Shikhar Insurance

बीमा कम्पनीहरु मिलेर पाँच अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ ल्याउँदै, दिर्घकालिन लगानीका क्षेत्र खोजिने

सिंहदरबार संवाददाता
२०७९ भाद्र ६, सोमबार १९:१७
NIMB
Nabil Bank

काठमाडौं । बीमा कम्पनीहरुले मिलेर पाँच अर्ब रुपैयाँको इन्भेष्टमेन्ट कम्पनी ल्याउने भएका छन् । बीमा समितिको सुझाव अनुसार जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले मिलेर न्युनतम पाँच अर्ब चुक्ता पुँजीको इन्भेष्टमेन्ट कम्पनी ल्याउन लागेका हुन् । त्यस्तो कम्पनीबारे बीमा समितिका अध्यक्षको उपस्थितिमा पटक पटक छलफल समेत भैसकेको छ । उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने मुल उदेश्यसहित त्यस्तो कम्पनी ल्याउन लागिएको हो ।

बीमा समितिका अध्यक्ष सुर्य सिलवालकै योजना र जोडबलमा इन्भेष्टमेन्ट कम्पनीबारे छलफल भैरहेको एक बीमा कम्पनीका सिईओले बताए । बीमा समिति अध्यक्ष सिलवालले पनि ‘सबै बीमा कम्पनीहरुको लगानीमा एउटा शसक्त इन्भेष्टमेन्ट कम्पनी स्थापना होस’ भन्ने आफ्नो चाहना रहेको बताए । ‘बीमा कम्पनीहरुसँग त्यत्रो ठूलो फण्ड छ, बैंकमा निक्षेप राखेर, सेयर किनेर बस्नुपर्ने अवस्था छ अहिले, इन्भेष्टमेन्ट कम्पनी बनाउन सकियो भने दिर्घकालिन लाभको क्षेत्रमा लगानी हुन्छ, देशको अर्थतन्त्रलाई पनि टेवा पुग्छ र बीमा कम्पनीहरुको लगानीमा पनि बिविधिकरण हुन्छ’, समिति अध्यक्ष इन्भेष्टमेन्ट कम्पनी बनाउने सल्लाहबारे सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आफ्नै जोडबलमा इन्भेष्टमेन्ट कम्पनी बनाउनेबारे छलफल अघि बढेको पनि बताए । जीवन, निर्जीवन तथा दुबै पुनर्बीमा कम्पनीहरुले इन्भेष्टमेन्ट कम्पनीमा बराबर लगानी गर्न पाउनेछन् । पछि स्टक एक्सचेञ्जमा सूचिकृत गर्न सकिने गरि कम्पनीको मोडल बनाउन उपयुक्त हुने बमिा कम्पनीका सिईओहरुको राय रहेको छ । हाल बीमा कम्पनीहरुले लगानी विविधिकरणका लागि सुरक्षित क्षेत्र नै फेला नपरेको बताउँदै आएका छन् । उता बीमा समितिले भने कम्पनीहरुले तोकिएको क्षेत्रमा लगानी नगरी बैंकमा निक्षेप राख्ने र सेयर किन्ने काममा मात्रै गरेको आरोप लगाउँदै आएको छ ।

यतिबेला सेयर बजार समेत निरन्तर ओरालो लागिरहेको छ, अर्का तिर बैंकहरुबाट प्राप्त हुने संस्थागत निक्षेपको ब्याजदरमा पनि नेपाल राष्ट्र बैंकले व्यक्तिगत निक्षेपको भन्दा २ प्रतिशत मात्रै बढी ब्याज दिन पाउने गरि क्याप लगाईदिएको छ । अहिले बीमा कम्पनीहरुको नाफामा बैंकको ब्याजदर र सेयर बजारबाट प्राप्त हुने आम्दानीकै सबै भन्दा ठूलो हिस्सा छ । सेयर बजार घट्ने र बैंकको ब्याजदरमा यसै गरि क्याप लागिरहने हो भने बीमा कम्पनीहरुको नाफामा उल्लेख्य गिरावट आउने अवस्था छ । बीमा समितिले अरबौं रुपैयाँ लगानी योग्य पुँजी बोकेर बसेका बीमा कम्पनीहरुले बैंकमा निक्षेप र सेयर बजारमा लगानी मात्रै गर्दा बीमा कम्पनीहरुमा वित्तिय जोखिम आउन सक्ने भन्दै आएको छ ।

नयाँ स्थापना हुने इन्भेष्टमेन्ट कम्पनीले बीमा कम्पनीहरुको लगानीलाई विविधिकरणका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा दुबै पक्षले गरेका छन् । एउटा कम्पनी सफल भएमा त्यसपछि अन्य क्षेत्रगत तथा विधागत कम्पनीहरु समेत खडा गरेर देशको पूर्वाधार र उत्पादनका क्षेत्रमा लगानीको स्रोत जुटाउन सकिने अवस्था बन्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्