Shikhar Insurance

बाँसखर्कका सुन्तला ढुवानी गर्न सडक मर्मत गरिँदै

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १७:२८
NIMB
Nabil Bank

पर्वत । स्वादिलो सुन्तलाको राजधानीका रुपमा परिचित पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क पुग्ने सडक मर्मत गर्न थालिएको छ । जीर्ण सडकका कारण सुन्तला ढुवानीमा समस्या भएपछि जलजला गाउँपालिकाले सडक मर्मत थालेको हो ।

बाँसखर्कमा यस वर्ष झण्डै ११ करोडका सुन्तला उत्पादन भएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक मर्मत गर्न थालिएको हो । स्काभेटरले साँघुरो ठाउँमा चक्ल्याउने, खाल्डाखुल्डी पुर्ने र ठूला ट्रकसमेत सजिलै सुन्तला बगानसम्म जान सक्नेगरी मर्मत कार्यलाई अघि बढाइएको उपाध्यक्ष आचार्यले बताए । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई ढुवानीमा समस्या भएको थियो । सडक मर्मतपछि स्थानीयरुपमा सञ्चालित र बाह्य क्षेत्रबाट सुन्तला लिन आउने सवारीसाधन सजिलै बाँसखर्कसम्म पुग्न सक्ने भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थानीय अगुवा कृषक जगतबहादुर खत्रीका अनुसार ढिलै भए पनि गाउँपालिकाले सडक मर्मत गरेपछि सहज हुने भएको छ । यहाँका सुन्तला यस वर्ष काठमाडौंको कालीमाटी, चितवनको मुग्लिन र पोखराका व्यापारीले खरिद गरेका छन् । कतिपयले सुन्तला टिपेर ढुवानी गरिसकेका छन् भने कतिपयले कृषकसँग सम्झौता गरेपछि सुन्तला टिप्न आइनपुगेका कृषक खत्रीले बताए ।

बाँसखर्कमा ढिलो गरी पाक्ने भएकाले माघ दोस्रो सातापछि मात्रै बजार पठाउन थालिएको छ । अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको प्रयोग हुँदै आएको छ । जीर्ण सडकका कारण ठूला ट्रक र टिपर गाउँसम्म जान नसक्ने अवस्था थियो । सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएपछि आफ्नै स्काभेटरले मर्मत गरेर सहज बनाउन थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । उनका अनुसार जलजला–२ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्रे गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत भइसकेको भए पनि बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन नसकेको हो ।

यसअघि विसं २०७७ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना स्वीकृत गरेर अर्थमन्त्रालयमा पठाएको भए पनि बजेट विनियोजन हुन सकेको छैन । करिब १० किलोमिटर लामो उक्त सडकको कुल लागत २२ करोड लाग्ने अनुमान गरिएको थियो । बर्सेनि फल्ने करोडौँका सुन्तला सडकका कारण ढुवानीमा समस्या भएको वडाध्यक्ष जकबहादुर रोकाले बताए । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आर्थिक वर्षमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए । मिलनचोक–माझफाँट–बाँसखर्क सडकको लागि १ करोड विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्रे हुने उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्