Shikhar Insurance

बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १०:३५
NIMB
Nabil Bank

बेनी । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।

बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए।

यसैगरी म्याग्दीको धाैलागिरि गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मंगलबार एक महिलाको ज्यान गएको छ । धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए । बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र संघ-संस्थाबाट चन्दा उठाएर रु एक लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकप्टर मगाएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्