डेरिभेटिभ बजार : कसरी कारोबार गर्ने ? नेपालमा सही तरिकाले कसरी चलाउने ? (लेख)

कृष्ण गिरी
२०७९ जेष्ठ २९, आईतवार १४:४५

१. डेरिभेटिभ कारोबारको परिचय
कुनै पनि प्राथमिक वित्तीय उपकरण माथि निर्भर रहेर सोही प्राथमिक वित्तीय उपकरणको मुल्यमा निहित रहने गरी बनाइने अर्को वित्तीय उपकरणलाई डेरिभेटिभ भनिन्छ । यस्तो उपकरण कुनै दुई पक्षबीच उक्त प्राथमिक उपकरणको भविष्यको कुनै कालखण्डमा लेनदेन गर्नेगरी खरिद वा बिक्रीको लागि गरिएको करारको रुपमा रहेको हुन्छ । यो एउटा वित्तीय उपकरणको रुपमा रहेको हुन्छ । यस्तो वित्तीय उपकरणको आफ्नै कुनै आन्तरिक मुल्य हुँदैन किनभने यसको मूल्य यो जुन प्राथमिक वित्तीय उपकरण खरिद वा बिक्री गर्न लागिएको हो उक्त प्राथमिक वित्तीय उपकरण माथि निर्भर रहेको हुन्छ ।

यदि प्राथमिक वित्तीय उपकरणको मुल्य घट्न थाल्यो भने यस वित्तीय उपकरणको मुल्य स्वतः घट्दछ, त्यसै गरी प्राथमिक वित्तीय उपकरणको मुल्य बढ्यो भने यस वित्तीय उपकरणको पनि मुल्य बढेर जान्छ । यस्तो वित्तीय उपकरण एउटा करारको रुपमा रहने हुँदा उक्त करार अवधि समाप्ति पश्चात् यस वित्तीय उपकरणलाई सेटलमेन्ट (यहाँ सेटलमेन्ट भन्नाले खरिद गर्नेले प्राथमिक वित्तीय उपकरण पाउने तथा नगद हस्तान्तरण गर्ने तथा बिक्री गर्नेले नगद पाउने तथा प्राथमिक वित्तीय उपकरण हस्तान्तरण गर्ने कार्य हो) तर्फ लैजानु पर्ने हुन्छ । त्यसैले यसलाई आयु तोकिएको वित्तीय उपकरण पनि भनिन्छ ।

कुनै पनि प्राथमिक वित्तीय उपकरणहरु जस्तै शेयर, कृषि उपज तथा औद्योगिक उपज (कमोडिटिज) तथा मुद्रा (फरेक्स) आदिको वर्तमानको मुल्यमा (वा आजको मुल्यमा) भविष्यमा भौतिक रुपमा लेनदेन गर्ने गरी केही रकम पेश्की वा जमानी स्वरुप लिई कागजीरुपमा गरिने करारहरुको रुपमा यो वित्तीय उपकरणको सिर्जना भएको हुन्छ । हाल विश्वव्यापी रुपमा फ्युचर, फरवार्ड, अप्सन, तथा स्वाप आदिको रुपमा शेयर, कमोडिटिजि, फरेक्स तथा व्याजदरका डेरिभेटिभ कारोबार भइरहेको पाउन सकिन्छ । सत्रौं शताब्दी यता विकसित देशहरुमा विभिन्न वित्तीय औजारहरुको डेरिभेटिभ करार बनाई कारोबारको थालनी गरिएपनि नेपालमा हालसम्म यस्ता वित्तीय डेरिभेटिभ करारहरुको शुरुवात भई कारोबार भएको उदाहरण छैन ।

यद्यपि कमोडिटिहरुको विभिन्न प्रकारका डेरिभेटिभ करारहरुको भने नेपालमा सन् २००६ को डिसेम्बर यता विधिवत् रुपमा कारोबारको थालनी भइसकेको छ । यस्तो किसिमका कमोडिटिजहरुको डेरिभेटिभको कारोबारको नियमनका लागि सरकारले वस्तु विनिमय बजार ऐन तथा नियमावली २०७४ जारी गरेर त्यस्ता कमोडिटिको डेरिभेटिभ करार कारोबार गर्ने एक्सचेन्जहरुलाई उपरोक्त ऐन तथा नियम अन्तर्गत नियमन गर्ने विधिवत तयारी गरीराखेको छ ।

