Shikhar Insurance

ड्रागन फ्रुट खेतीमा सफल गौली, पहिलो वर्षमै १३ लाखबढी आम्दानी 

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार १६:०८
NIMB
Nabil Bank

तनहुँ । जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गरेकी कल्पना गौलीले पहिलो वर्षमै १० लाख आम्दानी गरेकी छिन्। विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गरेकी उनले ९ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गरेकी हुन्।

यस वर्ष करिब १० लाख बराबरको ड्रागन बिक्री गरिसकेको उनले जानकारी दिइन्। “अब बढीमा ३ लाखको बिक्री हुने अनुमान गरेको छु”, गौलीले भनिन्, “बढीमा तीन पटक फल दियो भने पहिलो वर्षको कूल आम्दानी १२ देखि १३ लाखसम्म हुन्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजार क्षेत्रमा खपत हुने गरेको उनले बताइन्। वैशाखमा फूल खेल्न सुरु हुने र ६० दिनभित्र खानायोग्य हुने जनाउँदै गौलीले मङ्सिरसम्म फल्ने बताइन्। दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा दोब्बर उत्पादन हुने ड्रागन खेती गर्दै आएका व्यवसायीले जानकारी दिएका उनको भनाइ थियो ।

“कतिपय व्यवसायी फार्ममा आएर ड्रागन लैजानुहुन्छ । कुनै समयमा आफैँले गाडीमा राखेर बजारसम्म लगेर बिक्री गर्ने गरेको छु”, गौलीले भनिन् । उत्पादित ड्रागन प्रतिकिलो ५ सयदेखि ६ सयसम्म बिक्री गर्ने गरेको उनले बताइन्।

करिब ९ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको किसान गौलीले जानकारी दिइन् । “गतवर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिएँ”, उनले भनिन्, “यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ ।”

सुरुमा करिब ८० लाख खर्च भएको भन्दै उनले त्यसमध्ये ४२ लाख ५० हजार खेतीमा लगानी गरिएको गौलीले बताइन्। “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायतका बहुआयामिक किसिमले खेती गरेको छु”, उनले भनिन्।

फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन्। एउटा पोलमा करिब १० हजारका दरले खर्च भएको उनको भनाइ थियो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै किसान गौलीले बिक्री गर्न नपाए पनि आफूहरुले चाख्न पाएको बताइन्।

ड्रागनका बिरुवा बिक्री 

किसान गौलीले यसवर्ष ३ लाख बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन्। प्रति बिरुवा २ सयदेखि ५ सयसम्ममा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन् ।

विज्ञको अभाव 

नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको किसान गौलीले गुनासो गरिन्। चसो मौसमा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ थियो ।

निमपत्ता, असुरो, तितेपाती, खिर्रो, बनमासा, सिमाली र गौमूत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको गौलीले सुनाइन्। “सोह्र वर्ष शिक्षण पेसा र १५ वर्ष दमौली बजारमा बुटिक व्यवसाय गरेकी थिएँ । अहिले ड्रागन खेतीसँगै व्यास–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छु”, उनले भनिन्। स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री तथा कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्