Shikhar Insurance

भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार १४:४७
NIMB
Nabil Bank

भादगाउँ । भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन् ।

केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेको बताउँछन्।

Citizen Life
Kumar Bank
Nepal Life

धान खेती हुने क्षेत्रहरु मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपोडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न किसानलाई भ्याई नभ्याई छ । भक्तपुर नगरका नपुखु क्षेत्र, ल्योसिख्यो, भीमसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान सुकाउने कार्यमा व्यस्त देखिन्छ ।

यहाँका किसानले खुमल–६, खुमल–११, स्थानीय जातको ताइचिन र मन्सुलीका साथै डिवाई हाइब्रिड धान लगाउँदै आएका छन् । बढी फल्ने भएपछि किसान हाइब्रिड धानतर्फ आकर्षित भएका हुन् । यो धान एक रोपनी खेतमा १२ देखि १४ मुरीसम्म फल्छ ।

भक्तपुर देशकै औसतमा उच्च धान फल्ने जिल्ला भए पनि बढ्दो आवादीका कारण खेतीयोग्य जमिन घटेसँगै धान खेती पनि घट्दै गएको छ । हाल जिल्लामा दस हजार दुई सय ४० हेक्टर खेतीयोग्य जमिन छ । तीमध्ये तीन हजार नौ सय २४ हेक्टर जमिनमा धानखेती गरिने र वार्षिक १९ हजार सातसय मेट्रिकटन धान उत्पादन हुने जिल्ला कृषि कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्