२. वित्तीय औजारको डेरिभेटिभ सम्बन्धी अवधारणा
विश्वका विकसित शेयर बजारहरुले आफू अन्तर्गत कारोबार हुने विभिन्न प्रकारका वित्तीय औजारहरुको डेरिभेटिभ करार बनाएर कारोबार सञ्चालन गर्दै आएकाछन् । नेपालमाा पनि हाम्रो धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा विभिन्न प्रकारका वित्तीय औजारहरुको कारोबार हुने गर्दछ ।

यसरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार भइरहेको कुनै पनि कम्पनीको शेयरलाई भविष्यको कुनै कालखण्डमा लेनदेन गर्ने गरी एक्सचेन्जले तोेकेको ढाँचा अन्तर्गत रहेर तोकिएको मार्जिन रकम राखेर अहिले नै किनबेच गरिने करारलाई स्टक डेरिभेटिभ भनिन्छ । यसका साथै नेप्सेले सञ्चालन गरेको बजार अन्तरगत विभिन्न परिसूचकहरुको विकास गरेको छ ।

यस्ता परिसूचकहरुको समेत डेरिभेटिभ करार बनाई त्यस्ता करारहरुको कारोबार गराउन सक्दछ । यस्ता इण्डेक्समा आधारित डेरिभेटिभहरुलाई इण्डेक्स डेरिभेटिभ भनिन्छ । यसरी स्टक एक्सचेन्जले आफ्नो बजार अन्तरगत विभिन्न कम्पनीको शेयर, डिबेन्चर वा बण्ड वा परिसूचकमा आधारित भई डेरिभेटिभ करार बनाई कारोबारमा लिएर आउँछ भने त्यस्तो औजारहरुलाई वित्तीय औजारको डेरिभेटिभ भनेर बुझिन्छ ।

पहिलो चरणमा हाम्रो पूँजी बजारमा समेत नेपाल स्टक एक्स्चेन्जले निश्चित मापदण्ड बनाएर वैज्ञानिक तवरबाट तयार गरेको नेप्सेको परिसूचक तथा अन्य विभिन्न परिसूचकहरुमा आधारित इण्डेक्सको डेरिभेटिभ करार बनाई त्यस्ता इण्डेक्स डेरिभेटिभको कारोबार गराउन सक्दछ । यसका साथै एक्सचेन्जले विभिन्न शर्त र मापदण्ड पूरा गर्ने कम्पनीहरुलाई सूचीकरण गरेर तिनीहरुको समेत डेरिभेटिभ करार बनाएर कारोबार गराउन सक्दछ ।

नेपाल स्टक एक्सचेन्जले स्टकको इन्डेक्समा आधारित डेरिभेटिभ करारको लागि सर्वप्रथम हालको नेप्से परिसूचकको साटो वैज्ञानिक ढंगबाट तयार गरिएको नयाँ इन्डेक्समा आधारित रहेर डेरिभेटिभ करार तयार गर्नुपर्ने हुन्छ । यस्तो इन्डेक्सको व्यवस्थापनका लागि एक्सचेन्जले इन्डेक्स व्यवस्थापन कमिटि समेत गठन गरी त्यस्तो इण्डेक्सलाई सो कमिटिले स्वतन्त्र ढंगबाट सञ्चालन र व्यवस्थापन गर्ने अधिकार प्रदान गर्नुपर्ने हुन्छ ।

सो कमिटिले यस्तो इन्डेक्समा रहने कम्पनीहरुलाई विभिन्न परिस्थितिअनुसार आवश्यकताको आधारमा फेरबदल गर्न सक्तछन् । यसरी तयार गरिएको इन्डेक्समा आधारित इन्डेक्सको डेरिभेटिभ करारको कारोबार नगदमा मात्रै राफसाफ हुनेछ ।

विशेषगरी एक्सचेन्जको स्पट कारोबारमा रहने जोखिमलाई न्यूनीकरण गर्न तथा जोखिमलाई व्यवस्थापन गर्न सजिलो होस भन्ने अभिप्रायले विश्वभर यस्ता डेरिभेटिभ करारहरुको थालनी भएको हो । नेपालमा पनि सोही प्रयोजनका लागि बजारको नियामकको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्जले यस्तो बजारको शुरुवात यथाशीघ्र गर्नुपर्ने आवश्यकता रहेको छ ।

