Shikhar Insurance

‘२ दिने बिदा खारेज हुनुपर्छ, खासमा त शुक्रबार पनि पुरै दिन काम गर्नुपर्छ’

दिनेश श्रेष्ठ
२०७९ जेष्ठ १०, मंगलवार १६:११
NIMB
Nabil Bank

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा एक वर्षमा ५२ दिन बिदा थपिन्छ । सरकारका ६ लाख ५० हजार कर्मचारी छन् । ती सबै दुई दिन घर बसे भने सार्वजनिक सेवाको उत्पादकत्व घट्न जान्छ ।

त्यसकारण यो निर्णय देशका लागि यो प्रत्युत्पादक छ । पञ्चायतकालमा राजाले यस्तै निर्णय गरेका थिए । त्यतिबेला बिहान ६ बजेदेखि कार्यालय खुलाउने भनिएको थियो । तर, सार्वजनिक सेवा अस्तव्यस्त बनेर त्यो निर्णय नै असफल भयो । र, अन्ततः फिर्ता लिन सरकार बाध्य भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले कर्मचारीलाई दुई दिन बिदा दिने निर्णयले निजी क्षेत्रलाई ठूलो समस्यामा पारेको छ । समान आयात गर्ने बेला समस्या उत्पन्न भैसकेको छ । शुक्रबार भन्सारमा आईपुगेको समान छुटाउन सोमबारसम्म कुर्नुपर्ने अवस्था छ । त्यसले गर्दा शनिबार र आइतबार दुई दिनको भाडा बढी तिर्नुपर्ने भएको छ । शुक्रबार बैंकमा जाँदा एकै पटक सोमबार मात्रै खातामा देखाउँछ । त्यसवापत २ दिनको ब्याज उल्टै तिर्नुपर्छ ।

भन्सारहरुमा दुई दिन बिदा हुँदा हाम्रो बिजनेसको लागत बढिरहेको छ । सरकारले दावी गरेको जस्तो दुई दिन बिदा गरेर पेट्रोलको प्रयोग पनि कम हुने देखिएको छैन । यसले न इन्धन खपत घटाउँछ, न त पर्यटन नै प्रवर्द्धन हुन्छ ।

शनिबार सरकारी गाडी चलाउन नपाउने भन्दा राम्रो हुन्छ । दुई दिन बिदा दिने निर्णय हचुवाको भरमा गरिएको हो । यसले सरकारको उद्देश्य पुरा गर्दैन ।

सरकारले साँच्चै काम गर्ने हो भने ठूला विद्युतीय बस चलाउनुपर्छ । नागरिकको घर आँगनमा विद्युतीय बसको सेवा दिने हो भने मानिसले घर घरमा मोटर साइकल राख्न छोड्छन् ।

तर, सार्वजनिक यातायातको सेवा गतिलो नभएपछि अहिले नागरिकका लागि एउटा निजी सवारी साधन अनिवार्य भैसकेको छ ।

अर्को उपाय भनेको पेट्रोलियम प्रयोग गर्ने उद्योगलाई विद्युत दिनु पर्छ । तर, सरकारले उद्योगहरूलाई आवश्यक विद्युत समेत दिइरहेको छैन, उद्योगहरु डिजेल पेट्रोलबाटै सञ्चालन हुन बाध्य छन् ।

सरकारले दुई दिन सार्वजनिक बिदा दिएर काम नगरि खाने बानीलाई प्रोत्साहन गरेको छ । त्यसले अर्थतन्त्रमा ठूलो नोक्सानी भैरहेको छ । भोकमरी लाग्यो भने उत्पादन बढाउन छाडेर आधा पेट खाउ भन्ने जस्तै भयो सरकारको निर्णय । सरकारले काम नगरेर खानेलाई बढी पैसा(तलब) दिने भयो, हामी काम गरिखानेलाई मुस्किल बनाईदियो ।

हाम्रो स्पष्ट धारणा छ, हामीले शुक्रबार पनि आधा दिन बिदा कटौती गरेर पुरै दिन काम गर्ने वातावरण बनाउनुपर्छ । दुई दिन बिदा दिने निर्णयले काम नगरि खाने ठग प्रवृत्तिलाई प्रोत्साहन गरिरहेको छ । भारतको दिल्लीमा आम आदमी पार्टीको सरकारले नागरिकलाई उनीहरुको फुर्सदको समयमा घर घरमा पुगेर सेवा दिईरहेको छ । नेपालमा भने हामी हप्तामा दुई दिन बिदा दिन थालेका छौं ।

दुई दिन बिदाले सार्वजनिक सेवा पुरै बिग्रिएको छ भने निजी क्षेत्रको उत्पादकत्व झनै घटिरहेको छ । कर तिर्ने उद्योग धन्दा नै बन्द हुने गरि सार्वजनिक बिदा दिँदा देश कसरी बन्छ ?

(नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित ।)

GBIME

प्रतिक्रिया दिनुहोस्