‘बैंकको सेयर होल्ड गर्ने पिडित म पनि हुँ, यो बुल अझै अढाइ वर्ष टिक्छ’

तुलसीराम ढकाल
२०७८ भाद्र १५, मंगलवार ११:०९

नेपाल इन्भेस्टर्स फोरमका नवनिर्वाचित अध्यक्ष हुन्, तुलसीराम ढकाल । शनिबार सम्पन्न फोरमको वार्षिक साधारणसभाले ढकाललाई अध्यक्षमा चयन गरेको थियो ।

सेयर बजारमा २२ वर्ष अनुभवी अध्यक्ष ढकाल खरो र स्पष्ट वक्ता मानिन्छन् । बजारका गतिविधि, नीतिगत व्यवस्था, उतारचढाव, लगानीकर्ताको मनोभाव उनले प्रष्टैसँग राख्छन् । तार्किक प्रस्तुती दिन्छन् ।

सेयर बजारमा अहिले ५१ कम्पनीको सूची, सर्वोत्तम सिमेन्टको सेयर, नियामक निकायको संलग्नता, अर्थमन्त्रीको बोली, नयाँ स्टक एक्स्चेन्ज, ब्रोकर कमिसन, नेप्से परिसूचकको भविष्य तात्तातो विषय हुन् । यस्तै, अनुभवी लगानीकर्ताबाट आम लगानीकर्ताले पनि बेलाबखतमा सिक्ने बुझ्ने अवसर खोजिरहेका हुन्छ ।

यी परिवेशमा रहेका अध्यक्ष ढकालसँग सिंहदरबारले लामो कुराकानी गरेको छ । प्रस्तुत छ, अन्तर्वार्ताको सारः

 