यस्तो किसिमको कारोबार प्रणालीले लगानीकर्ता तथा बजार सहभागीहरुलाई कारोबारका लागि नयाँ वित्तीय औजार उपलब्ध हुनुका साथै जोखिमको हेजिंग गर्ने तथा आर्बिट्रेज गर्ने अवसर समेत उपलब्ध भइराखेको हुन्छ । जसले गर्दा स्पट बजारमा देखिएको उतारचढावलाई सहजै व्यवस्थापन गर्दै जोखिम न्यूनीकरण गर्न कारोबारी तथा लगानीकर्ताहरुलाई सहज हुनेछ ।

यसले गर्दा समग्र पूँजीबजारमा स्थायित्व प्राप्ति हुनुका साथै कारोबारमा संलग्न पक्षहरुलाई कारोबार गर्नका लागि लिभरेज समेत उपलब्ध हुनेछ । जसले गर्दा कारोबारको रकम तथा तरलतामा समेत थप वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।

३. सूचीकृत गरी कारोबारमा ल्याउन सकिने वित्तीय डेरिभेटिभ करारहरु
नेपाली पूँजी बजारमा पहिलो चरणमा निम्न प्रकारका वित्तीय डेरिभेटिभ करारहरु सूचीकृत गरी कारोबारमा ल्याउन सकिनेछ ।

(क) स्टकमा आधारित डेरिभेटिभ करार
यस्तो करारहरु कुनै एक कम्पनीको शेयरमा आधारित हुन्छ । यस्तो कम्पनीहरुको छनौटको लागि एक्सचेन्जले एक मापदण्ड तयार गर्र्नुपर्ने हुन्छ । ती मापदण्डहरु पुरा गर्ने कम्पनीहरुको मात्रै डेरिभेटिभ करार बनाई तयार गरी कारोबारमा ल्याउन सकिनेछ । विशेषगरी प्रशस्त तरलता रहेको, शेयर धनीसंख्या धेरै रहेको तथा दैनिक कारोबार रकम, कारोबार संख्या तथा शेयर संख्या औषत भन्दा माथि हुने शेयरहरुलाई प्राथमिकता दिई त्यस्ता कम्पनीहरुको मात्र डेरिभेटिभ करार बनाई कारोबारमा ल्याउनुपर्ने हुन्छ ।

(ख) स्टक इन्डेक्समा आधारित डेरिभेटिभ करार
स्टक इन्डेक्समा आधारित डेरिभेटिभ करारको लागि सर्वप्रथम इन्डेक्सको पहिचान गर्नुपर्नेहुन्छ । यसरी पहिचान गरिएको इन्डेक्स फ्रि फ्लोटेड शेयरहरुको बजार पूँजीकरणमा आधारित हुन सक्नेछ । उदाहरणका लागि यस्तो इन्डेक्स नेप्से ५० तथा बैंक १०, भनेर हुन सक्दछ ।

(ग) कसरी कारोबार गर्ने
कुनै पनि डेरिभेटिभ कारोबारको लागि सर्वप्रथम एक्सचेन्जले पहिलो नियामकको भूमिका निर्वाहका लागि आफ्नै कारोबार विनियमावली तयार गरेको हुनुपर्दछ । डेरिभेटिभ कारोबारका लागि एक्सचेन्जले छुट्टै कारोबार विनियमावली तयारी गरी लागू गर्नुपर्ने हुन्छ । यसरी तयार गरिएको कारोबार विनियमावलीमा आधारित रहेर कारोबार गरिने सबै करारहरुको लागि करार विवरण (कन्ट्राक्ट स्पेशिफिकेसन) तयार गर्नुपर्ने हुन्छ । यसरी तयार गएिको करार विवरण अनुसार सूचीकृत सबै करारहरुको कारोबारको थालनी, दैनिक सेटलमेन्ट, अन्तिम सेटलमेन्ट तथा डेलिभरी भई कारोबार सम्पन्न हुनेछ ।

– यसरी कारोबार सम्पन्न हुनको लागि सर्वप्रथम एक्सचेन्जले करार विवरण तयार गर्नुपर्ने सो करार विवरणलाई धितोपत्र बोर्ड मार्फत स्वीकृत गराई कारोबार प्रणालीमा सूचिकृत गर्नुपर्ने हुन्छ ।

