Shikhar Insurance

भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै काभ्रेका सुरेन्द्र

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १३:५५
NIMB
Nabil Bank

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त छन् । ‘शु–कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन गर्दै आएका थापाले दूध बेचेर दैनिक २० देखि २५ हजारसम्म आम्दानी गर्दै आएको छ ।

घर नजिकै फार्म सञ्चालन गरेका सुरेन्द्रले दैनिक दुई सय ५० देखि दुई सय ६० लिटरसम्म दूध बिक्री गर्छन् । परिवारका सबैले फार्ममा सहयोग गरेका छन् । उनका अनुसार एक जनाले रोजगारीसमेत गरिरहेका छन् । पाँच वर्ष अगाडि सुरेन्द्रले सुरु गरेको फार्ममा अहिले २० भैँसी र सात गाई गरी २७ वटा चौपाया छन् । तीन भैँसीबाट फार्म सञ्चालन गरेको भन्दै उनले करिब १२ लाखमा लगानी भएको जानकारी दिए । उनले फार्म निर्माण, व्यवस्थापनलगायत काममा हालसम्म ५० लाख खर्च भएको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

फार्म सञ्चालन गर्नुअघि इराकमा दुई वर्ष बसेर फर्किएको सुनाउँदै सुरेन्द्रले गाउँमा व्यावसायिक फार्म सुरु गरेको बताए । थापाले भने,“भैँसी पाल्न सुरु गर्नुअघि गाउँमा दुई हजार पाँच सय कुखुरा, दुई वटा गाई पालेको थिएँ । साथै तरकारी खेती पनि गरेको थिएँ । पछि व्यावसायिक रुपमा फार्म सञ्चालन गरेर पशुपालनलाई विस्तार गर्दै लगेको हुँ ।” फार्मबाट मनग्य आम्दानी भए पनि गाईभैँसीलाई खुवाउने दाना, घाँस, पराललगायत खाद्यान्न सामग्री किन्नुपर्ने भएकाले अझै सोचेजस्तो फाइदा लिन नसकेको सुरेन्द्रको गुनासो छ । “बजारमा बसेर फार्म सञ्चालन गर्न कठिन छ । सबैचिज किनेर पूर्ति गर्नुपर्छ । दुःख गरे अनुसार थोरै फाइदा भइरहेको छ । यसैमा खुसी छौँ ।” उनले भने ।

आफ्नै जग्गामा फार्म सञ्चालन गरेकाले जग्गाको भाडा तिर्नुपर्ने समस्या नभएको सुरेन्द्रको भनाइ छ । उनले बेलाबेलामा विभिन्न रोगले सङ्क्रमण हुने भएकाले पशु प्राविधिकको सहयोग लिनुपर्ने, औषधि गर्नुपर्नेलगायत समस्या आउने गरेको उनले बताए । नगरपालिकाले २० वटा भैँसीको बीमा गरिदिएको र सात गाईको बीमा गर्न बाँकी रहेको सुरेन्द्रले सुनाए । थापाले सरकारलाई लषित गर्दै भने,“वास्तविक किसानलाई राज्यले थोरै भएपनि सहयोग गरिदिए धेरै राहत पुग्छ । कमाई भएको रकम फार्ममा नै लगानी गरेर बढाउँदै लगिरहेकाले अझै धेरै विस्तार गर्न बाँकी छ ।”

फार्मबाट उत्पादन भएको गोबरलाई प्रयोग गरेर गोबर ग्यास निकाल्न आवश्यक तयारी भइरहेको सुरेन्द्रले जानकारी दिए । व्यवसायबाट छोराछोरीलाई पढाउन, घरखर्च चलाएर र अलिअलि बचत गर्न पुगेको सुरेन्द्रकी श्रीमती लक्ष्मी थापाले बताईन् । गाउँमै व्यवसाय गर्न, घरपरिवारसँगै काम गर्न मिल्ने, आवश्यक परेमा छिमेकीसँग ऋण माग्न पनि सकिने भएकाले आम्दानीका लागि विदेश नै जानु नपर्ने उनको भनाइ छ ।

फार्ममा खोले पकाउने, दूध दुहुनेलगायत काम गर्दै आएका धनबहादुर न्यौपानेले फार्ममा रोजगार गर्न थालेदेखि जीविकोपार्जनमा सहज भएको बताएका छन् । बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारीले युवापुस्ता विद्यालय तहको अध्ययन सकिएपछि विदेशतिर जाने लहर चलिरहेको अवस्थामा युवाले थालनी गरेको काममा नगरपालिका र वडाको तर्फबाट सहयोग गर्दै आएको बताए । न्यौपानेले युवालाई व्यावसायिक फार्म सञ्चालनमा सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्