Shikhar Insurance

‘म पैसा कमाउन हैन देश बनाउन आएको हुँ, मसँग चाकडीको भाषा बोल्नुपर्दैन’

जनार्दन शर्मा, अर्थमन्त्री
२०७८ असार ३०, बुधबार १५:४२
NIMB
Nabil Bank

म तपाईंहरुसँग सहकार्य गर्न, नेपालको अर्थतन्त्रको समस्या बुझ्न, आफ्नो इच्छाशक्ति र क्षमताले सकेसम्म गति प्रदान गर्न, गरिबीको मारमा परेका जनता तथा उत्पीडन खेपिरहेका श्रमिकलाई राहत पुर्‍याउन, व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा मल्हम लगाउन, कोभिड सिर्जित समस्या समाधान गर्न भुमिका खेल्ने तपाईंहरुले गरिरहेको कामलाई अनुगमन, निर्देशन र सहयोग गर्न आएको हुँ । यो मन्त्रालय तपाईंहरुले निरन्तर चलाइरहनु भएको छ । मैले साथ दिनेछु । गतिशीलता प्रदान गर्नेछु ।

नेपालको आर्थिक स्थिति हामी सबैलाई थाहै छ । यसलाई कसरी सबलीकरण गर्ने भन्ने प्रश्न मुख्य कुरा हो । त्यसकारण सबैभन्दा पहिला म के भन्न चाहन्छु भने तपाईंहरुको निष्ठा, इमानदारिता, पारदर्शिताबाट हामी अर्थ मन्त्रालयको काम र नेपाल सरकारको उद्देश्यलाई अघि बढाउन सक्छौं । प्रधानमन्त्रीज्यूको भिजन र उद्देश्यलाई कार्यान्वयन गर्न सक्छौं । त्यसमा तपाईंहरुको साथ र सहयोगको अपेक्षा गरेको छु ।

Citizen Life
Kumar Bank
Nepal Life

मलाई अनुहार चाहिँदैन । मलाई जात चाहिँदैन । मलाई झण्डा पनि चाहिँदैन । मलाई काम चाहिन्छ । आफ्नो क्षेत्र र आफूले पाएको जिम्मेवारीमा कामलाई कसरी अघि बढाउने ? कसरी प्रभावकारी बनाउने ? र, कसरी पारदर्शी बनाउने ? जनताका लागि केही न केही योगदान कसरी गर्ने ? भन्नेमात्र मेरो प्रतिबद्धता हो । यो मेरोमात्र नभएर यहाँहरु सबैको साझा प्रतिवद्धता हुनुपर्छ र हुनेछ भन्ने विश्वास मेरो छ ।

तपाईंहरु यहाँको मुख्य संवाहक हो । म, सारथीमात्र हुँ । यसकारण तपाईंहरुको भुमिका महत्वपूर्ण छ ।

हामीले विगत ६५ वर्षदेखि योजनावद्ध विकास लागु गर्दे आएका हौं । धेरैवटा बजेट कार्यक्रम सञ्चालन भएका छन् । तर, देशको आर्थिक विकास उत्साहप्रद र आवश्यकताको स्तरअनुसार नभएको सबैलाई विदितै छ । आजको चुनौती र जनअपेक्षा भनेको कसरी विकासलाई जनअपेक्षा अनुरुपको स्तरमा पुर्‍याउने भन्ने हो । यही मर्मअनुसार काम गर्नु साझा अभिभारा, साझा उद्देश्य हो । मेरो पहिलो एजेन्डा यसैमा केन्द्रित हुन्छ ।

तपाईंहरुको तथा नेपालका अर्थ क्षेत्रका सबै विज्ञहरुको ज्ञान, योग्यता, शिक्षा तथा जनताका आवश्यकतालाई एकाकार गरेर अघि बढाउने प्रतिवद्धता गर्नुपर्ने छ ।

कोभिडको महामारीले अर्थतन्त्रलाई आक्रान्त बनाएको छ । अर्थतन्त्रलाई र आर्थिक गतिविधिलाई कसरी पुनर्जीवीत गर्ने ? कसरी सुदृढ गर्ने ? भन्ने चुनौती हाम्रो अगाडि छ ।

