Shikhar Insurance

इतिहासमै पहिलोपल्ट १ खर्बको निर्यात, तैपनि १ महिनाको आयात धान्नै अपर्याप्त

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार १२:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपालको इतिहासमै पहिलोपल्ट १ खर्बभन्दा बढीको वस्तु देशबाट निकासा भएको छ । १ सय अर्ब बराबरको निर्यात गर्ने लक्ष्य लिइएको १० वर्षपछि निर्यात खर्बमाथि भएको हो ।

सरकारले २०६४ सालमा त्रिवर्षीय अन्तरिम योजना तयार पार्दै आर्थिक वर्ष २०६७/६८ मा १ खर्ब बराबरको वस्तु निर्यातको लक्ष्य राखेको थियो । सो लक्ष्य १ दशकपछि अर्थात् आव २०७७/७८ मा भेटिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

भन्सार विभागका अनुसार गत आवमा कुल ९७ अर्ब ७० करोडको मात्र वस्तु निर्यात भएको  थियो । यस्तै चालु आवको चैत मसान्तसम्म (९ महिनामा) ९४ अर्बको निर्यात भएको थियो । वैशाख महिनामा देशभर निषेधाज्ञाका बाबजुद १४ अर्बको वस्तु निर्यात भएपछि दशकअघिको लक्ष्य भेटिएको हो ।

चालु आर्थिक वर्ष सकिन अझै २ महिना बाँकी छ । १० महिनामै गत वर्षको यही अवधिभन्दा एक–तिहाइ (करिब ३३ प्रतिशत) बढी निर्यात भएपछि नेपाल १ खर्ब रूपैयाँको निर्यात गर्ने देश बनेको हो ।

विभागको तथ्यांक अनुसार गत आवको वैशाख मसान्तसम्म ८२ अर्ब ६ करोड रूपैयाँको निर्यात भएको थियो ।

१० महिनामा १२ खर्ब ५४ अर्ब रूपैयाँको आयात भएको छ । यस अवधिमा गत वर्षको भन्दा २२.३४ प्रतिशत बढीको आयात भएको विभागले जनाएको छ । निर्यातभन्दा आयातको परिमाण साढे ११ गुणा हुँदा निर्यात वृद्धिदर बढी भएपनि व्यापार घाटा झन चुलिएको छ । व्यापार घाटा गत वर्षको चैत मसान्तभन्दा साढे २१ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब रूपैयाँ पुगेको छ ।

देशबाट वस्तु आयातका लागि बाहिरिने विदेशी मुद्रा १ महिनाको आयात धान्न पनि पर्याप्त नरहेको तथ्यांकले देखाउँछ । देशको मागअनुसार विदेशी वस्तुको आयातका लागि मासिक १ खर्ब २५ अर्ब रूपैयाँ विदेशीने तथ्यांकमा देखिन्छ । तर, वर्षभरको निर्यातबाट भित्रिने विदेशी मुद्रा त्यति बराबरको पनि हुँदैन ।

गत वर्षको तथ्यांक विश्लेषण गर्दा पनि मासिक ९९ अर्ब ७३ करोड रूपैयाँ वस्तु आयातका नाममा विदेशिन्छ । तर, वर्षभरको निर्यातबाट प्राप्त विदेशी मुद्रा ९७ अर्ब रूपैयाँमात्र थियो ।

भटमासको तेल, अलैंची र चियाको निर्यातमा उल्लेखनीय सुधार आउँदा विषम परिस्थितमाझ नेपालको निर्यात दर बढेको देखिन्छ । भन्सार विभागका अनुसार भटमासको प्रशोधित तेलको निर्यात ४ गुणाले बढेको छ । गत आवको वैशाखसम्म ८ अर्ब ३६ करोडको भटमासको तल निर्यात भएकामा चालु आवको यही अवधिमा ३५ अर्ब ७५ करोडको निर्यात भएको छ ।

यस्तै कार्पेटको निर्यात सामान्य बढेर ६ अर्ब पुगेको छ छ । अलैंचीको निर्यात भने आकासिएको छ । गत वर्षको वैशाखसम्म १ अर्ब ८६ करोडको अलैंची निर्यात भएकामा चालु आवमा ५ अर्ब ९७ करोड रूपैयाँको निर्यात भएको छ । गत वर्ष २३ लाख किलो अलैंची निर्यात भएकामा यो वर्ष ७५ लाख किलो पुगेको छ ।

यो वर्ष अलैंची धुलो निर्यात घट्दा कच्चा अलैंची निर्यात बढेको छ । धुल्याइएर प्रशोधन गरेको अलैंची कच्चा अलैंची भन्दा महंगो पर्छ ।

यस्तै चिया निर्यात करिब दोब्बर बढीको भएको छ । चिया निर्यात हालसम्मकै बढी भएको हो । भारतमा चिया उत्पादन घटेपनि नेपाली चियाको माग बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्