Shikhar Insurance

राष्ट्र बैंकको कडा निगरानीमा १५ वाणिज्य बैंक, पत्र नै लेखेर भन्यो ‘मिलाउने कि डण्डा चलाउँ ?’

बिओके, सेञ्चुरी, एनबी, प्राइम र कुमारी ‘रेड लिस्ट’मा
सिंहदरबार संवाददाता
२०७९ असार २, बिहीबार २०:०६
NIMB
Nabil Bank

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १५ वटा बैंक नेपाल राष्ट्र बैंकको कडा निगरानीमा परेका छन् । जेठ १६ गतेसम्म कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा माथि राख्ने वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले पत्रचारै गरी नियमकीय कारवाहीमा पर्ने भन्दै सचेत हुन भनेको हो ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागको सम्बन्धित फाँटबाट सीडी रेसियो ९० प्रतिशतभन्दा माथि हुने वाणिज्य बैंकहरुलाई जेठ १७ गते पत्र पठाइएको थियो । उक्त समयसम्म ७ वटा वाणिज्य बैंकको सीडी रेसियो ९२ प्रतिशतमाथि र ८ वटा वाणिज्य बैंकको ९० देखि ९२ प्रतिशतसम्म गरी १५ वटाले सीमा कटाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीय बैंकका अनुसार बीओके, सेञ्चुरी, एनबी, प्राइम, कुमारी, कृषि विकास र ग्लोबल आइएमई बैंकको सीडी रेसियो ९२ प्रतिशतमाथि छ । यस्तै नबिल, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, सनराइज, सिद्धार्थ, एनसीसी, सिटिजन्स र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । यी बैंकहरुमध्ये केही बैंकले मात्र सीडी रेसियो सीमाभन्दा तल पुर्याउन कसरत गरेर रिजल्ट पनि दिइरहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ८५ प्रतिशतको सीसीडीको व्यवस्थालाई हटाएर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियो लागू गरेको थियो । सीडी रेसियो ९० प्रतिशत कायम गर्नु भनेको अर्थ बैंकहरुले १ सय रुपैयाँ निक्षेप संकलन गरेर ९० रुपैयाँ कर्जा लगानी गर्न पाउँछन् भन्ने हो । तोकिएको सीडी रेसियो कायम गर्न २०७९ असार मसान्तसम्म समय दिइएको छ । दिइएको समय सीमा नजिकिँदै गर्दा पनि आधाभन्दा बढी वाणिज्य बैंकहरुको सीडी ९० प्रतिशत माथि भएको हुँदा पत्रचार गरी निगरानीमा राखिएको राष्ट्र बैंकमा एक अधिकारीले बताए ।

“२०७९ असार मसान्तमा सीडी रेसियो ९० प्रतिशतमा ल्याउनु पर्ने निर्देशन हो, दिइएको समय आउन अब ३० दिन पनि बाँकी छैन, सीडी रेसियोमा बैंकहरुलाई क्लोज मोनिटरिङ (निगरानी) गरिरहेका छौं,” ती अधिकारीले सिंहदरबारसँग भने, “जेठ १६ गतेसम्म १५ वटा बैंकले सीडीको सीमा कटाएका थिए, ती बैंकहरुलाई नै पत्रचार गरी नेट लिक्विड एसेट (एनएलए) म्यानेटमेन्टमा के गरिरहेका छौं ? असारको पहिलो साताभित्र लिखित जवाफ पेश गर्न भनेका हौं । अहिले त ९० प्रतिशतमा झार्नुस् भन्ने मात्र हो, साउन १ गतेदेखि धमाधम कारवाही सुरु हुन्छ ।’

सीडी रेसियो सीमा कटाउनेमध्ये पनि ५ वटा वाणिज्य बैंकलाई भने राष्ट्र बैंकले ‘रेड लिस्ट’ मै राखेर ताकेता गरिरहेको ती अधिकारीले बताए ।

“सीडीको सीमा असार मसान्तसम्म ९० प्रतिशतमा तल बनाउन नसक्ने जस्तो देखिएका बैंकहरुका सीईओ र बैंकको सम्बन्धित विभाग हेर्ने अधिकृतलाई बोलाएरै कार्ययोजनाबारे प्रश्न गरिहेका छौं भने, ती बैंकहरुको एनएलए र अन्य कारोबारलाई समेत विषेश निगरानीमा राखेका छौं,” ती अधिकारीले थपे, “अब कारवाहीको भागिदार बन्ने समय नजिकिएको छ, ९५ प्रतिशत माथि नै सीडी भएका बैंकले २५/३० दिनमा कसरी म्यानेज गर्छन् ? खासै सम्भावना देखिन्नँ, यी बैंकहरु साउन १ गते कारबाहीमा पर्ने निश्चित छ ।”