– सूचिकृत भएको करारलाई कारोबार थालिनी गर्नको लागि कारोबार थालनी हुने दिनको अघिल्लो दिनको बन्द मुल्यमा कारोबार शुरुहुने दिन देखि कारोबारको अन्तिम दिन अर्थात करार परिपक्व हुने दिनसम्मको ब्याज लागत जोडेर करारको आधारमुल्य अर्थात करार शुरुवात मुल्य घोषणा गर्नुपर्ने हुन्छ ।

– यसरी दिईएको करारको आधार मुल्य अर्थात करार शुरुवात मुल्यमा अधिकतम तल वा माथि ५ प्रतिशतको परिवर्तन लिमिट दिएर बजारको विशेष प्रिओपनिङ अवधिमा कारोबारको शुरुवात गर्नसकिनेछ । विशेष प्रिओनिङ अवधिमा खरिदकर्ता र बिक्रेता बीच मुल्य र समयको आधारमा कारोबार मिलान भएमा सोही मिलान भएको मुल्यबाट अब अघिल्लो नियमित कारोबार अवधिको लागि कारोबार अगाडि बढाइने छ ।

– यसरी विशेष प्रिओपनिङ अवधिमा कुनै पनि कारोबार मिलान भई मुल्य घोषणा हुन नसकेमा नियमित अवधिमा २ प्रतिशतको अधिकतम घटबढ हुने लिमिटमा रही कारोबार सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

– यदि बजारमा खरिदकर्ता देखियो तर बिक्रीकर्ता देखिएन वा बिक्रीकर्ता देखियो तर खरिदकर्ता देखिएन भने निश्चित अधिकार सहित बजार निर्मातालाई नियुक्त गरी कारोबारमा तरलता दिने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

– दैनिक कारोबारको राफसाफका लागि खुला रहेका करारहरुको राफसाफ गर्ने प्रयोजन सहित दैनिक बजार बन्द भएपछि दैनिक सेटलमेन्ट मुल्य तोक्नुपर्ने हुन्छ । यसरी सेटलमेन्ट मुल्य तोक्नको लागि कारोबार समयभित्रको अन्तिम ३० मिनेट भित्र न्यूनतम ३ वटा ५ वटा भन्दा धेरै कारोबार भएकाछन् भने त्यस्ता कारोबारबाट सिर्जना भएको कुल कारोबार कित्ता र रकमको आधारमा निकालिएको औषत मुल्यलाई दैनिक अन्तिम सेटलमेन्ट तोक्न सक्दछ । वा यसका लागि एक्सचेन्जले विभिन्न अन्य मापदण्ड सहित थप विशेष निर्देशन जारी गर्न सक्दछ । वा दैनिक करार सेटलमेन्ट मुल्य तोक्नका लागि त्यससम्बन्धी व्यवस्था करारको विवरणमा नै उल्लेख गर्न सक्दछ । यसरी उल्लेख भएको विधिअनुसार सेटलमेन्ट दैनिक खुला रहेका करारहरुको राफसाफ गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

– दैनिक रुपमा खरिद वा बिक्री प्रक्रियाबाट बन्द भएका करारहरुको राफसाफका लागि तोकिएको राफसाफ गर्ने निकायबाट टि+२ को आधारमा सेटलमेन्ट गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । यसरी किनबेच हुनको लागि खरिदकर्ता तथा बिक्रेता दुवैले करार विवरणमा उल्लेख भएअनुसारको मार्र्जिनको व्यवस्था गरेको हुनुपर्नेछ ।

– यसरी करार परिपक्व भएपछि अन्तिम राफसाफको लागि डेरिभेटिभ बजार अन्तरगत कुनै पनि करारको कारोबार मुल्य जहाँ रहेपनि अन्तिम सेटलमेन्टका लागि सो करारको अण्डरलाइन इण्डेक्स वा कम्पनीको स्पट बजारमा भएको कारोबार मुल्यका आधारमा वा सो मुल्यको आसपासमा रहेर राफसाफ हुने व्यवस्था मिलाइनुपर्दछ । यसरी अन्तिम राफसाफको मुल्य घोषणाका लागि स्पट बजारमा न्युनतम १ देखि ३ दिन वा उचित संख्यमा कारोबार नदेखिएको खण्डमा अन्तिम ५ दिन सम्मको कारोबारको आधारमा कारोबार कित्ता र मुल्यको औषत भारित मुल्य निकालेर अन्तिम राफसाफ हुने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

