Shikhar Insurance

माछापालनबाट मासिक डेढ लाख आम्दानी गर्दै राजभण्डारी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १२:३२
NIMB
Nabil Bank

सल्लेरी । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् । यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिए । कुनै समय अवसर खोज्दै विदेश पुगे । विसं २०६७ मा रोजगारीका लाग मलेसिया पुगेका उनले त्यहाँ करिब तीन वर्ष पसिना बगाए ।

उनलाई लाग्यो, त्यहाँ बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिन्छ । यही सोचले स्वदेश फर्किएका राजभण्डारी यतिबेला गाउँमै माछापालनमा रमाएका छन् । राजभण्डारीले भने,“जागिरको खोजीमा म विदेश जाँदिन । एकपटक अञ्जानमा विदेश गइयो । विदेश के रहेछ र त्यहाँको दुःख के हो भन्ने बुझ्नै मौका पनि मिल्यो । अहिले स्वदेशमै पुग्दो छ ।” राजभण्डारीले माछापालनबाट मासिक सबै खर्च कटाएर १ लाख ५० हजार बचत भइरहेको बताए । “दैनिक औसतमा १५ हजारको कारोबार हुन्छ । त्यसबाट ५ हजार जति बचत हुन्छ”, उनले भने । सोलुदुधकुण्ड नगरपालिका-४ रोक्दिङमा करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा ‘ट्राउट’ माछापालन गर्दै आएका राजभण्डारीसँग अहिले ४० हजारभन्दा बढी माछाका भुराहरु छन् । उनले माछापालनका लागि दश वटा पोखरी निर्माण गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने,“विदेशबाट फर्किपछि अन्य काम गरिरहेको थिए । कमाइ पनि ठिकै थियो । कोरोना महामारीका कारण बन्दाबन्दी लागू भएपछि भने आम्दानी ठप्प भयो । सबै काम ठप्प भएपछि माछापालनको योजना बनाएको हुँ । सोलु जस्तै चिसो ठाउँमा माछापालन हुन्न भन्ने धेरै थिए” । राजभण्डारी अहिले दैनिक १८ घण्टासम्म माछापालनमै रमाउँछन् । विस २०७७ सालबाट सुरु गरेको माछापालनमा हालसम्म १ करोड लगानी भइसकेको छ । उनले माछापालनसँगै रोक्दिङमा होटल पनि सञ्चालन गरिरहेका छन् । माछा खरिद गरी लैजाने भन्दा पनि माछाका परिकार खान आउनेहरु धेरै रहेको उनको भनाइ छ । सदरमुकाम सल्लेरीबाट ट्राउट माछा खान आउनेहरु धेरै रहेको उनले सुनाए ।

चिसो ठाउँमा हुर्किएको माछा उपभोक्ताले बढी रुचाउने गरेको राजभण्डारीको अनुभव छ । हाल जिल्लाको अन्य चार स्थानमा पनि व्यावसायिक माछापालन भइरहेको छ । तामाखानी, बेनी, साल्मे, सल्लेरीमा ट्राउट माछापालन भइरहेको हो ।

बजारको चिन्ता छैन
यहाँ उत्पादन हुने माछा जिल्लामै खपत हुने गरेको छ । राजभण्डारी माग नै धान्न नसकिने अवस्था रहेको बताउँछन् । यहाँ उत्पादन भएका माछाले माग धान्न नसकेर कतिपय होटलहरुमा बाहिरबाट समेत माछा ल्याउने गरिएको उनले बताए । फार्ममा राति आउने सालकले एकैपटकमा धेरै माछाहरु मार्ने गरेको भाइकाजी राजभण्डारीको भनाइ छ ।

“केही हप्ता अघि मात्रै मेरो फार्ममा एकै पटक एक सयभन्दा बढी माछाहरु टाउको नभएको अवस्थामा भेटिए । हामी अचम्ममा पर्‍यौँ । पछि सिसी क्यामरा राखेपछि पोखरीको माछा सालकले खाने गरेको भेटियो ।” उनले भने । रातको समयमा खोलाबाट आउने सालकले पोखरीमा प्रवेश गरी माछाको टाउको खाने गरेको पाइएको उनले बताए । सालकले माछाको टाउको मात्रै खाने गरेको व्यवसायी कमल मगर बताउँछन् । राजभण्डारीले सिसि क्यामेरामा साइरन जडान गरेको र केही वस्तु पोखरीमा छिर्ने वित्तिकै साइरन बज्ने गरेको सुनाए । माछापालनमा वर्षातको समयमा आउने भलले पनि समस्या हुने गरेको छ ।

जिल्लामा ट्राउटका लागि आवश्यक दाना ढुवानी चुनौतीपूर्ण छ । जिल्लामा दाना उत्पादन नहुने र दानाका लागि काठमाडौंबाट ल्याउनुपर्ने हुँदा महंगो पर्ने गरेको छ । काठमाडौंबाट दाना आयात गर्दा प्रतिकिलो २ सय ६६ पर्ने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्