Shikhar Insurance

सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ- पूर्व अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार २१:१६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताएका छन् । तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको आरोप पनि उनले लगाए । उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए ।

उनले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताए । पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

रुपन्देही उद्योग सङ्घको ४५औँ साधारणसभा तथा २३औँ अधिवेशनको बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले चासो नदिएको बताए । उनले सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेकोसमेत बताए ।

“सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ”, उनको आरोप छ ।

मुलुकको आर्थिक सङ्कटका कारण पूँजी पलायन हुँदै गएको र भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको उहाँको भनाइ थियो । अहिले देशका उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको उनले बताए । उनले भने, “उद्योगहरुमा उत्पादन घटेकाे छ, माग, आपूर्ति पनि घटेको छ ।” उनले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए ।

यस्तै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताए ।

उनले बैंक तथा वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले आर्थिक सङ्कटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा सङ्कट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको बताए । सो कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार २०७८ पत्रकार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु ४५ हजार ५५५ सहित सम्मान पत्र रहेको छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्