Shikhar Insurance

अरुण नदीमा अवरुद्ध ‘फेरी’ १५ दिनपछि पुन : सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १८:४८
NIMB
Nabil Bank

सङ्खुवासभा । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको ‘फेरी’ सञ्चालनमा आएको छ । अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको ‘फेरी’को लठ्ठा घुमाउने पुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि ‘फेरी’ सञ्चालन हुन सकेको थिएन । ‘फेरी’ नचल्दा भोजपुरको उत्तरी क्षेत्रको यात्रुहरु आवतजावतमा समस्या भएको थियो ।

लठ्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि फेरी बन्द गरिएको थियो । काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताए । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन आजदेखि सञ्चालनमा आएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । तत्कालका लागि ठूला तथा मालवाहक सवारीसाधन ओसारपसारमा भने रोक लगाइएको छ । नदी किनारका बालुवा नहटाउँदासम्म ठूला मालवाहक सवारीसाधन ओसारपसारमा कठिनाइ हुने भएकाले तत्काल समाधानका लागि ठेकदारलाई निर्देशन दिइसकेको षडानन्द नगरपालिकाले जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको हो । उक्त फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको छ । संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटा सानाठूला सवारीसाधन तार्ने गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्