Shikhar Insurance

मौलिक उत्पादनसम्बन्धी पुस्तक सार्वजनिक, दिगो अर्थतन्त्रका लागि सुझावहरु कार्यान्वयन आवश्यक

सिंहदरबार संवाददाता
२०८० श्रावण १६, मंगलवार १७:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्पोटर्स एसोसिएसनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले साउन १५ गते आयोजना गरेको कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेल, सिबिफिनका अध्यक्ष पवन गोल्यान, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले पुस्तक विमोचन गरेका थिए । उक्त पुस्तकका लेखकहरु डा. गोपालप्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाईं  छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

विमोचन कार्यक्रममा सिबिफिनले नेपाली मौलिक उत्पादनहरुको विषयमा अध्ययन गर्नुको कारण र औचित्यबारे प्रकाश पारेका  थिए। अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुबाट जोखिमयुक्त एवं अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई सुरक्षित र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गराउन जरुरी देखिएको उल्लेख गर्दै आन्तरिक बजारमा बढ्दो माग भएका र वाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वनपैदावारलगायतका १० वटा वस्तुहरुको १० वर्षे तथ्यांक केलाएर अध्ययन गरिएको बताए ।

पुस्तकले समग्र उद्यमी÷व्यवसायीहरुको स्तरोन्नतिको मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्गनिर्देशसमेत गरेको उनको भनाइ थियो । अध्यक्ष गोल्यानले कृषि तथा वन पैदावारलगायतका क्षेत्रमा अथाह सम्भावना भए पनि त्यसको समुचित प्रयोग हुन नसकेको उदाहरण दिँदै विशेष गरी साना साना तथा घरेलु उद्योगहरु, कृषि, वनपैदावर जस्ता बढी मूल्य अभिवृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।

मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सिबिफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनहरुको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र संभावना दुवै औंल्याइ दिएको बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताउँदै उनले नेपाली उत्पादनहरुको प्रवद्र्धन तथा उपयोगलाई प्रश्रय दिँदै निर्यातलाई बढावा दिनुपर्ने उल्लेख गरे ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने उल्लेख गर्दै निर्यातजन्य वस्तुको उच्च गुणस्तर कायम गर्न र प्रमाणीकरण गर्न सरकारकोतर्फबाट पनि आवश्यक पूर्वाधारहरुको विकास गर्नुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले सिबिफिनले सरकार र अन्य क्षेत्रले भन्दा एक कदम अगाडि बढेर आम उद्यमी/व्यवसायी र राष्ट्रको हित हुने गरी बहुपयोगी पुस्तक तयार गरेका बताउँदै, नेपालको उर्वरशील भूमि र प्राकृतिक स्रोतहरुको उचित प्रयोग र परिचालन नगरी राष्ट्रको आर्थिक उन्नति नहुने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले अध्ययन पुस्तकले औंल्याएका तथ्य–तथ्यांक र सुझावहरुलाई नेपाल सरकारले मनन् गर्नुपर्ने बताउँदै योजना तर्जुमा गर्दा उक्त सुझावहरुलाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र फेडेरेसन अफ नेपाल एक्पोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढाथोकीले समेत अध्ययन पुस्तकका विषयमा चर्चा गर्दै नेपालका उद्यमी/व्यवसायीहरुले भोगिरहेका समस्या र समाधानका लागि गर्नुपर्ने सुधारका विषयमा धारणा राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्