Shikhar Insurance

अर्थतन्त्र जोगाउन ब्याजदर बढाउनै पर्ने भएको छ, तयार रहनुस्ः गभर्नर

सिंहदरबार संवाददाता
२०७९ बैशाख २१, बुधबार १५:५५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर अझै बढ्ने बताएका छन् । राष्ट्र बैंकले नीतिगत ब्याजदर बढाउनुपर्ने अवस्था आएकाले अन्य क्षेत्रमा पनि बढ्ने र त्यसका लागि तयार हुन निजी क्षेत्रलाई आह्वान गरेका हुन् ।

चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल (आईक्यान)ले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनको दोस्रो दिन गभर्नर अधिकारीले वर्तमान परिस्थितिले नै ब्याजदर वृद्धिको माग गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिलेको ब्याजदर कोभिड अघिको भन्दा बढी नभएको भन्दै उनले हाल उच्च हुनुको कारण प्रणालीमा तरलता अभाव हुनु रहेको बताए । “परिस्थितिले ब्याजदर अहिलेको भन्दा माथि जानुपर्छ भन्ने डिमान्ड गरिरहेको छ,” अधिकारीले भने, “मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दा नीतिगत ब्याजदर २ प्रतिशतले बढायौँ तर, अझै पनि शोधनान्तर घाटा यसरी नै बढ्ने हो भने त्यो पनि पर्याप्त छैन कि !” गभर्नर अधिकारीले नीतिगत ब्याजदर बढाउने विषयमा थप सोच्नुपर्ने स्थिति आउनसक्ने संकेत गरे ।

अर्थतन्त्र र बाह्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने औजार ब्याजदर वृद्धि नै रहेको उनको जिकिर छ । “तत्कालका लागि आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्ने अस्थायी औजारको प्रयोग गरेका छौँ,” उनले थपे, “तर। यी औजार सीमित अवधिका लागि हुन्, सधैँको लागि होइनन् ।”

विश्वभर मूल्यवृद्धि रोक्नका लागि सरकारले नीतिगत ब्याज बढाउन थालेको छ । रूसबाट सुरू भएको यो क्रम अमेरिका हुँदै अस्ट्रेलियासम्म आइपुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्