Shikhar Insurance

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार ११:३५
NIMB
Nabil Bank

इलाम । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।

स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत जिल्लाका पर्यटक सिमसार र पोखरी र अलोलकन गर्न आउने गरेको सिमसार संरक्षण समितिका अध्यक्ष करसिंह राई बताए । पोखरीमा डुङ्गा सञ्चालन गरेपछि पर्यटक आउन थालेका उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले पोखरीमा दुईवटा डुङ्गाको व्यवस्था गरेको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुङ्गा चलाउन थालिएको समितिका अध्यक्ष राईले बताए ।

पोखरीमा डुङ्गा चलाउन सुरु गरेसँगै यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ, अन्य ठाउँमा पोखरी सुक्दै गइरहेको भए पनि यो पोखरी दिनानुदिन फस्टाउँदै गएको छ अध्यक्ष राईले भने डुङ्गाबाट पोखरीको सबै क्षेत्र घुम्न सकिन्छ, यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने बढेका छन् । पर्यटक प्रतिव्यक्ति रु एक सयको टिकट काटेर नौका विहारमा रमाउने गरेका छन् ।

तेह्रकुने सिमसार र पोखरी अवलोकनका लागि दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका स्थानीय पर्वत राईले बताए । शनिबार र सार्वजनिक बिदाका अन्य दिन पोखरी घुम्न आउने पर्यटकको भीडभाड हुने गरेको छ, पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ उनले भने सिजनको बेला वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।

तेह्रकुने सिमसार क्षेत्र पुग्ने सडक विस्तारसँगै पर्यटकलाई सहज भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तेह्रकुने सिमसार क्षेत्रलाई थप व्यवस्थित गरिने अध्यक्ष राईले बताए । इलाम सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा पर्ने तेह्रकुने सिमसार क्षेत्र स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियाताका कारण आकर्षक गन्तव्यका रुपमा विकास भएको हो ।

विगत एक दशकदेखि स्थानीयले संरक्षण गरेको सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ । सिमसार क्षेत्र तीन सय रोपनी भएपनि पोखरी क्षेत्र भने एक सय रोपनीमा सीमित छ । नागबेलीजस्तो देखिने १३ वटा कुना भएकाले यसको नाम तेह्रकुने राखिएको अध्यक्ष राईले बताए ।

वरिपरिको हरियाली, डाँडाकाँडा र वनजङ्गलले पोखरीको सौन्दर्य थपेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ साँच्चै आकर्षक छ । विशेष गरी आदिवासी राई समुदायको बसोबास रहेको यो क्षेत्रमा उनीहरूको सांस्कृतिका बारेमा पनि जान्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्