Shikhar Insurance

बागलुङमा बेसहारा र अपाङ्गता भएकाहरुको घरदैलोमै चिकित्सक

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १४:१३
NIMB
Nabil Bank

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर सार्की ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिछन् । केही वर्षअघि शारीरिक अपाङ्गता भएका सार्कीलाई हिँड्डुल गर्नसक्ने भएकाले ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिइएको थियो ।

उनको स्वास्थ्य अवस्था बिग्रिँदो थियो । शारीरिक समस्या थप हुने, उपचार गर्दा निको नहुने भएकाले उनी लामो समय थलिएका थिए । ओछ्यानमा आराम गरेका सार्कीलाई अपाङ्गताको बिग्रँदो अवस्थामा थप सुविधा पाउनेगरी परिचयपत्र पाइन्छ भन्ने थाहै थिएन ।

Citizen Life
Kumar Bank
Nepal Life

सामान्य परिवारका हर्कबहादुरको हिँडेर गाउँपालिका पुग्ने अवस्था थिएन । गाउँपालिका पुगेर मात्रै हुँदैनथ्यो । धौलागिरि अस्पताल पुगेर चिकित्कको सिफारिस ल्याउने पनि त अवस्था थिएन् । सवारी साधन रिजर्भ गरेर अस्पताल र पालिकासम्म पुग्न उनीसँग आर्थिक अभाव थियो । गाउँपालिकाले अपाङ्गता परिचयपत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारका क्रममा रहेका अपाङ्गता भएको अवस्था बुझ्ने, अपाङ्गताको बिग्रँदो र सुधार भइरहेको अवस्था बुझ्ने गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पायो ।

उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिनका लागि गाउँपालिकाले चिकित्सक नै उनको घरमा लिएर गयो । गाउँपालिकाको प्रशासनिक जनशक्ति र जनप्रतिनिधिसँगै पुगे र उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिइयो । घरमै पुगेर चिकित्सकले जाँच गरेपछि परिचयपत्र पाउने हर्क एक्ला व्यक्ति भने होइनन् । काठेखोला गाउँपालिका–७ रेशकी डम्मिकला थापाले पनि आफ्नै आँगनमा सबै प्रक्रिया पूरा गरेर ‘क’ वर्गकै परिचयपत्र पाइन् । काठेखोला गाउँपालिकाले असहाय अपाङ्गता भएका व्यक्तिका लागि घरमै पुगेर सबै सेवा दिने गरेको छ ।

सबैलाई घरघरमै चिकित्सक पु¥याउँदा सम्भव हुँदैन, वडा अध्यक्षले सिफारिस गरेपछि असहाय भएको प्रमाणित भए हामीले पालिकाकै गाडीमा चिकित्सक लिएर सम्बन्धित व्यक्तिको घरमै पुग्छौँ गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले भने ‘खर्च, समय र शारीरिक अवस्थाका आधारमा बेसहारा अपाङ्गता भएका व्यक्तिका घरमै चिकित्सक पु¥याउने गरिएको हो ।’

अपाङ्गता भएका व्यक्तिलाई जस्तै गाउँपालिकाले ज्येष्ठ नागरिक, पछि परेको समुदाय र महिला तथा बालबालिकाका क्षेत्रमा पनि घरदैलो सेवा, उपचार सेवाजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिक र एकल महिलाका लागि बैंकसँग सहकार्य गरेर घरघरमै साजिक सुरक्षा भत्ता पु¥याउन पालिका तल्लीन छ । गाउँपालिकामा ५१ जना श्रमिक तथा परिवारले यो वर्षमात्रै राहत रकम पाएका छन् । सामाजिक सुरक्षाअन्तर्गत गाउँपालिकाले रोजगार शाखामार्फत कामका क्रममा अङ्गभङ्ग भएका श्रमिकलाई विधिअनुसारको राहत र मृत्यु भएका श्रमिकको परिवारलाई मृत्यु राहत दिने गरेको छ ।

सामाजिक सुरक्षाको पाटो असाध्यै महत्वपूर्ण र घरदैलोमा जोडिने पाटो हो, हामी नीति नियम कार्यान्वयनमा जिम्मेवार भएर लागेका छौं । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले भने । गाउँपालिकाले सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर पनि नागरिकमैत्री सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्