Shikhar Insurance

जुम्लामा उठ्यो ४७ करोड बढी राजस्व

सिंहदरबार संवाददाता
२०८० भाद्र ३, आईतवार १६:१५
NIMB
Nabil Bank
जुम्ला । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा  ४७ करोड बढी राजस्व संकलन गरेको छ । सदरमुकाम खलङ्गास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य ४७ करोड ५६ लाख रहेकामा ४७ करोड २६ लाख संकलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए। उनका अनुसार यो लक्ष्यको ९९.४१ प्रतिशत हो ।
“यस कार्यालयको राजस्व संकलनको अवस्था राम्रो रहेको छ”, सूचना अधिकारी उपाध्यायले भने, “आव २०७८/७९ को तुलनामा ७ करोड बढी राजस्व संकलन भएकोे छ ।” विभिन्न शीर्षकबाट उक्त राजस्व संकलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ थियो । उनका अनुसार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता संख्या बढेका छन् । १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने  करिब १२ हजार व्यक्तिगतरुपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।
साउनमा चार करोड ५५ लाख राजस्व संकलन 
आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो महिनामा चार करोड  ५५ लाख  राजस्व संकलन भएको जनाएको छ । साउनमा ५ करोड ८६ लाख राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली ४ करोड ५५ लाख पुगेको कार्यालयका सूचना अधिकारी उपाध्यायले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्