– अन्तिम राफसाफका लागि करारको परिपक्व हुने मितिसम्म खरिद वा बिक्री भएका तर खुला रहेका करारहरुलाई अगाडि राफसाफका लागि अगाडि बढाउनुपर्ने हुन्छ । यदि करारको विवरणमा अन्तिम राफसाफ अनिवार्य रुपमा हस्तान्तरण गरी पुरा गर्नुपर्ने भनी तोकिएको छ भने यस्ता करारहरुको लागि बिक्रेताले हस्तान्तरण गर्नुपर्ने शेयरको हस्तान्तरण निर्देशन तथा खरिदकर्ताले तिर्न बाँकी थप रकम एक्सचेन्ज अथवा उसको राफसाफ निकायले तोकेको अवधिभित्र बुझाइ सक्नु पर्नेछ । यसरी आइसकेको रकम तथा शेयरलाई तोकिएको दिनभित्र हस्तान्तरण गरी करारको राफसाफ गर्नुपर्ने हुन्छ । यदि हस्तान्तरण गर्नुपर्ने खरिदकर्ता अथवा बिक्रेताले रकम वा शेयर तोकिएको समयभित्र हस्तान्तरण गर्न नसकेको खण्डमा दुवैलाई कारोबारमा निष्कासन गरिनुका साथै लिइएको मार्जिनमा निश्चित रकम बराबर पेनाल्टि लिई खरिदकर्तालाई शेयर तथा बिक्रेतालाई रकमको व्यवस्था गर्न अक्सन मार्केटको सहायता लिई सो करार अुनसारको अन्तिम हस्तान्तरण दिई कारोबार सम्पन्न गर्नुपर्ने हुन्छ ।

– करारको विवरणमा हस्तान्तरण अनिवार्य नभएको करारहरुको लागि खरिदकर्ता तथा बिक्रीकर्तासँग रहेको मार्जिनलाई लिई घाटा हुनेको मार्जिनबाट नाफा हुनेलाई दिई नगद लेनदेन गरेर कारोबार राफसाफ गरिने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

– यसरी कारोबार सञ्चालनका लागि सबै व्यवस्थाहरु कारोबार विनियमावलीका साथै करार विवरण, बेलाबेलामा जारि गरिने सर्कुलर वा निर्देशनमा आधारित हुनेछ ।

४. वित्तीय डेरिभेटिभ बजारका फाइदाहरु
कुनै पनि वित्तीय औजार थपिनासाथ यसको दुवै पक्ष हुन्छ । राम्रो पक्ष पनि हुन्छ र नराम्रो पक्ष पनि हुन्छ । साथै अवसर पनि प्रदान गर्दछ र यसले चूनौतिको पनि सिर्जना गर्दछ । तसर्थ यस्तो बजारको शुरुवात भएमा सम्पूर्ण बजार सहभागीहरुले आफ्नो सबलतालाई प्रयोग गरेर यो बजारले उपलब्ध गराएको अवसरहरु हात पार्दै चुनौतिहरुको सामना गर्न सदैव तत्पर रहनुपर्दछ । यदि हाम्रो पूँजी बजारमा समेत इक्विटि तथा इन्डेक्स बेस्ड डेरिभेटिभ करारको कारोबार सुरुवात भएमा समग्र पूँजी बजारलाई निम्न अवसर तथा फाइदा हुने देखिन्छ ।

(क) कारोबारका लागि वैकल्पिक वित्तीय औजारः हाम्रो पूँजी बजारमा लगानी गर्नका लागि एकदमै थोरै मात्र विकल्पहरु उपलब्ध रहेको छ । यस्तोमा डेरिभेटिभ प्रडक्ट थप गर्न सकिएमा बजारका सहभागीहरुले थप नयाँ लगानी गर्ने औजार प्राप्त गर्नेछन् ।

