Shikhar Insurance

भगवान् महावीरको जन्म दिवस

सिंहदरबार संवाददाता
२०७८ चैत्र ३०, बुधबार १६:२०
NIMB
Nabil Bank

आज चैत्र शुक्ल त्रयोदशी । जैन धर्मका २४ औं तीर्थंकर भगवान् महावीरको जन्मदिवस । अहिंसावादीहरूले महावीर जयन्ती धुमधामका साथ मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक दिवस समेत भनिन्छ ।

आजभन्दा २६२१ वर्षअघि वैशाली गणतन्त्रको क्षत्रिय कुण्ड ग्राममा बाबु सिद्धार्थ तथा आमा त्रिशलाको सन्तानका रूपमा वर्धमानको जन्म भएको हो । उनै बर्धमान पछि महावीर स्वामी बन्नु भयो ।

Citizen Life
Kumar Bank
Nepal Life

महावीर स्वामी अहिंसाका मूर्तिमान प्रतीक हुनु हुन्थ्यो । उहाँको जीवन त्यग एवं तपस्याले ओतप्रोत थियो । उहाँले एउटा लगौंटीसम्म संग्रह गर्नु भएन । जुन युगमा हिंसा, पशुबलि, जातपातको भेदभाव बढेको थियो त्यसै युगमा जन्मिनु भएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाउनु भयो ।

महावीरका आमा–बाबु जैन धर्मका २३ औं तीर्थंकर पाश्र्वनाथ (पाश्र्वनाथ महावीरभन्दा २ सय ५० वर्षअघिका हुनु हुन्थ्यो) का अनुयायी हुनु हुन्थ्यो । महावीर शिशु अवस्थामै हुँदा इन्द्रादि देवताले उनलाई सुमेरु पर्वतमा लगेर जन्मकल्याणक मनाएका थिए । महावीरको बाल्यकाल राजमहलमा बित्यो । युवावस्थामा यशोदा नामकी राजकन्यासित उनको विवाह भयो । उनीहरूबाट प्रियदर्शना नामकी पुत्री जन्मिन् । महावीर २८ वर्षको हुँदा उहाँका आमाबुबाको निधन भयो । आफ्ना दाजु नन्दीवद्र्धनको आग्रहमा महावीर २ वर्षसम्म घरमै बस्नु भयो । ३० वर्षको उमेरमा मार्गशीर्ष कृष्ण दशमीका दिन उनले दीक्षा ग्रहण गर्नु भयो ।

दीक्षा ग्रहणपश्चात् महावीरले तप, संयमको साधना गर्नु भयोे । उहाँले पञ्च महाव्रतरूपी धर्म चलाउनु गर्नु भयोे । उहाँलाई इन्द्रियजनित विषय वासनाका सुख अरूलाई दुःख पुर्याएर मात्र प्राप्त हुनसक्छ भन्ने कुराको ज्ञान भयो । अतः उहाँले सबैप्रति प्रेमको व्यवहार गरे र संसारलाई अहिंसाको पाठ सिकाउनु भयो ।

महावीरले भन्नु भयो–धर्म सबैभन्दा राम्रो मंगल वा कल्याण हो । अहिंसा, संयम एवं तप नै धर्म हो । ‘जो धर्मात्मा छ, जसको मनमा सदैव धर्म रहन्छ,, उसलाई देवताले समेत नमस्कार गर्छन् ।’

भगवान् महावीरले प्रवचनमा धर्म, सत्य, अहिंसा, ब्रह्मचर्य, अपरिग्रह एवं क्षमामाथि सबैभन्दा बढी जोड दिनु भयो । त्याग एवं संयम, करुणा एवं प्रेम, शील एवं सदाचार नै उहाँको प्रवचनको सार थियो । भगवान् महावीरले चतुर्विध संघको स्थापना गनु भयो र त्यसैमार्फत विभिन्न क्षेत्रको भ्रमण गरेर पवित्र सन्देश फैलाउनु भयोे ।

महावीर स्वामीका सिद्धान्तहरु

१. सत्य
सत्यको विषयमा भगवान् महावीर स्वामी भन्नु हुन्छ– ‘हे पुरुष ! तिमी सत्यलाई नै साँचो तत्वका रूपमा बुझ । जो बुद्धिमान् सत्यकै आज्ञामा रहन्छ । ऊ मृत्युमाथि तैरेर पार हुन्छ ।’

