Shikhar Insurance

कानुन समितिबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको प्रतिवेदन पारित

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार १७:१२
NIMB
Nabil Bank

काठमाडाैं । कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधबार समितिले पारित गरेको हो।

उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन्। उनका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

तत्कालीन प्रचलित कानुनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको बताइन्।

उनले भनिन्, ‘मनी लाउण्डरिङको विषयमा छलफल भयो र त्यसमा उपसमितिले हिजो नै प्रतिवेदन बुझाएको थियो। उपसमितिले बुझाएको प्रतिवेदनमा थप छलफल गर्नुपर्ने विषयहरूमा छलफल गरेका छौं। अरू विषय उपसमितिले जे बुझाएको छ, त्यो नै विषय पास गर्‍यौं र सहकारीको विषयमा विधेयकको दफा १८ को उपदफा २ झिक्ने वा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय हटाउने।’

उनले अगाडि भनिन्, ‘क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर कि ३ किलोमिटर गर्ने भन्ने विषय थियो, त्यो विषयमा तत्कालीन प्रचलित कानुनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरूको सन्दर्भमा त्यो कायम राख्ने र तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूले अब तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने। अब बन्ने नयाँ क्यासिनोहरूको हकमा ५ किलोमिटरको सीमा कायम गर्ने।’

समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्