जेठ १६ गतेसम्म बिओके, सेञ्चुरी, एनबी, प्राइम र कुमारी बैंकको सीडी रेसियो ९५ प्रतिशतमाथि थियो । यी बैंकलाई राष्ट्र बैंक सुपरीवेक्षण विभागका सम्बन्धित बैंक हेर्ने फाँटबाट दैनिक फोन गरि ‘अपडेट’ लिनुका साथै विभागीय प्रमुखले सीईओ र सञ्चालकलाई उपस्थित गराएर नेट लिक्विड एसेट म्यानेजमेन्ट बारे प्रश्न गरिरहेका छन् ।

राष्ट्र बैंकले गत पुसमै सीडी कटाएर कारोबार गरेका वाणिज्य बैंकहरुलाई एनएलए म्यानेजमेन्ट कसरी गर्ने ? सञ्चालक समितिबाट पास गराएर राष्ट्र बैंकमा पेस गर्न भनेको थियो । सोही अनुसार सीडी रेसियो सीमा कटाउने बैंकहरुले व्यवस्थापनमा काम गरे/नगरेको राष्ट्र बैंकले हेर्दै ताकेता गरिरहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै ९० प्रतिशतमाथि सीडी रेसियो कटाएर व्यवसाय गर्नको लागि सर्त सहित बाटो खोलिदिएको थियो । तोकिएको समयमा सीमामा ल्याउन के गर्ने ? त्यसको कार्ययोजना बनाएर बैंक सञ्चालक समितिबाट स्वीकृत गराइ राष्ट्र बैंकमा पेश गर्न भनेको थियो । सोही अनुसार बैंकहरुले सीमा माथि पुगेको सीडी रेसियो घटाउनु पर्ने थियो ।

तर, अधिकांश वाणिज्य बैंकले पाएको सुविधाको दुरुपयोग गर्दै ९१/९२ को हाराहारीमा रहेको सीडीलाई सतप्रशित माथिसम्म कटाएर व्यवसाय गर्न थालेका थिए । जसले गर्दा केही महिना अघिमात्रै राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर सीडी रेसियो कटाउने बैंकलाई नयाँ कर्जा प्रवाह गर्न निर्देशात्मक सुझाव दिएको थियो ।

अहिले पनि सीडी रेसियो सीमा माथि पुगेका वाणिज्य बैंकहरुका सीईओलाई बोलाएरै स्पष्टिकरण सोध्ने काम सुरु गरिएको हो । सीडी रेसियो ९० प्रतिशत माथि हुने बैंकहरुलाई राष्ट्र बैंकले साउन १ गतेदेखि लिखित स्पष्टिकरण सोध्ने, हर्जना तिराउने, विभिन्न सेवा सुविधाबाट वञ्चित राख्ने लगायत दफा १०० मा उल्लेखित कारवाही गर्न पछि नहट्ने उनको भनाइ छ ।

जेठ १६ गतेसम्म कुन बैंकको कति ?
सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकले जेठ १५ गतेसम्म ४३ खर्ब ७९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी सीडीको सीमा कटाएरै ४१ खर्ब ९१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जेठ १५ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.३४ प्रतिशत कायम थियो ।

उक्त समयसम्म १६ वटा वाणिज्य बैंकको सीडी रेसियो सीमाभन्दा माथि अर्थात् ९०.६४ प्रतिशतदेखि ९६.५६ प्रतिशत थियो ।

सो अवधिमा ५ वटा बैंकको सीडी रेसियो ९५ प्रतिशतमाथि छ । जसमा सबैभन्दा धेरै सीडी रेसियो ९६.५६ प्रतिशत बैंक अफ काठमाण्डूको छ । साथै, सेञ्चुरी बैंकको ९६.५२ प्रतिशत, नेपाल बंगलादेश बैंकको ९५.६१ प्रतिशत, प्राइम बैंकको ९५.४५ प्रतिशत र कुमारी बैंकको ९५.०५ प्रतिशत कायम छ ।

यस्तै, कृषि विकास बैंकको ९२.९६ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९२.६१ प्रतिशत र नबिल बैंकको ९२ प्रतिशत सीडी रेसियो कायम छ । सो अवधिमा हिमालयन बैंकको ९१.३८ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैंकको ९१.३८ प्रतिशत, सनराइज बैंकको ९१.३८ प्रतिशत, सिद्धार्थ बैंकको ९१.३१, एनसीसी बैंक ९१.२१ प्रतिशत, सिटिजन्स बैंक ९१ प्रतिशत, नेपाल बैंक, ९० प्रतिशत र सिभिल बैंकको ९०.३१ प्रशितले सीडी रेसियो कायम थियो ।

जेठ १६ सम्म १२ वटा वाणिज्य बैंकको सीडी रेसियो सीमाभन्दा तल थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्