२. अहिंसा
यस संसारमा जति पनि जीव छन् तिनको हिंसा नगर, उनीहरूलाई आफ्नो मार्गमा अघि बढ्न नरोक । उनीहरूका प्रति आफ्नो मनमा दया भाव राख । उनीहरूको रक्षा गर । यही अहिंसाको सन्देश महावीरले हामीलाई दिनु भएको छ ।

३. अपरिग्रह
अपरिग्रहको अर्थ हो कुनै पनि कुरा संग्रह वा जम्मा नगर्नु । यसका विषयमा महावीर भन्नु हुन्छ–‘जो मानिस आफैं सजीव वा निर्जीव कुराको संग्रह गर्छ, अरूबाट संग्रह गराउँछ वा अरूलाई संग्रह गर्न सम्मति प्रदान गर्छ, उसलाई दुःखबाट कहिल्यै पनि छुटकारा मिल्दैन ।’

४. ब्रह्मचर्य
महावीर स्वामी भन्नु हुन्छ–ब्रह्मचर्य उत्तम तपस्या, नियम, ज्ञान, दर्शन, चरित्र, संयम एवं विनयको जड हो । तपस्याहरूमध्ये ब्रह्मचर्य श्रेष्ठ तपस्या हो ।

५. क्षमा
क्षमाका विषयमा महावीर भन्नु हुन्छ–‘म सबै जीवसँग क्षमा चाहन्छु । संसारका सबै जीवप्रति मेरो मैत्रीभाव छ । मेरो कसैसँग शत्रुता छैन । म साँचो हृदयले धर्ममा स्थिर छु । सबै जीवसँग म सम्पूर्ण अपराधका लागि क्षमा माग्दछु । सबै जीवले मप्रति जेजति अपराध गरेका छन् त्यसका लागि म उनीहरूलाई क्षमा दिन्छु ।’

महावीर यसो पनि भन्नु हुन्छ–‘मैले मनमा जुन जुन पाप वृत्तिहरूको सङ्कल्प गरेको छु, वचनमार्फत जुन जुन पाप वृत्तिहरू प्रकट गरेको छु र शरीरबाट जुन जुन पाप वृत्तिहरू गरेको छु, मेरा ती सबै पापवृत्तिहरू विफल होऊन् । मेरा ती सारा पापहरू झुटा होऊन् ।’

महावीरले जीवनकालमा अहिंसाको चरम विकास गर्नु भयो । सम्पूर्ण विश्वलाई नै अहिंसाको पाठ पढाउने भगवान् महावीरले बहत्तर वर्षको उमेरमा कार्तिक कृष्ण अमावस्याको रात पावापुरी नगरमा मोक्ष प्राप्त गर्नु भयो । उनको निर्वाणको समयमा उपस्थित १८ गणराज्यका राजाहरूले निर्वाणोत्सव मनाए । महावीर स्वामीलाई वद्र्धमान, वीर, अतिवीर एवं सन्मति पनि भनिन्छ ।

(मिति २०७९ बैशाख १ गते विहीबारका दिन नेपालमा जैन धर्माबलम्बीहरुको प्रतिनिधि मूलक संस्था नेपाल जैन परिषदको आयोजनामा नेपालका अहिंसावादी संघ संस्थाहरुको सहभागितामा आचार्य श्री महाश्रमणज्यू की विदूषी शिष्या समणी निर्देशिका श्री मधुरप्रज्ञाज्यू, समणी श्री शुभप्रज्ञाज्यू,समणी श्री मननप्रज्ञाज्यू एवं स्वस्ति श्री लक्ष्मीसेन भट्टारकज्यूको सान्निध्यतथा एवं नेपाल जैन परिषदका अध्यक्ष श्री महेन्द्र कुमार जैन (भटेरा)कोे अध्यक्षतामा आराध्यदेव भगवान महावीरको २६२१ औं जन्म कल्याणक समारोह अहिंसा दिवसको रुपमा भगवान महावीर जैन निकेतन, कमलपोखरी, काठमाण्डौमा मनाउँदै छौं ।)

GBIME

प्रतिक्रिया दिनुहोस्