Shikhar Insurance

अर्थमन्त्रीको ‘परफरमेन्स’बारे शेरबहादुर देउवाको सोधीखोजी, कोर टिमले नै छाड्यो डा. महतको साथ

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार १०:५९
NIMB
Nabil Bank

काठमाडौं । सर्वत्र आलोचनाको पात्र बनिरहेका अर्थमन्त्री डा. प्रकाश शरण महतको परफरमेन्सबारे नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि सोधीखोजी सुरु गरेका छन् । आफुलाई भेट्न आउने उद्यमी व्यवसायी, कर्मचारीदेखि पार्टीका नेता कार्यकर्ताहरुसँग देउवाले अर्थमन्त्रीको परफरमेन्सबाट सोधीखोजी सुरु गरेका हुन् ।

तर देउवाले जिज्ञासा राखेका अधिकांशले भने अहिलेको सरकारमा सबैभन्दा अलोकप्रिय पात्र नै अर्थमन्त्री रहेको र त्यसले काँग्रेसलाई नोक्सानी पुर्याईरहेको गुनासो देउवासँग गरिरहेको स्रोत बताउँछ । त्यसो त देउवाको कोर टिममा पनि अर्थमन्त्रीको परफरमेन्सबाट निकै ठूलो गुनासो रहेको बताइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘अहिलेको क्याबिनेटकै कमजोर परफरमेन्स भनेको अर्थमन्त्रीकै हो, उहाँकै कारण काँग्रेस माथि चौतर्फी प्रश्न उठिरहेको छ’, सभापति देउवासँग भेट गरेका एक व्यवसायीले भने । अर्थमन्त्रीले कसैको पनि कुरा नसुनेको, अर्थ मन्त्रालयको टिम चलाउन नसकेको, उद्यमी व्यवसायीलाई थप चिढ्याएको भन्दै काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा कडा आलोचना भएको थियो ।

सुरुमा शेखर–गगन समुहका नेताहरु मात्रै अर्थमन्त्रीको विपक्षमा थिए । तर अहिले भने देउवा क्याम्पमै डा. महतको विकल्प खोजिहाल्नु पर्ने अन्यथा पार्टीलाई ठूलो क्षति हुने बिषयले प्राथमिकता पाउन थालेको छ । ‘अहिले त सभापतिको कोर टिममै पनि अर्थमन्त्रीको परफरमेन्सबाट गम्भिर प्रश्न उठिरहेको देखिन्छ, सभापति आफैंले पनि चासो देखाएर अब विकल्प खोज्ने हो भन्नु भएको छ’, स्रोतले भन्यो ।

त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेर बहादुर देउवाबीच अर्थमन्त्री र गृहमन्त्री नहटाउने हो भने गम्भिर परिस्थिति आउने बिषयमा पहिले नै एकमत रहेको थियो । काँग्रेस नेतृ आरजु राणाले ‘अर्थमन्त्रालय काँग्रेसले नै राख्नुपर्छ’ भनेको तर डा. महतका बिषयमा भने कुनै अडान नराखेको स्रोत बताउँछ ।

‘आरजु मेडमको कुरा अर्थमन्त्रालय काँग्रेसले राखेर अर्थतन्त्र सुधार गनुपर्छ भन्ने छ तर डा. महतको निरन्तरताका लागि उहाँको कुनै अडान देखिन्न ।’, स्रोतले भन्यो ।

डा. महतले अर्थतन्त्रका मेरुदण्ड मानिएको निजी क्षेत्रसँगको सम्बन्ध पुरै बिगारेका छन् । बैंकहरु सरकार विरुद्ध सर्वाेच्च अदालतको संबैधानिक इजलासमा पुगेर मुद्धा लडिरहेका छन् । मर्जर र एफपीओमा भूत प्रभावी कर लगाउने निर्णयमाथि सर्वाेच्च अदालतले कारण देखाउ आदेश दिईसकेको छ ।

उता, अर्थमन्त्री डा. महतले नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको नेतृत्वसँग सुधार्नै नसक्ने गरि सम्बन्ध बिगारेका छन् । बैंकहरुलाई ब्याजदरमा कार्टेलिङ गरेको भनेर गाली गरेका मन्त्रीले ब्याजदर खुला गराउन लगाए तर अहिले उनै मन्त्रीले फेरि ब्याजदर किन बढाएको भन्दै गाली गरिरहेका छन् ।

उता, अर्थमन्त्रालयको कर्मचारी प्रशासन इतिहासमै सबै भन्दै धेरै त्रसित अवस्थाबाट गुज्रिरहेको छ । अवस्था यस्तो बनिसकेको छ की अब महत्वपूर्ण कर कार्यालय तथा भन्सार नाकाहरुमा जानका लागि कर्मचारीहरु नै तयार देखिएका छैनन् । ‘कुनै बेला मलाई त्यहाँ पठाइदिनु पर्यो भन्दै आउनेहरुको लर्काे हुन्थ्यो, अहिले तपाई त्यहाँ जानुस भन्दा पनि कोहि तयार नहुने अवस्था बनेको छ’, अर्थमन्त्रालयका एक कर्मचारीले भने ।

त्यसो त कुनै कुराको सुनुवाई गरिदिनु पर्यो भन्दै अर्थमन्त्रालय आउने प्रतिनिधीहरुलाई मन्त्रीले उल्टै थर्काएर पठाउने गरेको आरोप छ । मर्जर र एफपीओको करबारे आफ्ना धारणा सुनाउन बाणिज्य बैंक र इन्स्योरेन्स कम्पनीका सीईओहरुलाई अर्थमन्त्री डा. महत र उनका आर्थिक सल्लाहकार डा. पोषराज पाण्डेले हप्काएर पठाएका थिए । ‘हिजो विज्ञप्ति निकालेर गाली गर्ने अनि आज आएर हामीलाई नै भेट्ने ? बार्गेनिङ गरेको की हामीलाई थर्काएको हो ? अब अदालत जानुस्, तपाईहरुका कुराको सुनुवाई हुँदैन’, सो भेटमा अर्थमन्त्री र सल्लाहकार पाण्डेको अभिव्यक्ति स्मरण गर्दै एक प्रतिनिधीले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्