Shikhar Insurance

कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग

सिंहदरबार संवाददाता
२०७९ चैत्र १२, आईतवार १६:२७
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सो आन्दोलनका क्रममा घाइते भई निधन भएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए।

Citizen Life
Kumar Bank
Nepal Life

उनले स्व लिम्बूलाई शहीद घोषणा गर्न र निजका परिवारलाई उचित क्षतिपूर्ति दिनसमेत माग गरे । यो राजनीतिक विषय भएकाले सबै राजनीतिक दलको चासोको विषय हुनुपर्ने सांसद राईको भनाइ थियो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली कहिले पारित हुन्छ र संसदीय समिति कहिले गठन हुन्छ भनी प्रश्न गरिन् । साथै उनले प्रधानमन्त्री एक्लैले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेको अवस्थामा जनचासोका विषय कसरी प्रभावकारीरुपमा सम्बोधन होलान् भनिन्।

सांसद डाँगीले झापाको भद्रपुर अस्पतालमा कतिपय कर्मचारीको दरबन्दी रिक्त रहेकाले र जनताले सेवा पाउन कठिनाइ भएको बताउँदै प्रभावकारी सेवा प्रदान गर्नका लागि उचित व्यवस्था गर्न माग गरिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले मुलुकमा आवश्यक रोजगारीका अवसर नहुँदा कामको खोजीमा लाखौँ युवा विदेशिन बाध्य भएको बताउँदै रोजगारीका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका सांसद नवलकिशोर साह सुडीले मुलुकको ठूलो जनसंख्या कृषि पेशामा आबद्ध रहे पनि राज्यबाट उचित राहत पाउन नसक्दा र समयमै मल र बिउ पाउन नसक्दा अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको बताए । साथै उनले लाखौँ नेपाली नागरिकताबाट बञ्चित हुनुपरेको अवस्थामा नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरे।

नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पबाट स्थानीयको घरमा भएको क्षतिका सम्बन्धमा हालसम्म क्षतिपूर्ति पाउन नसकेकाबारे सरकारको ध्यानाकर्षण गराए। साथै उनले बेमौसमी वर्षाले भएको धनजनको क्षतिका सम्बन्धमा जनताले हालसम्म पनि उचित क्षतिपूर्ति पाउन नसकेको बताउँदै तत्काल माग सुनुवाइका लागि आग्रह गरे ।

जनमत पार्टीका सांसद डा चन्द्रकान्त राउतले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने भावना रहे पनि उपराष्ट्रिपतिको निर्वाचनमा महिलाको प्रतिनिधित्व हुन नसकेको गुनासो गरे।

बैठकको विशेष समयमा नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले राज्यका निकायको काम गर्ने शैली हेर्दा माग राखेरै आफ्नो सांसदको कार्यकाल सकिने हो कि भनी चिन्ता व्यक्त गरे।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न खुला सिमानालाई व्यवस्थित गर्न माग गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्