Shikhar Insurance

मौद्रिक नीतिमा आइएमएफको ठाडो हस्तक्षेप, राष्ट्र बैंक र एफएनसीसीआईलाई के भन्यो ?

सिंहदरबार संवाददाता
२०८० श्रावण ६, शनिबार २१:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले ठाडो हस्तक्षेप गरेको छ । ६/६ महिनामा नेपाल आउने आइएमएफ मिसन यसपाली भने ३ महिना नपुग्दै नेपाल दौडमा छ र कसिलो मौद्रिक नीतिका लागि दबाव बढाईरहेको छ । बजेट निर्माणका क्रममा करका दरहरु हेरफेरमा समेत दबाव दिएको आइएमएफले यसपालीको मौद्रिक नीतिलाई कसिलो बनाउन नेपाल राष्ट्र बैंक नेतृत्वलाई भेटेरै दबाव दिएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई आइएमएफ मिसनले बालुवाटार नै पुगेर भेट गरेको थियो । शुक्रबारको सो भेटमा आइएमएफले कसिलो मौद्रिक नीतिको विकल्प नभएको बताएको थियो । आइएमएफको नेपाल मिसन ‘विस्तारित कर्जा सुबिधा’ बारे छलफलका लागि नेपाल आएको भनिए पनि उसको बेमौसमी यो भ्रमण भने आगामी मौद्रिक नीति लक्षित देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकसँग के के बिषयमा छलफल भयो भन्ने बिषय अहिलेसम्म बाहिर पठाइएको छैन् । राष्ट्र बैंकले आफ्नो ट्वीटर ह्याण्डलबाट भेटको फोटो सार्वजनिक गर्दै विस्तारित कर्जा सुबिधाबारे छलफल भएको जानकारी गराएको छ । तर भेटको अन्तर्य भने कसिलो मौद्रिक नीतिका दबाव दिनु रहेको स्रोत बताउँछ । ‘आइएमएफको यो भ्रमण बेमौसमी हो, मौद्रिक नीति ल्याउने समयमा नेपालमै डेरा जमाएर बसेको मात्रै छैन्, यसो यसो गर्नु भनेर दबाव पनि दिईरहेको स्पष्ट देखिन्छ’, स्रोतले भन्यो ।

नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वसँग मिसनको टोलीले करिब २ घण्टा छलफल गर्यो । राष्ट्र बैंकको भेटपछि महासंघ सचिवालय पुगेको मिसनले करिब २ घण्टाको लामो छलफलका क्रममा कसिलो मौद्रिक नीतिलाई स्वागत गर्ने तयारी गर्न सन्देश दिएको थियो । उनीहरुले कुल गार्हस्थ उत्पादनकै हाराहारीमा कर्जा प्रवाह भैसकेको, बैंक तथा वित्तिय संस्थाहरुले कृषि क्षेत्रका लागि दिएको कर्जा समेत घर जग्गा र सेयर बजारमै गएर दुरुपयोग भैरहेको लगायतका दावी गरेका थिए ।

बैंकिङ प्रणालीको अधिकांश कर्जा अनुत्पादक क्षेत्रमा गएकाले आगामी मौद्रिक नीतिले कर्जा विस्तारमा ध्यान दिनै नसक्ने तर्क गरेका थिए ।
यतिबेला बैंक तथा वित्तिय संस्थाहरु कर्जा विस्तारमा भन्दा पनि उठाउने तर्फ केन्द्रित हुनुपर्ने आइएमएफ मिसनको धारणा थियो । ‘उनीहरु आगामी मौद्रिक नीतिले कर्जा बढाउने होइन, यस अघि दिएको ऋण उठाउने योजना अघि सार्नुपर्छ भन्दै थिए, जीडीपी बराबर ऋण लगानी भैसकेको छ, अब थप ऋण लगानी किन गर्नु पर्यो ? भन्ने उनीहरुको कुरा थियो ।’, भेटमा सहभागी महासंघका एक अधिकारीले सिंहदरबारसँग भने ।

महासंघले भेटबारे जारी गरेको वक्तव्यका अनुसार आइएमएफ मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासंघ आएको बताएका थिए ।  राष्ट्र बैंकले आइतबार मौद्रिक नीति ल्याउँदैछ, आइएमएफले शुक्रबार नै राष्ट्र बैंक र महासंघलाई भेटेर दबाव दिएको हो ।

सरकारले चालु आर्थिक बर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । सरकारले ६.५ प्रतिशतको मुद्रास्फिति कायम गर्ने भनेको छ । ६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न करिब १२ प्रतिशतको कर्जा वृद्धि हुनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा आएको भए पनि आन्तरिक क्षेत्रमा संकट नै कायम रहेकाले माग बढाउनुपर्ने दबावमा सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व छ । मुलतः घर जग्गाको कारोबारमा भाइब्रेशन ल्याएर माग बढाउँदै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सकिने सुझावहरु आईरहेका छन् । त्यसो त सेयर बजारलाई पनि चलायमान बनाउन केहि उपाय मौद्रिक नीतिले अघि सार्नुपर्ने दबाव रहेको छ ।

तर मुद्रा कोषको टिमले भने मुद्रास्फितिलाई रोक्ने र कर्जा विस्तार नियन्त्रण गर्ने योजनासहितको मौद्रिक नीति आउनुपर्ने बताईरहेको छ ।
अहिले बैंकमा ४ खर्ब बढीको तरलता मौजुद छ । तर बजारमा ऋणको माग देखिन्न । घर जग्गा र सेयर बजारका लागि केहि नीतिगत व्यवस्था गरिदिन सक्दा मात्रै पनि आन्तरिक अर्थतन्त्रमा भाइब्रेशन आउने बैंकरहरुले नै बताईरहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्