(ख) दैनिक कारोबारमा संलग्न हुने बजार सहभागीहरुको संख्यामा अभिवृद्धि हुनेः अहिले नगद कारोबार हुने बजारमा नियमित रुपमा दैनिक किनबेच गर्ने लगानीकर्ताहरुको संख्या एकदमै न्यून रहेको छ । हालको बजारमा लगानी अवसर एकतर्फि र एकदमै थोरै रहेको छ । अर्कोतर्फ बजारमा अनावश्यक चलखेल हुँदा जोखिम पनि उत्तिकै धेरै छ । तसर्थ सामान्य लगानीकर्ताहरु चाहेर पनि बजारमा दैनिक खरिदबिक्रीका लागि सहभागी हुन आँट गरिहाल्ने अवस्था छ्रैन । यता डेरिभेटिभ कारोबार सञ्चालन हुँदा दैनिक रुपमा खरिद बिक्री गर्न सकिने, इन्ट्रा डे कारोबार गर्न सकिने, सर्ट सेलिङ्ग गर्न सकिने, मार्जिनमा लिभरेज सिर्जना गरी थोरै रकमबाट समेत किनबेच गर्न पाइने भएको हुँदा स्पट बजारमा उत्पन्न हुने जोखिमलाई व्यवस्थापन गर्न चाहने, आर्बिट्रेज गर्न चाहने तथा स्पट मार्केटमा छुटेको लगानी अवसरलाई हात पार्न चाहने कारोबारीले सहभागीता जनाउने हुँदा किनबेच गर्नेको संख्या, कारोबार संख्या, कारोबार रकम तथा आकारमा समेत वृद्धि हुने अनुमान गर्न सकिन्छ ।
(ग) जोखिम व्यवस्थापनमा सहयोगीः नगदी बजारमा किनेपछि मात्रै बेच्न पाइने हुँदा त्यस्तो बजारमा मुनाफा कमाउन किनेपछि बढ्नै पर्ने हुन्छ । तसर्थ जोखिम धेरै हुन्छ । यदि किनेपछि बजारमा मुल्य घट्न थालेमा लगानीकर्ताले सो कम्पनीको भौतिक शेयरलाई तत्काल बिक्री नगरी केवल डेरिभेटिभ करारलाई बिक्री गर्न सक्दछ र आफ्नो जोखिम अरुलाई हस्तान्तरण गरेर अर्थात हेज गरी आफू जोखिम रहित भई निश्चिन्त भएर बस्न सक्दछ ।
(घ) कारोबारमा थप दक्षता अभिवृद्धिः कारोबार गर्ने लगानीकर्ताको संख्या, कारोबार संख्या तथा रकममा वृद्धि भएसँगै बजारमा सहभागी सबैमा कारोबारसम्बन्धी दक्षतामा अभिवृद्धि हुन्छ । ब्रोकर, राफसाफ निकाय तथा एक्सचेन्ज सबैले सोही अनुसारको तयारी गर्नुपर्ने, अनुगमन सुपरिवेक्षण गर्नुपर्ने भएको हुँदा सबैको क्षमतामा अभिवृद्धि हुन्छ ।
(ङ) प्रभावकारी ढंगबाट मृल्य सिर्जनामा सघाऊः कारोबारीहरु र कारोबारको संख्या बढेसँगै तरलता वृद्धि हुन्छ । यस्तो तरलताले मुल्यको थोरै अन्तरमा पनि ठूलो ठूलो बार्गेनिङ भइराखेको हुन्छ । यस्तो सानो अन्तरको बार्गेनिंगबाट सिर्जित हुने मुल्य थप प्रभावकारी तथा बजारसँग सहमत हुने खालको हुन्छ । जसलाई सबैले सहजै स्वीकार गर्नसक्दछन् ।
(च) सबैको आम्दानीमा अभिवृद्धिः वित्तीय डेरिभेटिभ कारोबारको सञ्चालन सँगै धेरै कारोबारीले यसलाई आफ्नो पेशा नै बनाएर बस्न सक्दछन् । जसले गर्दा कारोबारको आकार, रकम, संख्या सबैमा वृद्धि हुन्छ । यसरी हुने वृद्धिले बजारका सबै सहभागीहरुको आम्दानी वृद्धि गराउनेछ ।

५. वित्तीय डेरिभेटिभ बजार सञ्चालनका कठिनाई
यस्तो वित्तीय औजारमा आधारित डेरिभेटिभ बजार सञ्चालन गर्दैगर्दा धेरै प्रकारका कठिनाईहरु सँगसँगै आउने गर्दछन् । त्यस्ता किसिमका अप्ठ्यारा र कठिनाईहरुलाई विभिन्न गतिविधिहरु सञ्चालन गरी न्यूनीकरण गर्दै बजारलाई निर्वाध रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ ।

