Shikhar Insurance

असार अन्तिममा धमाधम खर्चः वर्षात्मा विकास बजेट सक्ने बाहाना

सिंहदरबार संवाददाता
२०७९ असार २२, बुधबार १६:४३
NIMB
Nabil Bank

गलकोट । बागलुङमा असारे विकासको नियति अझै फेरिन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे विकासको अन्त्य गरी वैशाख/जेठ महिनामै सबै योजना सक्ने लक्ष्य लिइँदै आए पनि बागलुङमा यसको कार्यान्वयन हुन सकेको छैन ।

वर्षात्मा हुने विकास बजेट सक्ने बाहेक प्रभावकारीरुपमा विकास हुन सकेको छैन । स्थानीय सरकारदेखि केन्द्र र प्रदेश सरकार असारे विकासतर्फ गम्भीर बनेको पाइँदैन ।

Citizen Life
Kumar Bank
Nepal Life

बागलुङमा चालु आर्थिक वर्षको विकास बजेट खर्च हेर्दा असार महिनामा मात्रै सबैभन्दा बढी खर्च भएको पाइन्छ । असार २० सम्मको विकास बजेट खर्च हेर्दा २० दिनमै २० करोड १८ लाख ४९ हजार ४१२ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार जेठ महिनासम्म चालु बजेटतर्फ ६ अर्ब ७१ करोड १९ लाख ४४ हजार २१० रकम खर्च गरेको छ । जुन ९१.६५ प्रतिशत हो । यसमध्ये पुँजीगत खर्चतर्फ १ अर्ब ४९ करोड १७ लाख ३७ हजार ३५१ रहेको छ । जुन ५४.९२ प्रतिशत हो ।

जेठ मसान्तसम्म ८ अर्ब २० करोड ३६ लाख ८१ हजार ५६१ खर्च भएको छ । जुन ७१.३६ प्रतिशत हो । असार २० गतेसम्म चालुतर्फ १८ करोड ८६ लाख ७९ हजार ४१२ र पुँजीगततर्फ १ करोड ३१ लाख ७० हजार खर्च भएको छ । केन्द्र र प्रदेश सरकारबाट प्राप्त भएको बजेटबाट जिल्लास्थित सरकारी कार्यालयले उक्त बजेट खर्च गरेका हुन् ।

बजेट खर्चको आँकडालाई हेर्दा बागलुङमा असारे विकास रोकिएको पाइँदैन । २० दिनमै २० करोड खर्च हुनलाई सरोकारवाला निकायले गम्भीररुपमा लिनुपर्ने देखिन्छ । केही योजना ढिलानै सम्झौता गर्नु पर्ने बाध्यता भए पनि यो समस्या समाधान भने तत्कालै गर्नुपर्ने देखिन्छ ।

सो कार्यालयका लेखा नियन्त्रक जब्बरबहादुर भण्डारीले विगतको प्रवृत्ति दोहोरिएको जनाउँदै सङ्घ र प्रदेशअन्तर्गतका योजनाको काम हुने त अन्तिममा आएर फरफारक गर्नेहुँदा असारमा बढी खर्च हुने गरेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्