Shikhar Insurance

टेबल टेनिसको बल जस्तै ‘अर्थसचिव’: २ वर्ष नपुग्दै पाँचौं सरुवा, कसको स्वार्थमा हुन्छ अदल-बदल ?

सिंहदरबार संवाददाता
२०८० आश्विन १, सोमबार १३:२२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले अर्थसचिव परिवर्तन गरेको छ । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्जुन पोखरेलको ठाउँमा कृष्णहरी पुष्करलाई अर्थसचिव नियुक्त गरेको हो । प्रधानमन्त्री कार्यालयमा रहेका पुष्कर अर्थमा आएका छन् भने अर्थका पोखरेल प्रधानमन्त्री कार्यालय पुगेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले नै पोखरेललाई २०८० वैशाख २१ गते अर्थसचिव बनाएका थिए ।

मुस्किलले चार महिना काम गरेर पोखरेलले भदौ २९ गते अर्थ मन्त्रालयबाट विदा पाए । आफैंले रुचाएर ल्याएका अर्थसचिव पोखरेललाई चार महिना नपुग्दै सरुवा गर्नुपर्ने के कारण आइलाग्यो ? भन्नेबारे न अर्थमन्त्रीले केही बोलेका छन् न त सरकारले नै किन अर्थसचिव हेरफेर गरियो भनेर जवाफ दिएको छ । त्यसो त पोखरेल अघिका अर्थसचिव तोयम राय पनि मुस्किलले चार महिना अर्थसचिव बनेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिलेका अर्थसचिव पुष्करलाई विस्थापन गरी तोयम राय २०७९ पुस २२ गतेदेखि अर्थ मन्त्रालय भित्रिएका थिए । रायलाई पोखरेलले नै अर्थसचिव बनेको पाँच महिना नपुग्दै २०८० वैशाख २१ मा अर्थबाट उप राष्ट्रपति कार्यालय पठाई दिएका थिए । रायलाई अघिल्लो अर्थमन्त्री विष्णु पौडेलले अर्थसचिव बनाएका थिए । पौडेल हटेर डा. महत अर्थमन्त्री बनेपछि तोयमले विश्वास आर्जन गर्ने प्रयास गरेका थिए तर ‘लाइन नमिलेको’ भन्दै रायलाई हटाएर पोखरेललाई भित्र्याईयो । अहिले भने चार महिनाअघि लाइन मिलेर भित्र्याइएका उनै पोखरेलको पनि सरुवा भएको छ । त्यसो त पछिल्लो पटक अर्थ प्रशासनको अस्थिरता मधु मरासिनी अर्थसचिव बनेसँगै उत्कर्षमा पुगेको हो ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले शिशिर ढुंगानाको ठाउँमा मधु मरासिनीलाई २०७८ साउन १८ गते अर्थ सचिव बनाएका थिए। मरासिनीले मुस्किलले एक वर्ष अर्थसचिवका रूपमा काम गरे । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश र सीसीटिभी फुटेज काण्ड आएपछि मरासिनीले २०७९ साउन १९ गते सरुवा मागेर हिँडेका थिए । मरासिनीले सरुवा मागेर हिडेपछि तत्कालीन सरकारले २०७९ साउन १९ गते अहिलेका अर्थसचिव कृष्णहरी पुष्कर-त्यतिबेला राजश्व सचिव थिए)लाई अर्थ सचिवको पनि जिम्मेवारी दिएको थियो र त्यसको एक सातापछि अर्थात २०७९ साउन २६ गते पुष्करले अर्थसचिव बन्ने मौका पाएका थिए । २०७८ असार २४ गते सचिवमा बढुवा भएका पुष्करले एक महिनामै राजस्व सचिवका रूपमा अर्थ मन्त्रालय प्रवेश पाएका थिए । त्यसको एक बर्ष नबित्दै उनी अर्थ सचिव बन्न सफल भए ।

त्यसो त मरासिनीले तत्कालिन अर्थसचिव शिशिरकुमार ढुंगानालाई विस्थापित गरेर अर्थ सचिवको जिम्मेवारी प्राप्त गरेका थिए । ‘मन्त्रीहरु फेरिँदा सचिव फेरिनु नेपालका लागि सामान्य विषय बनिसकेको छ, तर एउटै मन्त्रीले चार पाँच महिनामै सचिव फेर्नु चाहिँ अलि अनौठौ विषय भयो, के खुबी देखेर ल्याएको हो ? के नमिलेर सरुवा गरिएको हो ?’, एक पूर्वअर्थसचिवले सिंहदरबारसँग भने । नेपालको निजामती प्रशासनलाई अस्थिर बनाउँदै त्यसको शाख नै कमजोर बनाउने गतिविधि पछिल्लो समय मौलाएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

पछिल्लो समय अर्थ सचिवहरुको सरुवामा राजनीतिक स्वार्थसहित व्यावसायिक घरानाहरु हावी हुन थालेका छन् । आफ्ना व्यावसायिक योजनाहरु नीतिगत तहबाटै निर्णय गराएर सम्पन्न गर्नुपर्ने देखिएपछि व्यावसायिक घरानाहरुको स्वार्थमा कर्मचारी प्रशासन चलाउने क्रमले तिब्रता पाइरहेको बताइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्