Shikhar Insurance

राष्ट्रिय ध्वजाबाहक आरए साउदीको रियादमा अवतरण हुँदा…

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार ०८:१६
NIMB
Nabil Bank

रियाद (साउदी अरेबिया) । सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे । साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो ।

नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजाबाहक वायुसेवा निगमले अरबको दोस्रो ठूलो मुलुक साउदीमा सिधा हवाई उडान सुरु गरेकामा नेपाली समुदायले खुसी व्यक्त गरेका छन् । साउदीमा रहेका चार लाख नेपालीका विभिन्न सङ्घ सङ्गठन र गैर आवासीय नेपालीका संस्थाले ध्वजाबाहकको उपस्थितिले मध्यपूर्वमा नेपालीको छवी थप उचाइमा पुगेको बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शनिबार राजधानी रियादमा आयोजित कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत दिलिपकुमार पौडेलले नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको महत्वपूर्ण मुलुक साउदी अरबमा निगमको सिधा उडानले कूटनीतिक सम्बन्धलाई थप बलियो पार्ने मात्र नभइ आर्थिक उन्नतिको ढोका फराकिलो भएको विश्वास व्यक्त गरे ।

“निगमले धेरै लामो प्रयासपछि रियादमा सिधा उडान सुरु गरेको छ, यसले निगमको आर्थिक उन्नतिलाई पनि फराकिलो बनाउने र गन्तव्य विस्तार पनि हुनेछ, मुलुकको फ्लाइट क्यारियसको छुट्टै महत्व र पहिचान हुन्छ, यसले मुलुकको प्रवर्द्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने ।

गैर आवासीय नेपाली सङ्घ साउदी अरेबियाका संयोजक राजेन्द्र अर्यालले साउदीमा सिधा उडानले मुलुकको व्यापार प्रवर्द्धनमा टेवा पुग्ने बताए । उनले भने, “साउदी अरबमा नेपाली ध्वजाबाहकले सिधा उडान सुरु गर्दा सबैभन्दा खुसी हुनेमा म पनि एक हुँ, यो उडान स्थापना गराउन हामीले वर्षौदेखि गरेको प्रयास सफल भएको छ, अब दुबै मुलुकबीच भइरहेको व्यापार प्रवर्द्धन हुनेछ, निजी क्षेत्रले लाभ उठाउन ध्वजाबाहकले मद्दत गर्नेछ”

निगमको उद्घाटन उडानमा सहभागी भएका नेकपा (एमाले)का सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालीको बाहुल्यता रहेको साउदी अरबमा नेपाली ध्वजाबाहकको उपस्थितिले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र निगमको आर्थिक उन्नतिका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरे । उनले साउदी अरेबियामा रहेका नेपालीलाई आफूले मेहनत गरेर कमाएको पैसा एउटै माध्यमबाट स्वदेश पठाउन र नेपालका विभिन्न व्यवसायमा लगानी भित्र्याउन पनि आह्वान गरे ।

नेपाल र साउदीबीच सिधा उडान नहुँदा कोभिड महामारीका बेला रियाद, दमामलगायतका सहरमा ज्यान गुमाएका नेपाली कामदारका शव स्वदेश फर्काउन ज्यादै समस्या झेल्नु परेको थियो । अब निगमको उडानले शव नेपाल फर्काउन पनि सहज हुने रियादमा रहेका नेपाली समुदायका प्रतिनिधिको विश्वास छ  । सिधा उडान नहुँदा विदेशी वायुसेवालाई हारगुहार गर्दा पनि सहजता थिएन ।

निगमले उडान घोषणा गर्ने बित्तिकै यहाँको हवाई भाडा सस्तो भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडानले निगमको गुडविल विस्तार गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले निगमको रियाद उडान यात्रा निकै फलदायी भएको पनि बताए । “निगमको उपस्थितिको घोषणाले मात्रै पनि हवाई भाडादरमा कमी आएको यसले पक्कै पनि सहयोग पुग्नेछ, रियादबाट काठमाडौँ फर्कदा लगेजमा सहुलियत दिएका छौं, यहाँका बासिन्दालाई पनि नेपाल देशमा आकर्षण गर्न मद्दत पुग्ने छ”, निगमका कार्यकारी अध्यक्ष अधिकारीले भने ।

