Shikhar Insurance

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १३:५९
NIMB
Nabil Bank

काठमाडौं । टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाहिर बिहानैदेखि लामो लाइन छ । सोमबार झिसमिसेमै यहाँ आइपुगेकाहरुको घाम चर्कँदासम्म पनि पालो आइपुगेको छैन ।

सोमबार बिहानै ६ बजे स्वयम्भूबाट यहाँ आइपुगेकी ५० वर्षीय उमा श्रेष्ठ हातमा टोकन लिएर पालो कुर्दै बसेकी छिन । ‘झिसमिसेमै आइपुग्दा पनि लाइन लामो भइसकेको थियो, टोकन लिएर पालो कुरिरहेकी छु’ उनले भनिन् । स्वास्थ्यमा खासै समस्या नभए पनि नजिककाहरुले टेकुको प्रयोगशालामा राम्रो छ भनेपछि परीक्षण गरौँ न त भनेर यहाँ आएको उनले सुनाइनन् । ‘म त नियमित योगा गर्छु । खासै बिरामी पर्दैन । तै पनि शरीरमा कुनै रोग छ कि भनेर स्वास्थ्य परीक्षण गर्न आएकी हुँ’ उनले भनिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

टोकन लिएर उमा जस्तै पालो कुर्नेमा चाबहिलबाट आएकी २७ वर्षीय आशुतोष पौडेल पनि बसेकी छिन् । उनले ‘भिटामिन डी’ र ‘आइरन’ परीक्षण गर्न आएको बताइन् । ‘म प्रायःजसो परीक्षणका लागि यहीँ आउँछु । यहाँ गराएको जाँचले विश्वस्तरीय मान्यता पाउने रहेछ’ उनले भनिन् ‘केही बेर पालो कुर्नु परे पनि सेवा भने छिटो छ । चिकित्सकले नभने पनि नियमित परीक्षण गराइरहेको हुन्छ ।’ उनले प्रयोगशालाको सेवा राम्रो भए पनि लाइन व्यवस्थापनमा सुधार गर्न सकिने बताइन् ।

प्रयोगशालामा विहानैदेखि सेवाग्राहीको घुइँचो बढिसकेको थियो । सेवा लिन कुरिरहेका र सेवा लिइसकेकाहरुको घुइँचो घटेको थिएन । प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकाले सेवाग्राहीको भीड लागेको स्वयम् सेवाग्राहीहरुले बताए ।

पकनाजोलबाट ‘होल बडी चेकअप’का लागि आएका ६३ वर्षीय रामराजा धिताल यहाँको परीक्षण विश्वासयोग्य भएको बताए । ‘बुढेसकाल लाग्यो । खुट्टाहरु दुख्छन् । शरीरमा सुगरलगायतका अरु समस्या छ कि भनेर परीक्षण गर्न आएको हुँ’ उनले भने । उनीले अरुलाई पनि यहाँ परीक्षणका लागि सुझाव दिएको बताए ।

नार्गाजुन नगरपालिका–६ रामकोटकी ४३ वर्षीया एलिना उप्रेती पनि प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकैले यहाँ आएको सुनाइन् । उनी सरकारले यहाँ विशेष खालका अपाङ्गता भएका व्यक्तिलाई छुटको व्यवस्था गर्नुपर्ने बताइन् । उनले भनिन् ‘म मनोसामाजिक अपाङ्गता भएको व्यक्ति हुँ । अरु खालका अपाङ्गता भएकालाई छुट दिने व्यवस्था भए पनि हाम्रो लागि त्यस्तो छैन, अब त्यो हुुनपर्छ ।’ पालो पाउन भने धेरैबेर कुर्नु परे पनि सेवा पनि गुणस्तरीय भएको उनले बताइन् ।

प्रयोगशाला बाहिर देखिएको सेवाग्राहीको भीड र उनीहरुको विश्वासले जनस्वास्थ्य प्रयोगशालाले सेवाग्राहीहरुको मत जितेको प्रष्ट हुन्छ । सन् १९६८ मा स्थापना भएको प्रयोगशालामा हाल दुई सय २८ वटा परीक्षण उपलब्ध छन् । पछिल्लो तीन महिनामा प्रयोगशालामा १ लाख ८५ हजार दुई सय ७५ जनाले सेवा लिइसकेका छन् । प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ५९ हजार चार सय सातले सेवा लिएका थिए भने १२ लाख ६२ हजार नौ ५० वटा परीक्षण भएका छन् ।