(क) प्रविधिको प्रयोग सम्बन्धि कठिनाईः सामान्यतः बजार सञ्चालन गर्दा आउने ठूलो जोखिम प्रविधि सञ्चालनसँग सम्बन्धित हुने गर्दछ । सर्भर, इन्टरनेट व्याण्डविथ, कनेक्टिभिटि, सफ्टवेयर सञ्चालनमा पर्याप्त ज्ञानको अभाव आदिले गर्दा कारोबारीहरुको असन्तुष्टि जहिले पनि प्रविधि प्रति रहन्छ । तसर्थ धेरैभन्दा धेरै कारोबारीहरु एकसाथ कनेक्सन गर्नसक्ने गरी ब्याण्डविथको व्यवस्थागरी आउन सक्ने सम्भावित डाटा र त्यसले खपत गर्ने सर्भरको रिसोर्सको आधारमा सर्भरको साइजको व्यवस्था गर्नपर्दछ र सकेसम्म इन्टरनेट ब्याण्डविथको स्टाण्डर्ड घोषणा गरी लगानीकर्तासँग सो स्टाण्डर्डको इन्टरनेटको व्यवस्था गर्न लगाउने, ब्रोकरको तालिममार्फत तथा भिडियो ट्युटोरियलको मार्फत सफ्टवेयर सञ्चालन सम्बन्धी पर्याप्त सामाग्रीहरु प्रदान गरी आफैंले सफ्टवेयर प्रयोग गर्न सक्ने बनाउनु पर्ने हुन्छ । अथवा सफट्वेयर प्रयोगको लागि निश्चित तहको ज्ञान हासिल गरेकै हुनेपर्ने गरीको व्यवस्था गरी सो सम्बन्धी परिक्षा लिई सो परिक्षा पासगर्न सफल हुनेलाई मात्र आफैं कारोबारको इजाजत सहित कारोबार प्रणालीको लगइन युजर र पासवर्ड प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

(ख) मार्जिन व्यवस्थापन सम्बन्धी ज्ञानः डेरिभेटिभ कारोबार पूर्णरुपले मार्जिन कारोबारमा आधारित हुने गर्दछ । करारको विवरणमा उल्लेख गरेको मार्जिनको व्यवस्थामा भएपछि मात्र करार खरिद वा बिक्री गर्न सकिन्छ भने सो करारलाई नियमित रुपमा अगाडि बढाउन तोकिएको मेन्टेनेन्स मार्जिनको व्यवस्था पनि हरेक दिन गरिराख्नु पर्ने हुन्छ तसर्थ लगानीकर्ताले आफ्नो कारोबार खातामा कति मार्जिन हुन पर्ने, कति छ, कति हाल्नुपर्छ भन्ने कुराहरु कारोबार प्रणालीबाटै थाहा पाउनुपर्ने हुन्छ र हरेक दिन बजार बन्द भएपछि अघिल्लो दिनको कारोबार सुरु हुनु अगाडि नपुग मार्जिन थप गर्नको लागि सञ्चार गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । अन्यथा मार्जिन कम भएको खण्डमा लगानीकर्ताको कारोबार खातामा रहेको पैसा भन्दा घाटा धेरै भएमा निश्चित तहपछि आफूसँग रहेको कारोबार स्वतः बन्द हुन जान्छ । तसर्थ लगानीकर्तालाई यससम्बन्धी पर्याप्त ज्ञान दिनुपर्ने हुन्छ ।

(ग) क्षमताभन्दा धेरै पोजिसन किनबेच तथा होल्ड गर्ने होडबाजीः कहिलेकाही कारोबारीहरु एकदमै हौसिएर रातारात धेरै कमाउने होडबाजीमा आफ्नो क्षमता भन्दा धेरै मात्रामा जोखिम लिइराखेको पनि हुन सक्दछन । ग्राहकले कारोबार खाता खोल्दैगर्दा नै लगानीकर्ताले स्वघोषणा गरेको आफ्नो कमाई तथा नेटवर्थको रकमको २ तिहाई माथि खरिद तथा बिक्री हुने अथवा तोकिएको भन्दा अधिकतम पोजिसन होल्डमा देखिएमा एक्सचेन्जका कर्मचारीले तत्काल उसको ब्रोकर अथवा लगानीकर्ता स्वयंलाई सचेत गराउने तथा क्षमता भन्दा धेरै रहेको अवस्थामा त्यस्तो पोजिसन घटाउन निर्देशन दिने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ।