यी चुनौती सामना गर्न निजी तथा सरकारी क्षेत्र, विभिन्न क्षेत्रमा छलफलका साथमा हामीले मार्गचित्र तयार गर्नु छ । त्यसका लागि कोभिडको महामारीलाई निराकरण गर्न स्रोत साधानको सदुपयोग तथा सीघ्र व्यवस्थापन आजको राष्ट्रिय आवश्यकता हो । कोरोनाविरुद्धको खोप सबै सर्वसाधारणलाई उपलब्ध गराउनेबारे हाम्रो नयाँ मन्त्रिपरिषदले निर्णय पनि गरिसकेको छ ।

आर्थिक समृद्धिका लागि बहुआयामिक क्षेत्रलाई प्राथमिकिकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । हाम्रो आर्थिक वृद्धिदर कमजोर अर्थात् कोभिड महामारीमाझ ४ प्रतिशत छ । यतिबेला ८ प्रतिशत हुनुपथ्र्यो । कमजोर आर्थिक अवस्थाका माझ सानो अंकको आर्थिक वृद्धिदरले संकटमा रहेको संकेत गर्छ । यो राष्ट्रिय संकटबाट कसरी मुक्त हुन सक्छौं ? भन्ने चुनौती हामीकहाँ छ । यसमा हामी गृहकार्य गर्नेछौं र योजना बनाउँदै छौं ।

बजेट खर्चको स्थिति संशोधित लक्ष्यहाराहारीमा पुग्दै गरेको स्थिति छ । हाम्रो सरकारी आयले खर्च धान्न गाह्रो छ । यसका लागि पनि योजना बनाउनुपर्ने आवश्यकता छ । खर्च गर्ने स्रोतको उपलब्धता समयमै गराउन सक्ने र रकमको कमी हुन नदिने स्थिति बनाउन अर्थ मन्त्रालयले के भुमिका खेल्ने ? सोच्नुपर्छ ।

निर्धारण गरेको पुँजीगत खर्चको समस्या छ । असारमा बढी खर्च हुने प्रचलन सुधार कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्दै छौं ।

व्यापार घाटा डरलाग्दो स्थितिमा रहेछ । व्यापार घाटालाई सामान्य तरिकाले सन्तुलन गर्न सक्ने अवस्था छैन । विशेष सुधार अभियान आवश्यक हुन्छ । राज्यको, राजनीतिको, नीति निर्माताको, समग्र नागरिकको एउटा संकल्पबाट मात्र व्यापार घाटा सुधार गर्ने अभियानलाई सफल बनाउन सक्छौं । सामान्य तरिकाले सन्तुलनमा ल्याउन सक्ने स्थिति छैन ।

कृषि क्षेत्रमा राम्रो प्रगति भएको देख्दैनौं । कृषिमा प्राथमिकता हुनुपथ्र्यो । हामीले जोडबल गर्नुपथ्र्यो, कृषकलाई प्रोत्साहित गर्नुपथ्र्यो । प्रविधि तथा क्षमताद्वारा उत्पादन वृद्धि गर्नुपथ्र्यो । त्यतातिर पर्याप्त ध्यान गइरहेको देख्दिनँ ।

उद्योगले देशको गाहस्थ उत्पादनमा भनेजस्तो योगदान गर्न सकिरहेको छैन ।

हामी सम्भावना र चुनौतीका माझमा छौं । विशाल जनसंख्या भएका दुई देशको बीचमा हुनु अर्थतन्त्रलाई अघि बढाउन सक्ने सम्भावना हो ।

त्यसो हुँदाहुँदै उद्योगमा प्रगति गर्न सकिरहका छैनौं । निजी क्षेत्रमा निरासा हुने अवस्था त्यतिकै छ । उहाँहरुको गुनासो के छ ? सरकारले सम्बोधन गर्नुपर्ने विषय के हो ? त्यतातिर गम्भीरतापूर्वक छलफल गर्नु छ ।

त्यसैगरी पुँजीबजारलाई उत्साहित बनाउने कुरामा, लगानीका अवसर सिर्जना गर्ने विषयमा हाम्रो ध्यान पुर्‍याउन जरुरी छ ।

यी सबै समस्या समाना गर्न हाम्रो संकल्प, प्रतिवद्धता, पारदर्शिता इमानदारिता आवश्यक छ ।