प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टका अनुसार आईएसओ मान्यता प्राप्त नेपालको एक मात्र सरकारी प्रयोगशाला भएकाले पनि धेरैले रुचाएको र विश्वासिलो मानेका हुनसक्छन् । उनले भने ‘सस्तोमा गुणस्तरीय सेवा दिएकाले पनि सेवाग्राहीको चाप र घुइँचो देखिएको हो । हामीकहाँ सुगर परीक्षण त २५ मै हुन्छ ।’

सेवाग्राहीको चाप बढ्दै गएको र पालो पर्खनुपर्ने ठाउँ साँगुरो भएकाले पनि धेरै सेवाग्राहीबाट यो गुनासो आउने गरेको डा भट्टले बताए । उनले भने ‘पूर्वाधार बिस्तारमा जोड दिनुपर्ने छ । नयाँ भवन बन्ने क्रममा छ । त्यो बन्यो भने सेवा थप बिस्तार गर्न सकिन्थ्यो । भवन बनिराखेकाले पनि ठाउँ साँघुरो भएको छ ।’

‘एनपिएचएल’ ले सङ्क्रामक र नसर्ने रोगका लागि विशेष परीक्षण, प्रयोगशालाको अनुगमनको पाटो पनि हेर्छ । डा भट्टले भने ‘सेवा २४सै घण्टा सुरु गर्नुपर्ने सुझाव सेवाग्राहीबाट आउने गरेको छ । अस्पतालमा आधारित प्रयोगशाला नभएकाले पालो कुर्नु परेको हो । आगामी दिनमा नसर्ने रोगको परीक्षणमा बढी केन्द्रित रहने बताउँर्दै डा भट्टले थपे ‘नसर्ने रोगको भार झन बढेको छ । आगामी दिनमा जटिल खालका रोगहरुको परीक्षण बढाउनेछौँ । क्यान्सरको कतिपय परीक्षण अझै पनि बाहिर पठाउनुपर्ने अवस्था छ ।’

हाल पाँच वटा बुथबाट प्रयोगशालामा सेवा प्रदान भइरहेको छ । दैनिक अधिकतम सात सय र कहिलेकाहीँ एक हजारसम्म सेवाग्राही आउने गरेको उनले बताए ।प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीका अनुसार एक दिनमा थोरैमा पनि चार सय सेवाग्राहीले आउने गरेका छन् । उनका अनुसार प्रयोगशालामा ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बुथ र छुटको पनि व्यवस्था छ ।

यहाँ आउनेमा सबैभन्दा बढी ‘होल बडी चेकअप’ नै गराउन आउने गरेको उनको भनाइ रहेको छ । परीक्षणका लागि बिहान ८ बजेबाट २ बजेसम्म टोकन वितरण हुन्छ । तर सेवाग्राही भने विहान अध्यारोँ छँद यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाबाहेक आइतबारदेखि शुक्रबारसम्म प्रयोगशालाले सेवा दिँदै आइरहेको छ । शुक्रबार भने बिहान ८ देखि दिउँसो १२ बजेसम्म परीक्षण हुन्छ ।

जैसीले भने ‘धेरैले लाइन बस्न समस्या भयो भनेर गुनासो गरेका छन् । पहिले सेवाग्राही आफैले मेसिनबाट टोकन लिन मिल्ने व्यवस्था राखिएको थियो तर त्यसको दुरपयोग भएको पाइयो । कतिले टोकन नै बेचेको पाइएपछि हाल ८ बजे मात्र हामी आफैँ टोकन दिन्छौँ ।’ उनका अनुसार प्रयोगशालामा अन्यत्र कतै नहुने परीक्षण पनि उपलब्ध छन् । जुन सबै सर्वसुलभ दरमा उपलब्ध रहेको उनको भनाइ रहेको छ ।

निजी प्रयोगशालामा १० हजारसम्म पर्ने ‘होलबडी चेकअप’ यहाँ आधाभन्दा सस्तोमा उपलब्ध रहेको जैसीको भनाइ छ । सस्तोमा २५ मा हुने परीक्षण पनि छ भने ५० हजार पर्ने मिर्गौला प्रत्यारोपणअघि गराइने परीक्षणको सेवा पनि उपलब्ध छ उनले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्