Shikhar Insurance

‘नेप्से ३० इन्डेक्स’का लागि सुझाव माग, कम्पनी छनोटका ६ आधारहरु के–के छन् ?

सिंहदरबार संवाददाता
२०८० बैशाख २०, बुधबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘नेप्से ३०’ इन्डेक्सका लागि राय तथा सुझाव माग गरेको छ । प्रस्तावित नेप्से–३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गते भित्र सुझाव पठाउन नेप्सेले आग्रह गरेको हाे ।

नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकको रुपमा नेप्से ३० इन्डेक्स तर्जुमा गरिरहेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेञ्ज ट्रेडेड फण्ड सञ्चालन लगायतमा सघाउ पुर्याउने अपेक्षा रहेको नेप्सेले जनाएको छ ।

यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्ताले भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने नेप्सेले दाबी गरेको छ ।

यस किसिमको दीर्घकालिन महत्वको सूचकांकको गणना विधि तथा यसमा समावेशका लागि लिइने सूचीकृत संगठित संस्था छनोटका विधि पारदर्शी तथा विश्वसनीय बनाउन सरोकार राख्ने सबैलाई सुझाव दिन भनेको छ ।

कम्पनीका छनोटका ६ वटा आधारहरूः
प्रस्तावित नेप्से–३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था (कम्पनी) छनोटका ६ वटा आधार नेप्सेले तय गरिएको छ । जसमा प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तिमा ३ वर्ष नाफामा रहेको हुनुपर्ने छ।

अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको हुनुपर्ने छ ।

कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि(फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि(फ्लोट बजार पुँजीकरण एक प्रतिशत भन्दा बढी रहेको हुनुपर्ने छ ।

सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने छ भने पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको हुनुपर्ने छ ।

पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोवार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको हुनुपर्ने आधार तय गरेको छ ।

प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधिः
नेप्सेले प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधि पनि तयार पारेको छ । मापदण्डहरुबाट छनौट भएका कम्पनीहरुको प्रारम्भिक सूची तयार गर्ने र प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाहरुको फ्रि फ्लोट बजार पुँजीकरण, पछिल्लो बर्षको प्रति शेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा सबैलाई भार प्रदान गरी कूल भार गणना गरिने छ ।

सूचीका संगठित संस्थालाई ६ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरिने छ । यस इन्डेक्स प्रयोजनका लागि सूचीकृत संगठित संस्थाहरुलाई बैक वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादन मुलक र ब्यापार सेवा तथा अन्य गरी ६ समूहमा विभाजन गरिने छ ।

प्रत्येक समुह भित्र छुट्टाछुट्टै कम्पनीको आ आफ्नै समूहमा कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरुबाट ८ वटा कम्पनी छनौट गरिने छ । कुनै समूहमा ८ संगठित संस्था भन्दा कम छनौट भएमा सबै संगठित संस्था छनौट गरिने छ ।

संगठित संस्थाहरुको संख्या ३० भन्दा बढि भएमा कूल भारमा कम भार भएका कम्पनीहरुलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने प्रस्ताव रहेको छ ।

संगठित संस्थाहरुको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट आठ भन्दा बढि कम्पनी छनौट नहुने सबै कम्पनीको कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याउने व्यवस्था गरिएको छ ।

आधार बजार पूँजीकरणः 
यो इन्डेक्स गणना गर्नका लागि आधार बजार पूँजीकरण २०७९ पुस ३० गतेको फ्रीफ्लोट बजार पूँजीकरणलाई लिईने छ ।

रिब्यलेन्सिङ्गः
इन्डेक्सलाई प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रबार रिब्यलेन्सिङ्ग गरी कम्पनी थपघट गरिने प्रस्तावमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्