त्यसको नेतृत्व अर्थ मन्त्रालयले गर्न सक्यो भने गुणात्मक प्रगति हासिल गर्न सक्छौं । विद्वानहरुले भने झैं राष्ट्र निर्माणका लागि संस्थागत सबलीकरण मुख्य कुरा हो । संस्थालाई सक्षम नबनाएसम्म प्रगतिको कुनै पाइला चाल्न सक्दैनौं । अर्थ मन्त्रालय आफैं एउटा संस्था हो । आफू र आफू मातहतका संस्थाको सबलीकरण कसरी गर्ने ? आर्थिक दृष्टिले मात्र होइन । हाम्रा गतिविधि, हाम्रा नीति, कार्यक्रम, राष्ट्रप्रतिको जिम्मेवारी आत्मनिर्भरताका लागि हामीले गर्नुपर्ने योगदान, तमाम कुरा पर्लान् । आज हाम्रो मुख्य कार्यभार संस्थालाई बलियो बनाउने हो, क्षमतालाई उजागर गर्ने हो । यस्ता विषयमा जोड दिन आवश्यक छ ।

तपाईंहरुको ज्ञानको अगाडि मैले भनेका विषय सामान्य हो । तर, तपाईंहरुको ज्ञान र मेरो मनमा लागेका कुराबीच कति तादम्यता छ भन्ने जान्नका लागि मैले यी विषय उठाएको हुँ । हामीले, एकले अर्कालाई बुझेनौं भने, अनुहारको परिचित हैन, उद्देश्यको, संकल्पको, प्रतिवद्धताको परिचित भएनौं भने हाम्रो संस्था बलियो हुँदैन । म तपाईंहरुले दिएको सुझाव नै कार्यान्वयन गर्नेछु ।

के गर्दा राम्रो हुन्छ ? भन्ने तपाईंहरुले दिएको सल्लाहबमोजिम नै मैले नेतृत्व गर्ने छु ।

मलाई तयार पार्ने काम तपाईंहरुको हो । तपाईंहरुले नसोचिकन मैले गरेर केही हुँदैन भन्ने मलाई थाह छ । त्यसकारण म विश्वस्त छु कि तपाईंहरुको ठीक दिशामा अघि बढ्नु हुने छ । आफ्नो विभाग र फाँटहरुमा उच्च प्रतिफल दिने काम गर्नुहुने छ ।

हामी कति गरिब भएर बाँच्ने ? साधान स्रोतको सम्पन्नता माझ कहिलेसम्म गरिब हुने ? हामीले नै गरिबी अन्त्य गर्न सक्छौं । हामी संकल्प र अठोट ग¥यौं भने छोटो समयमा गरिबी अन्त्य गर्न सक्छौं । समृद्धिलाई जग हाल्न सक्छौं । उज्यालो प्रकाश दिन सक्छौं । यस्तो अवसर तपाईं हामीमा छ । हामीले सुरुवात गरे देश बन्छ । समृद्धि छाउँछ । व्यापार घाटा अन्त्य हुन्छ । हामी किन नगर्ने ?

देश समृद्ध भयो भने व्यक्तिगत रुपमा समृद्ध हुनु पर्दैन ।

मेरो मान्यता के छ भने व्यक्तिगत रुपमा धनी हुनु आवश्यकता हैन । व्यापारिक क्षेत्रका प्रतिस्पर्धीको आफ्नै बुझाइ होला । तर, राजनीतिक क्षेत्र र प्रशासनिक क्षेत्र व्यक्तिगत रुपमा धनी हुनु आवश्यक छैन । संस्थागत रुपमा वा देशलाई धनी बनाऔं । देश धनी भए, हामी धनी भएको होइन र ?

यसमा हाम्रो कुरा मिल्न सक्छ ? मलाई विश्वास छ, मिल्छ ।

यो समय, यो मन्त्रीपद संयोगवस प्राप्त गरेको हुँ । मलाई जिम्मेवारी दिनेहरुप्रति म आभारी छु । उहाँहरुको विश्वास मर्न नदिन तपाईंहरुको साथ चाहिन्छ । मेरो कुनै स्वार्थ छैन । राष्ट्रका लागि केही गर्न सकिन्छ कि भन्ने प्रयत्नमात्रै हुनेछ, मेरो ।

त्यसमा हाम्रो कदम मिल्नुपर्छ । साथीभाइ हो, हामी । मन्त्री भन्दैमा ठूलो दुरी राख्नुपर्छ भन्ने मेरो बुझाइ छैन । मसँग चाकरीको भाषा बोल्नुपर्दैन । परम्परा मान्नुपर्दैन । दाजुभाइको नातामा सहकार्य गर्ने हो । कहाँ समस्या छ ? कहाँ समाधान छ ? कहाँ क्षमता छ ? सबै उपयोग गर्ने हो ।