(घ) डिफल्टर रहने खतराः कुनै बखत अनिवार्य डेलिभरी गर्नुपर्ने अवस्थामा खरिदकर्ताको विपक्षमा बिक्रीकर्ता वा बिक्रीकर्ताको विपक्षमा खरिदकर्ताले आफ्नो दायित्व अनुसारको राफसाफ तथा फछ्र्यौट गर्न नसेकमा तिनीहरु आफू डिफल्ट भई आफ्नो जिम्मेवारीबाट पन्छिन सक्तछ । यस्तो अवस्थामा बिक्रीकर्ताले डिफल्ट गरेको भएमा खरिदकर्ताबाट पैसा लिई स्पटमा वा अक्सन बजारमा खरिदगरी खरिदकर्ताको खातामा उसले किन्न खोजेको शेयर संख्या डेलिभरी हुने व्यवस्था मिलाउनु पर्दछ । त्यसैगरी खरिदकर्ताले डिफल्ट गरेमा बिक्रीकर्ताबाट शेयर लिएर सो शेयर स्पटमा वा अक्सन मार्केटमा बिक्री गरी नपुग पैसा खरिदकर्ताको कारोबार खाताबाट पेनाल्टी स्वरुप असुलउपर गरी बिक्रीकर्तालाई रकम दिने व्यवस्था मिलाउनु पर्ने हुन्छ । कुनै पनि पक्षले डिफल्ट गरेमा एक्सचेन्जले काउन्टर ग्यारेन्टी गर्दै अर्कोपक्षलाई घाटा हुन नदिई एक्सचेन्जको विश्वसनियता यथावत राख्नुपर्ने हुन्छ ।

(ङ) दैनिक तथा अन्तिम सेटलमेन्टको व्यवस्थाः कारोबारीहरुले स्पटको माध्यमबाट फ्युचर मुल्यमा वा फ्युचर मुल्यको माध्यमबाट स्पटको मुल्यमा बर्चस्व जमाउने कोशिश अधिकांश समय गरिराख्न खोज्दछन् । यस्तो अवस्थामा हालमा स्पटमा दैनिक अन्तिम मुल्य जारी हुँदा कारोबारको अन्तिम मुल्यलाई मान्ने प्रचलन रहेको छ । त्यसो हुँदा यसको प्रभाव डेरिभेटिभमा समेत पर्न सक्ने देखिन्छ । त्यसैले दैनिक तथा अन्तिम कारोबार सेटलमेन्टमा निश्चित समयको औषत भारित कारोबार मुल्यलाई लिएर दैनिक तथा अन्तिम सेटलमेन्ट मुल्य कायम गर्नुपर्ने हुन्छ । यस्तो हुँदा कारोबारको अन्त्य तिर आएर धेरै चलखेल भएपनि यसको असर अन्तिम मुल्यमा कम पर्ने हुन्छ ।

६. निष्कर्ष
अन्त्यमा, उपरोक्त विषयहरुलाई समेटेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले आवश्यक कानूनी तथा भौतिक पूर्वाधारको व्यवस्था गरी नेपाली पूँजी बजारमा समेत वित्तीय डेरिभेटिभ औजारको रुपमा इण्डेक्समा आधारित तथा स्टकमा आधारित विभिन्न प्रकारका डेरिभेटिभ करारहरु विकास गरी यथाशक्य छिटो वित्तीय डेरिभेटिभ बजारको सञ्चालन तर्फ अग्रसर हुनुपर्ने अवस्था रहेको छ । विश्वभर लोकप्रिय रहेको र जोखिम व्यवस्थापनका लागि अनिवार्य जस्तै रहेको यो बजारले नेपाली लगानीकर्ताहरुलाई समेत शेयर कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न सघाउनुका साथै स्पेकुलेसन, आर्बिट्रेज तथा हेज लगायतका अवसरहरु यो बजारले प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।

(प्रभु क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत गिरीको लेख नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव लेख विशेषांकबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्