Shikhar Insurance

५० हजार माग्दै सुर्य ज्योति लाइफका सीईओ खत्री किन धाउँदैछन् बीमा प्राधिकरण ?

वार्षिक १ करोड बढी तलब
सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । केहि सातादेखि एउटा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दैनन्दिन बीमा प्राधिकरण धाईरहेका छन् । मासिक ५० हजार पैसा चाहियो भन्दै उनी प्राधिकरण पुग्छन् र उच्च पदस्थहरुलाई भेटेर ५० हजार दिलाईदिन अनुनय विनय गर्छन् ।

ति व्यक्ति हुन्, सुर्य ज्योति लाइफका सीइओ प्रकाश बिक्रम खत्री । तत्कालिन सुर्य र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर बनेको सुर्य ज्योति लाइफको सिईओ रहेका उनी ५० हजार रुपैयाँका लागि बीमा समिति धाईरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालको जीवन बीमा इतिहासमै पहिलो मर्जर गत पुस ७ गते तत्कालिन सुर्या लाइफ र ज्योति लाइफको भएको हो । यी कम्पनीहरुले मर्जर सम्पन्न गरी सुर्य ज्योति लाइफ कम्पनीको नाममा कारोबार गरिरहेका छन् । जसमा प्रकाश बिक्रम खत्री सीइओ र नन्द किशोर शर्मा अध्यक्ष छन् । कम्पनीका सीइओ तत्कालिन ज्योति लाइफ इन्स्योरेन्समा विगत २ वर्षदेखि सीइओ थिए ।

पुस ७ गतेदेखि ४ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी र २२ अर्ब रुपैयाँ बढीको बीमा कोष भएको सुर्य ज्योति लाइफ इन्स्योरेन्सका सीइओ अहिले नियामक निकाय नेपाल बीमा प्राधिकरणमा मर्जर अघि संचालकले दिन्छु भनेको पैसा दिलाइ पाऊँ भन्दै रोइलो गरिरहेका छन् । उनी तत्कालिन ज्योति लाइफका सञ्चालकले चालु आवमा बढाएर दिन्छु भनेको तलब भत्ता वापतको रकम दिलाइ पाऊँ भन्दै प्राधिकरण पुगेका हुन् । जुन चालु आवमा उनलाई कम्पनीले दिएको तलब भत्ताभन्दा मासिक ५० हजार रुपैयाँ बढी हो ।

कुनै पनि कम्पनीको सञ्चालक समितिले तय गरेको सीइओ तलब भत्तामा बीमा प्राधिकरणको स्वीकृति चाहिन्छ । प्राधिकरणले कम्पनीको क्षमता अनुसार सीइओ तलब स्वीकृत दिन्छ भने सोही अनुसार सीइओको खातामा कम्पनीले तलब भत्ता पठाउन मिल्छ ।

आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले सीइओलाई तलब भत्ता वापत ७७ लाख ५५ हजार रुपैयाँ खर्च गरेको थियो । कम्पनीमा खत्री सीइओ नियुक्त भएसँगै आव २०७७/७८ मा कम्पनीले सीइओ तलब भत्ता वृद्धि गरेको थियो । सो आवमा कम्पनीबाट सीइओ खत्रीले ८३ लाख ३७ हजार रुपैयाँ तलब भत्ता वापत बुझेका थिए । उनलाई तत्कालिन ज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले २०७७ बैसाखदेखि सीइओमा नियुक्त गरेको थियो । त्यसअघि उनी कम्पनीमा डीसीइओको रुपमा कार्यरत थिए ।

गत आवमा सोही तलबभत्तामा सीइओ कार्यभार सम्पन्न गरेका सीइओ खत्रीलाई चालु आवदेखि तलब भत्तामा बढोत्तरी गर्ने निर्णय सञ्चालक समितिले गरेको थियो । सोही अनुसारको तलबभत्ता दिने निर्णय गरी सञ्चालक समितिले प्राधिकरणमा स्वीकृतिको लागि गत असार मसान्तमै पठाएको थियो । तर, ज्योति लाइफले प्राधिकरणमा तोकिएको पुँजी वृद्धिको लागि मर्जरको बाटो रोज्ने ‘क्यापिटल प्लान’ बुझाइसकेको थियो । सोही कारणले गर्दा मर्जरमा जाने कम्पनीको खर्च बढ्ने प्रकारका प्रस्ताव रोकिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