नेपाल र साउदी अरेबियाबीच सन् २०१५ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको  थियो । नेपालले पछिल्लो पटक (३० सेप्टेम्बर २०१९ मा) अष्ट्रेलियासहित विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । दुई देशबीचको व्यापार प्रवर्द्धन र सम्बन्ध विस्तारका लागि दुईतर्फी भ्रमण आदनप्रदानका कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बताए । यसअघि निगमको रियाद उद्घाटन उडानमा सहभागी पूर्वमन्त्री एवं सांसद, उद्यागी, व्यवसायीसहितको नेपाली टोली र यात्रुलाई रियादस्थित किङ खालिद इन्टरनेश्नल एयरपोर्टमा रियादको साउदी ग्राउण्ड ह्याण्डलिङ सर्भिस ‘एसजिएचए’, जिएसए कम्पनी, एयरपोर्ट अथोरिटी, नेपाली समूदायका प्रतिनिधि तथा रियादस्थित नेपाली दूतावासले स्वागत गरेका थिए ।

निगमको ६३ वर्षे अविछिन्न यात्राको दौरानमा रियाद ऐतिहासिक उडान पनि हो । निगमले हालसम्म उडान गरेका गन्तव्यमध्ये रियाद सबैभन्दा आकर्षण गन्तव्य मानिन्छ । राष्ट्रिय ध्वजावाहकको साउदी अरेबियामा सिधा उडानले नेपालमा पर्यटन तथा आर्थिक लगानीका अवसर सिर्जना हुने भएकाले यो गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार हुनु निकै उपलब्धि भएको सरोकारवालाको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निगमको साउदी अरबमा सिधा उडानले यहाँका गैरआवासीय नेपालीको नेपालमा लगानी भित्र्याउन र व्यापार प्रवर्द्धनका निम्ति महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले भने, “नेपालीको बाहुल्यता भएका मुलुकमा निगमको उपस्थितिले नेपाल गन्तव्य प्रवर्द्धनका साथै लगानी भित्र्याउन पनि मद्दत पुगेको छ,  निगमको साउदी अरबमा सिधा उडानले नेपालमा प्रसस्त लगानीको सम्भावनाको ढोका खुलेको छ ।”

निगमको रियादस्थित सेल्स एन्ड मार्केटिङ म्यानेजर सुवास तिमल्सिनाले हाललाई श्रम बजारलाई लक्षित निगमको उडानलाई व्यावसायिक रुपमा निरन्तरता दिनसके निगमका लागि आर्थिक रुपले पनि सफल गन्तव्य हुनसक्ने बताए । उनले साउदी अरबका तीन वटै गन्तव्यमा चाँडै पुगेर साउदीमा व्यावसायिक विस्तार गर्न सकेको निगमको उडानले इतिहासमा फरक उचाइ दिने धारणा राखे । रियादको वथामा निगमको कार्यालय स्थापना भइसकेको छ । यहाँबाट आवश्यक टिकटको काम गर्न सकिने निगमले जनाएको छ ।

रियादमा व्यवसाय गरिरहेका अमृत पौडेलले रियादमा रहेका नेपाली समुदाय मात्र नभइ यहाँका बासिन्दालाई पनि नेपाल भ्रमणका लागि आकर्षण गर्नसक्ने प्रशस्त सम्भावना रहेकाले निगमको रियाद उडान फलदायी हुने बताए । अहिले नेपालका लागि दुबई, कुवेत, भारतलगायत मुलुकमा ट्रान्जिटभएर एयर इण्डिया, जजीरा, सलाम, एयर अरेविया कत्तार एयरवेजले उडान भर्दै आएका छन् । नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले रियाद तथा दमामबाट काठमाडौँमा सिधा उडान गरिरहेको छ ।

अप्रिल २२ तारिखमा वाइड बडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको निगमले सुरुआती चरणमा न्यारोबडी जहाजमार्फत सातामा दुई दिन उडान भर्नेछ । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको ‘जेनरल अथोरिटी अफ सिभिल एभिएसन’ ले त्यहाँका तीन शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० किलो लगेज सुविधा पाउनेछन् । काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुनेछ ।

निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वलालम्पुर, हङकङ, बैङकक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाईड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी न्यारो बडी ‘ए’३२० जहाज छन् ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्