Shikhar Insurance

नियन्त्रित औषधि खुलेआम बिक्री

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १२:२३
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोक। प्रहरीले नियन्त्रित औषधिसहित बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालक सत्यश्वर मकैलाई शुक्रबार पक्राउ गर्यो । मकैले नियन्त्रित औषधि बिना प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधिसमेत बरामद गरेको हो । नियन्त्रित मानिएका मेकोन–पी लेखिएको सिल खोलिएको ६५ थान ट्याब्लेट, सिल खोलिएको कोफट्याब ३१ थान ट्याब्लेट, डाइक्लोमाइन बिपी स्पान्स्मो एन्टिस्यापमोडिक लेखिएको सिल नखोलिएको दुई बट्टा (एक हजार थान) र सिल खोलिएको एक सय २० थान ट्याब्लेट, गाबावेल–एक सय ५० लेखिएको सिल नखोलिएको तीन बट्टा (३०० थान) र सिल खोलिएको ट्याब्लेट एक सय चार थान, स्टागन–२५ लेखिएको सिल नखोलिएको ८ बट्टा (१ हजार ६ सय थान) र सिल खोलिएको ट्याब्लेट थान ४३ र डी–कोफ लेखिएको सिल नखोलिएको ६ बट्टा (१ हजार २ सय थान) र सिल खोलिएको ट्याब्लेट ८० थान ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र बनेपा इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले मकैलाई शुक्रबार पक्राउ गरी कारबाहीका लागि आइतबार काठमाडौंस्थित औषधि व्यवस्था विभागमा पठाएको हो । जिप्रकाको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार बरामद गरिएका औषधि सञ्चालकले ती औषधि चिकित्सकीय सिफारिसबिना बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसरी बिक्री गरिएका औषधि ‘लागुऔषध’को रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । यसअघि इलाका प्रहरीले प्रतिबन्धित लागुऔषध कारोबारमा सम्लग्न पाँच जनालाई गत साउन १४ गते राति पक्राउ गरेको थियो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेपलाञ्चोकको बनेपामा लागुऔषध कारोबारमा सम्लग्न भएका उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । लागुऔषध कारोबार तथा ओसारपसारमा सम्लग्न भएकाबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कूल ९०६ थान लागुऔषध बरामद गरेको थियो ।

त्यतिबेला प्रहरीको अनुसन्धानले वीरगञ्जबाट काभ्रेपलाञ्चोकअन्तर्गतको बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) सडक प्रयोग गरी बनेपाहुँदै लागुऔषध काठमाडौं पुर्याउने र काठमाडौँबाट पुनः बनेपा ल्याई कुलतमा फसेका युवालाई बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनायो । यसअघि गत वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गमा जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो ।

यस्तै प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना नियन्त्रित औषधि (नशालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फर्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो । उनको फर्मेसीबाट विभिन्न प्रकारका सात हजार एक सय ३८ नियन्त्रित लागुऔषधसमेत बरामद गरिएको थियो । सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा सम्लग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखिएको छ । साथै बिपी राजमार्गबाट अधिकांश रुपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको छ ।

काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको रेकर्डबाट देखिन्छ ।

यस्तै प्रहरीले सुराकीको आधारमा उक्त राजमार्गबाट आउने सवारी साधन जाँच गर्दा दर्जनौँ पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसारमा सम्लग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाउने गरेको छ । हरीको तथ्याङ्क अनुसार बितेको पाँच बर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३७ मुद्दामा ७२ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये पनि अधिकांशले ब्रोकर बनेर काम गरिरहेको बयान दिँदै आएका छन् । प्रहरीको अनुसन्धानले विशेष गरी टिनएजर्स् नै लागुऔषधको तस्करी र प्रयोकर्ताका रुपमा देखिएका छन् ।

घटना विवरणअनुसार तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै तस्करीका लागुऔषधको ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोकलाई बनाएको देखिएको छ । पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा एक्सन टिम’ परिचालन गरिएको प्रनाउ न्यौपानेले बताए। उनका अनुसार यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागूऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौंमा बिक्री गर्दै आएको देखिन्छ । लागुऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको प्रहरीकै अनुसन्धानले देखाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्