास्ती छ,’ ती ग्राकहले सिंहदरबारसँग भने, ‘अझैपनि कतिपय ठाँउमा डिजिटल पेमेन्ट भन्दा नगद नै चलाउँछन, एक पटकमा १० हजार र एक दिनमा ५० हजार रुपैयाँमात्र अन्य बैंक सेवा नै झन्झटिलो भयो ।’

सरकारी स्वामित्वको बैंकले दिने ग्राहक सेवा अन्य बैंकको तुलनामा धेरै नै निरासाजनक भएको उनको गुनासो छ ।

‘५० हजार रुपैयाँ झिक्न ५ पटक एटीएम मेसिन चलाउनु पर्ने सयमको बर्वादी अनि बैंकको एटीएममा पनि प्रायजसो प्रयाप्त पैसा हुँदैन,’ ती ग्राहकले थपे, ‘सरकारी बैंक भन्दैमा ग्राहकलाई आवश्यक पर्ने सेवा नै कटौती त गर्न पाइँदैन होला ? बैंकमा यो मात्र नभएर मोबाइल बैंकिङ सेवादेखि कर्जा लगायतका अन्य सेवामा समेत अत्याधिक ढिला सुस्ती कर्मचारीले गर्छन् ।’

ग्राहकले बैंकमा गुनासो गर्दा समेत सुनुवाई नभएको उनको भनाइ छ ।

बैंकले एटीएम कारोबारको सीमा घटाएर ग्राहकलाई प्रभाव पर्ने भएपनि नियमानुसार बैंकले अधिकतम सीमामा रहेर कारोबार आफू अनुकुल हेरफेर गर्न पाउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘हामीले अधिकतम सीमा तोकेका हौं त्यसमा न्यूनतम यति नभनिएको हुँदा घटाउन पाइँदैन भन्ने छैन,’ प्रवक्ता भट्टले सिंहदरबारसँग भने, ‘बैंकहरुले केही जोखिमको सम्भावना वा अन्य कारणले अनुकुलतामा कारोबार थप घट गराउन सक्छ ।’

बैंकले एटीएमको कारोबार सीमा घटाउँदा ग्राहकमा अत्याधिक नकारात्मक प्रभाव परेको गुनासो प्राप्त भएमा राष्ट्र बैंकले तत्काल छानबिन गर्न सक्ने उनको भनाइ छ । यद्यपी राष्ट्र बैंकले नै डिजिटल कारोबारलाई प्रोत्साहन गरिहेको हुँदा बैंकले एटीएम कारोबारको सीमा घटाएको भए ग्राहकले नगद भन्दा डिजिटल कारोबारको प्रयोग बढाउन उनले सुझाएका छन् ।

यता बैंकका डेपुटी सीइओ कविराज अधिकारी भने नगद प्रवाह घटाउनको लागि एटीएम कारोबारको सीमा घटाइएको बताउँछन् ।

‘अहिले सबैतिर तरलताको पनि समस्या छ, १-२ हजार गर्दा गर्दै पनि धेरै डिपोजिट घट्छ, मानिसले गोजीमा पैसा बोक्दा बैंकमा डिपोजिट घट्ने हो,’ बैंकका डेपुटी सीइओ अधिकारीले सिंहदरबारसँग भने, ‘अहिले बैंकमा नगद प्रवाह नै कम भएको छ, सीमा बढी भए ग्राहकले एटीएमबाट पैसा बढी झिक्छन र प्रणालीमा पैसा कम हुन्छ ।”

बैंकका ग्राहकले नगदको प्रयोग बिस्तारै कम गर्दै जानुस् भन्ने उद्देश्यले समेत बैंकको देशभरकै एटीएम कारोबारको सीमा घटाइएको उनको भनाइ छ ।

‘विस्तारै नगदको कारोबारलाई घटाउँदै क्यूआर कोर्ड, मोबाइल बैंकिङमा ग्राहकलाई अभ्यस्त बनाउनका लागि एटीएमको ट्रान्जेक्सन घटाइएको हो,’ उनले थपे ।

राष्ट्र बैंकले नै नगदको कारोबारलाई कम गर्दै लाने नीति लिएको हुँदा नै बैंकदेखि नै आफ्नो देशभर रहेको २ सय ४५ वटै एटीएम कारोबारको सीमा घटाइएको उनको भनाइ छ ।

सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मै सर्वसाधारणलाई सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने भन्दै पूर्ण सरकारी स्वामित्वको एउटा वाणिज्य बैंक रहने व्यवस्था गरेको छ । सोही उदेश्य पुरा गर्न राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा छ । तर बैंकले भने सरकारको सो उदेश्यमाथि नै समय समयमा पानी छर्किरहेको छ । बैंकले यसअघि पनि तरलता अभाव र राष्ट्र बैंकले तोकेको कर्जा–निक्षेप अनुपात (सीडी) रेसीयो सीमा नकटाउने भन्दै करिब २ महिना पूर्ण रुपमा कर्जा सेवा नै बन्द गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्