‘सञ्चालक समितिबाट सीइओ तलब बढोत्तरीको लागि आएको थियो, मर्जरमा जाने कम्पनीको खर्च बढाउनु राम्रो होइन भनेर हामीले त्यही समय नै रोकेका थियौं,’ प्राधिकरणका उच्च अधिकारीले सिंहदरबारसँग भने, ‘मर्जरमा गएपछि बन्ने कम्पनीको सीइओको नै तलब बढोत्तरीमा स्वीकृत गर्ने प्राधिकरणको निर्णय थियो ।’

अहिले कम्पनीको सीइओ खत्री भने सञ्चालक समितिको निर्णय अनुसार नै साउनदेखि मंसिर मसान्तसम्मको बाँकी तलब भत्ता दिलाइ पाऊँ भन्दै प्राधिकरण धाइरहेको उनले जानकारी दिए ।

तत्कालिन ज्योति लाइफ इन्स्योरेन्सले सीइओलाई कुल ८६ लाख ९४ हजार रुपैयाँ तलबभत्ता दिने निर्णय गरी प्राधिकरण पठाएको थियो तर प्राधिकरणले वार्षिक ७७ लाख ४० हजार रुपैयाँ मात्रै तलब भत्ता दिन पाउने गरी स्वीकृति दिएको थियो । पछि सुर्य ज्योतिको नामबाट एकिकृत कारोबार सुरु हुने कम्पनीको सीइओलाई भने प्राधिकरणले १ करोड ६ लाख रुपैयाँ वार्षिक तलब भत्ता दिने गरी ४ वर्षको लागि सीइओ नियुक्त गर्न स्वीकृत दिएको हो ।

मर्जरपछि एकिकृत कारोबारमा आएको सुर्य ज्योति लाइफको पुँजी लगायत कुल सम्पतीको आधारमा कम्पनीले सीइओलाई १ करोड ४७ लाख रुपैयाँसम्म तलब दिन सक्ने क्षमता छ । सुर्य ज्योति लाइफको सञ्चालक समितिले समेत साउन १ गतेदेखि कै हिसाब गरेर वार्षिक तलब सीइओलाई १ करोड ४७ लाख रुपैयाँ दिने निर्णय गरी प्राधिकरण पठाएको हो । तर, बीमा प्राधिकरणले भने पुस महिनादेखि मात्रै सीइओ खत्रीलाई वार्षिक १ करोड ६ लाख रुपैयाँ तलब भत्ता दिन पाउने गरी स्वीकृत गरेको थियो । सोही अनुसार सीइओ खत्रीले तलब भत्ता बुझिरहेका छन् ।

सीइओ खत्रीलाई बीमा प्राधिकरणले पुस ८ गतेदेखि सुर्य ज्योति लाइफ इन्स्योरेन्समा वार्षिक १ करोड ६ लाख रुपैयाँ तलब भत्ता पाउने गरी सीइओ नियुक्त गर्न स्वीकृति दिएको हो । तर, सञ्चालक समितिले साउनदेखि नै १ करोड ६ लाख रुपैयाँ तलब भत्ता दिने निर्णय गरी सकेको तर, प्राधिकरणले पुस महिनामा मात्रै १ करोड ६ लाख रुपैयाँ कायम हुने गरी तलब भत्ता स्वीकृत गरेको भन्दै बीचको ४ महिनामा आएको फरक रमक उपलब्ध गराइनु पर्ने माग राखेको हो ।

‘सञ्चालक समितिले साउन मै निर्णय गरेको हो, प्राधिकरणले पुसदेखि लागू हुनेगरी तलब स्वीकृत गरेको भन्दै बीचको फरक पर्न गएको रकम माग सीइओ गरेका हुन्, प्राधिकरणले सोही बेला नै रोकेको विषयमा अब सुनुवाइ हुने कुरा नै आउँदैन,’ उनले भने, ‘बीचमा फरक पर्ने गएको तलब करिब मासिक हिसाब गर्दा ५० हजार रुपैयाँदरले ४ लाख रुपैयाँ जति आउँछ, सोही रकम उनले माग गरेका हुन् ।’

साउन महिनादेखि मंसिर महिनासम्मको बाँकी रकम सीइओ खातामा पठाउने आदेश दिन खत्रीले प्राधिकरणमा कम्पनी विरुद्ध उजुरी समेत गरेको तर, त्यसमा प्राधिकरणले कम्पनीलाई थप दायित्व बाेकाउन नमिल्ने प्रष्ट पारिसकेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्