संसद नहुँदा चोरबाटोबाट ‘आर्थिक सर्वेक्षण’ सार्वजनिक हुँदै (यस्तो छ ८ महिनामा देशको आर्थिक स्थिति)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार ११:४८

काठमाडौं । देशको समग्र आर्थिक स्थिति उल्लेख गर्ने ‘आर्थिक सर्वेक्षण’ आज सार्वजनिक हुँदैछ । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको स्थितिमा अर्थ मन्त्रालयबाट आर्थिक सर्वेक्षण (निलो किताब)सँगै सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा पुस्तक (पहेंलो किताब) सार्वजनिक गरिने भएको हो ।

संसद हुँदा अर्थमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिष्य सभामा छुट्टाछुट्टै निलो र पहेंलो पुस्तक पस्तुत गर्दथे । तर, आज अर्थमन्त्रालयमा सिमित फोटो पत्रकार तथा क्यामेरापर्सन माझ यी दुई किताब सार्वजनिक गर्न लागिएको हो ।

कोरोना महामारीमाझ समाचार लेख्ने आर्थिक पत्रकार सञ्चारकर्मीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था मिलाइएको छ ।

सरकारले चालु आर्थिक वर्षको ८ महिनासम्मको विवरणलाई आर्थिक सर्वेक्षणमा समेट्ने गरेको छ । प्रतिनिधि सभाको अभावमा भोलि सिंहदरबार बजेट भाषण हुँदै गर्दा आज नियमअनुसार आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागिएको हो ।
यसपालीको बजेट अध्यादेशबाटै ल्याउन लागिएको हो ।

यस्तो छ, ८ महिना (फागुन मसान्तसम्म)मा देशको समग्र आर्थिक स्थिति

प्रमुख झलक
– वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.०२ प्रतिशत छ ।
– आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढेको छ ।
– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको छ ।
– शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा छ ।
– कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ ।
– संघीय सरकारको खर्च रु.५७१ अर्ब २ करोड र राजस्व परिचालन रु.५७१ अर्ब २० करोड छ ।
– विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ ।
– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ ।
– वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ ।

मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
१. २०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।
२. २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।
३. समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
थोक मुद्रास्फीति
४. २०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो ।
५. समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ ।

तलव तथा ज्यालादर सूचकाङ्क
६. २०७७ फागुनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ भने तलव सूचकाङ्क यथावत रहेको छ ।

बाह्य क्षेत्र
वैदेशिक व्यापार
७. आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।
८. आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।
९. निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
१०. आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु.८६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
निर्यात–आयात मूल्य सूचकाङ्क
११. वार्षिक विन्दुगत आधारमा २०७७ फागुन महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क २.० प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.२ प्रतिशतले बढेको छ । २०७६ फागुन महिनामा १.७ प्रतिशतले बढेको व्यापारको शर्त २०७७ फागुन महिनामा १.२ प्रतिशतले घटेको छ ।

सेवा
१२. समीक्षा अवधिमा खुद सेवा आय रु.३९ अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.४ अर्ब २२ करोडले घाटामा रहेको थियो ।
१३. सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१.७ प्रतिशतले कमी आई रु.४ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५३ अर्ब ३६ करोड रहेको थियो ।
१४. सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५४.० प्रतिशतले कमी आई रु.२२ अर्ब ६२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.१८ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.४९ अर्ब १३ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.२३ अर्ब ९२ करोड रहेको थियो ।

विप्रेषण आप्रवाह
१५. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु.६४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।
१६. समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।
१७. समीक्षा अवधिमा खुद ट्रान्सफर ७.२ प्रतिशतले वृद्धि भई रु.७१८ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.० प्रतिशतले बढेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति
१८. समीक्षा अवधिमा चालु खाता रु.१४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.११९ अर्ब ७० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ ।
१९. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई रु.११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आई रु.१० अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ६१ करोड रहेको थियो ।
२०. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति
२१. २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ फागुन मसान्तमा रु.१४३६ अर्ब ५४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ ।
२२. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई रु.१२६६ अर्ब १० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.० प्रतिशतले कमी आई रु.१७० अर्ब ४४ करोड कायम भएको छ । २०७७ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २७.६ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
२३. आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.४ प्रतिशत, ९४.५ प्रतिशत र ३०.५ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.५ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
२४. अन्तर्राष्ट्रिय बजारमा २०७६ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ३३ रहेको कच्चा पेट्रोलियम को मूल्य २०७७ फागुन मसान्तमा १०८.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६८.८७ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १५६२.८० रहेकोमा २०७७ फागुन मसान्तमा ९.१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७०४.८० पुगेको छ ।

विनिमय दर
२५. २०७७ असार मसान्तको तुलनामा २०७७ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.६ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ७.७ प्रतिशतले अवमूल्यन भएको थियो ।
२०७७ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११६.१६ पुगेको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर रु.१२०.३७ रहेको थियो ।

सरकारी वित्त स्थिति

संघीय सरकार
खर्च तथा राजस्व
२६. नेपाल सरकार, अर्थमन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७७ फागुन मसान्तसम्ममा चालु खर्च रु.४५५ अर्ब ८२ करोड, पुँजीगत खर्च रु.७९ अर्ब ७० करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.३५ अर्ब ५१ करोड गरी कुल रु.५७१ अर्ब २ करोड खर्च भएको छ ।
२७. समीक्षा अवधिमा सरकारको कर राजश्व रु.५२७ अर्ब ६७ करोड र गैर कर राजश्व रु.४३ अर्ब ५३ करोड गरी कुल राजश्व रु.५७१ अर्ब २० करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ ।
२८. समीक्षा अवधिमा संघीय सरकारले रु.२० अर्ब ५० करोडको ट्रेजरी विल, रु.९० अर्बको विकास ऋणपत्र, रु.२ अर्बको नागरिक वचतपत्र र रु.१ करोड ५३ लाखको वैदेशिक रोजगार वचतपत्र गरी कुल रु.११२ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

प्रदेश सरकार
२९. आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति रु.९१ अर्ब ६२ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रु.६३ अर्ब २६ करोड हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट रु.२८ अर्ब ३६ करोड परिचालन गरेका छन्। यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु ६२ अर्ब १२ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्