Shikhar Insurance

साउनमा बजेट खर्च २ र राजस्व संकलन ६ प्रतिशत

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १५:३२
NIMB
Nabil Bank
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब ६ प्रतिशत राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले  ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस्व संकलन  ८८ अर्ब १३ करोड ९० लाख रूपैयाँबराबर छ ।
चालु आर्थिक वर्षमा सरकारले कूल  १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख रूपैयाँ, पुँजीगततर्फ चार खर्ब ७१ अर्ब ६ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख रूपैयाँ बराबर बजेट छुट्याइएको थियो ।
साउन मसान्तसम्ममा चालुतर्फ १२ अर्ब १९ करोड १७ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत र पुँजीगततर्फ ९० करोड ६१ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ। यो अवधिमा चालु र पुँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ  २२ अर्ब सात करोड ८१ लाख बराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत बराबर हो ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलनमा कर राजस्वतर्फ  ७० अर्ब १७ करोड ५२ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ आठ अर्ब ६९ करोड ८९ लाख रूपैयाँ बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशलमव ४३ प्रतिशत बराबर संकलन भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्