तपाईंहरुलाई हौसला दिने, तपाईंहरुले गरेको कामलाई गति दिने मेरो जिम्मेवारी हो । यो मन्त्री पद सँधै मसँग रहिरहँदैन । यसो एउटा पाइला चाल्यो अर्को मन्त्री भइहाल्छ । हिजोसम्मको मन्त्रीले के पाइला चाल्दै हुनुहुन्थ्यो । आज उहाँ हुनुहुन्न ।

अब देश यसरी बन्दैन । राजनीतिक पार्टीहरुले आफ्नो स्वार्थ मात्र हेरेभने देश बन्दैन । अहिले वृहत र दीर्घकालीन सहकार्य आवश्यक छ भन्ने यी बीचका काम कारबाही र गतिवधिले महसुस गराएका छन् । हामीले दीर्घकालीन रुपमा वृहत राष्ट्रिय सहमति बनाएर, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता गरेका छौं ।

आगामी दिनमा त्यसलाई हामीले पुरा गर्नुपर्ने छ । अहिलेकै तरिकाले हुँदैन । एउटा व्यापाक सुधार अभियान आवश्यक छ । सुधार समग्र क्षेत्रको हुनेछ ।

गहिरो जरा गाडेको भ्रष्टाचारको समस्या छ । ती समस्या माथिप्रहार गर्न सक्छौं कि सक्दैनौं ? आज यो कुरा जनताले नियालीरहेका छन् ।

भ्रष्टाचारको समस्यामाथि प्रशार गर्न सक्नुपर्छ । काममा ढिलासुस्तीका समस्या छन् । काम समयमा गर्न सक्ने, छिटोछरितो प्रशासनिक क्षमता र प्रक्रिया मिलाउन सक्छौं कि सक्दैनौं ? आज जनताले यो हेरिरहेका छन् ।

हाम्रो स्रोत साधन ठीक ठाउँ प्रयोग गर्ने विधि हामी तय गर्न सक्छौं कि सक्दैनौं ?

यिनै विषयमा तपाईंहरुसँग छलफल गरेर योेजना निर्माण गर्नेछौं । बजेट लगायतका विषय छन्, अदालतले केही कुरा बोलिसकेको छ । त्यसमा पनि हामी बिचार गर्नेछौं ।

नयाँ सरकारको आवश्यकताको कुरा पनि छ । सरकारको भिजनको कुरा पनि छ । बजेटको सन्दर्भमा छलफल गर्नुपर्ने नै छ । हामीसँग धेरै ठूलो जिम्मेवारी छ ।

म अर्थशास्त्रको विज्ञ होइन, विश्वविद्यालयमा ठूलो अध्ययन गरेर आएको व्यक्ति पनि होइन । तर, समस्या कहाँ छ त्यसको पहिचान गर्न सक्छु । तपाईंहरुको सहयोग चाहिन्छ ।

सामान्य क्षमता र ज्ञान भएको साथी पाउनु भएको छ । तपाईंहरुले मलाई कति परिचालन गर्न सक्नुहुन्छ । कति सहयोग गर्न सक्नुहुन्छ । त्यसले तपाईं हाम्रो साझा पहलमा उपलब्धि दिन सक्छौं ।

जनतामा ठूलो आशा छ । केही सुधार केही प्रगति हुनेछ भन्ने अपेक्षा जनताले गरेका छन् ।

हरेक वर्गले विश्वासको आँखाले हेरिरहेका छन् । व्यवसायी व्यापारीले विश्वासका साथ हामीतर्फ फर्किएका छन् । यी सबै विषयमा गम्भीरतापूर्वक सहकार्य गरौं ।

मन्त्री भएकाले आफ्नै क्षमताले सही गर्छु भन्ने मात्र नभएर म सबैका सुझावलाई, समेत एकठाउँमा राखेर नीति निर्माणको प्रतिवद्धता व्यक्त गर्छु । राष्ट्रको आवश्यकता र जोड दिनुपर्ने बेला हो यो । कोभिडको संकटबाट मुक्ति दिने हो ।

(अर्थमन्त्री शर्माले बुधबार कार्यभार सम्हाल्दै व्यक्त गरेको भनाई)

GBIME

प्रतिक्रिया दिनुहोस्