– मलाई बधाइ तथा शुभकामना दिनुहुने लगानीकर्ता, शुभचिन्तक, सञ्चारकर्मी मित्रहरु र सबै सरोकारवालाप्रति म नतमस्तक छु ।
– कोही लगानीकर्ता सानो वा ठूलो भन्ने हुँदैन । जोसँग जति लगानीयत्तग्य रकम छ, त्यो उहाँको लागि ठूलो हो भनेर सबैले कदर गर्नुपर्छ ।
– २०५६ सालको तथ्यांक हेर्नेले मात्र अहिलेको सेयर बजारबाट सय जनाले मात्र लाभ लिइरकेको छ भन्छ । वास्तवमा भन्नुपर्दा अहिले दैनिक डेढ देखि २ लाख लगानीकर्ता लाभान्वित भइरहेका छन् ।
– आजको दिनमा को मान्छेले किन्दैछ ? र को मान्छेले बेच्दैछ ? भन्ने थाहा हुँदैन । यस्तो दिनमा कसैले मिलेर खेलबाड गरे भन्नु ‘मनगढन्ते’ कुरा मात्र हो ।
– कोरोना महामारीका माझ सबैको आशाको धरोहर सेयर बजारमात्र थियो । अन्यत्र लगानी गर्ने ठाउँ थिएन । विद्यार्थीदेखि गृहणीसम्म बजारमा ‘इन्गेज’ भए । यसको श्रेय अनलाइन प्रणालीलाई जान्छ ।
– पुँजीबजार अहिले ३ करोड नेपालको सरोकारको विषय भएको छ ।
– जसरी समुन्द्रको गहिराइमा मोति छ भन्दैमा पौडी नजानी हाम्फाल्नु हुँदैन । त्यसरी सेयर बजारमा तैरन जान्नु हुन्न भने अर्काले आर्जन गरेको लाभमा देखेर लगानी फसाउनु हुँदैन ।
– सेयर बजारमा बुझेर लगानी गर्ने र हतोत्साहित नहुने व्यक्तिले कहिल्यै घाटा खाँदैन ।
– लगानीकर्ता सुसूचित गर्ने काम धितोपत्र बोर्डको हो । तर, ५१ कम्पनीको सूची निकालेर तिनमा लगानी नगर्न भन्नु अनैतिक हो । सबै कम्पनीको यथार्थ विवरण सार्वजनिक गर्नुपथ्र्यो, ५१ कम्पनीको मात्र होइन ।
– धितोपत्र बोर्डको अध्यक्ष, सञ्चालक र नेप्सेका सीईओले जे गरे, त्यो अपराध हो । आफूले २ सय ५३ मा किनेर लगानीकर्तालाई सोही ७ सय ५० मा किन्न लगाउने काम गलत हो ।
– हामी पनि सर्वोत्तम सिमेन्टको सेयरलाई २ सय ५३ रुपैयाँभन्दा १ रुपैयाँ पनि बढी हाल्दैनौं । आखिर त्यो कम्पनीको मूल्य २ सय ५३ रुपैयाँ त रहेछ ।
– बुक बिल्डिङको नियम जसले बनायो, उसैले सिध्यायो । अब कुनै पनि कम्पनी बुक बिल्डिङमा आउने छैनन् ।
– सेयर बजारमा कसैले म्यानिपुलेसन हुन्छ भन्छ भने म त्यो पत्याउँदिनँ । सत्यतथ्य देखाएमात्र पत्याउँछु ।
– बैंकले सीआस्बाको सेवा दिए झैं दिन मिल्ने गरी ब्रोकरको लाइसेन्स दिनुपर्छ । किनकी अनलाइन कारोबार गर्न पनि सुरुमा एकपल्ट ब्रोकरकहाँ पुग्नुपर्छ । दुर्गमका मान्छे राजधानीको ब्रोकर कसरी धाउने ?
– ४० लाख लगानीकर्ता सेयर भर्छन्, यसपछि चुप लागेर बस्छन् । दुरदराजका बैंकका शाखामा ब्रोकर सुविधा पाइने भए सबै सेयर कारोबार हुन्थे ।
– ३ वटा बैंक हुँदा राम्रै सुविधा थियो । पछि निजी क्षेत्रको बैंक खुलेपछि अझ राम्रो र विस्तारित सुविधा पाइयो । नयाँ एक्स्चेन्ज खोल्ने पनि उस्तै हो । सुरुमा आवश्यकताबारे प्रश्न उठ्ला, समय क्रममा व्यवहारमा सजिलो बन्छ । उतिबेलै निजी बैंक खुलेपछि सरकारी बैंक सुध्रिएका थिए । त्यसरी निजी क्षेत्रबाट स्टक एक्स्चेन्ज खुल्छ भने सरकारी एक्स्चेन्जले पनि थप परिस्कृत सेवा दिनेछ ।
– अहिले एउटा एक्स्चेन्ज हुँदा ‘खाए खा, नखाए के (घिच)’ भन्ने उखान झैं भएको छ ।
– दोस्रो बजारमा बैंकको सेयर होल्ड गर्ने लगानीकर्ता साँच्चैमा पिडित हुन् । म पनि तीमध्ये एक हुँ । तर, कुनै त्यस्तो दिन आउँछ, जुन दिन बैंकको सेयर मूल्य पक्कै बढ्नेछ ।
– नेप्से परिसूचक पक्कै बढ्छ । जति तरलताको अभाव भएपनि बैंकमा भएको पैसा लगानीकर्ताको हो, त्यो पैसा लगानीकर्ता जुनसुकै समयमा निकालन सक्छन् । यदी ४७ सय खर्ब नै निकालेर सेयर बजारमा लगानी गरे नेप्से परिसूचक कहाँ पुग्ला ?
– सेयर धितो कर्जामा राष्ट्र बैंकको ४ करोड र १२ करोड सीमा राख्ने नीतिले लगानीकर्तालाई झन् सजिलो भएको छ । अब बैंकले साना लगानीकर्ता खोजीखोजी कर्जा दिन्छन् । यसले गर्दा लगानीयोग्य रकमको पहुँच आम सर्वसाधारणसम्म पुग्छ ।
– हिजो बैंकमा पैसा राख्दा १२ प्रतिशत ब्याज पाइन्थ्यो, आज ५ प्रतिशत पाइन्छ । अब बैंकमा पैसा किन राख्ने । बरु, सेयरमा लगानी गर्ने ।
– म गभर्नर साबलाई मार्जिन लेन्डिङको व्यवस्था गरिदिनोस् भन्ने माग राख्दछु । उहाँले भने झैं सर्कुलर धितोले सेयर लान रोकेको छैन ।
– लगानीकर्ता ठूला र साना हैन, नयाँ र पुराना हुन्छन् ।
– सेयर बजार साधारणताया ३–४ वर्ष घट्ने ट्रेन्ड (बियर) मा हुन्छ, अर्को ४ वर्ष बढ्ने ट्रेन्ड (बुल) मा हुन्छ । बुल कायम रहेको डेढ वर्ष भर्खर हुँदैछ । अढाइ वर्ष अझै बाँकी छ ।
– ४५ सय पुगेर नेप्से २२ सयमा झर्दै झर्दैन । यदी झरेछ भने म पुँजीबजारबाट सन्यास लिन्छु । त्यसरी नै ३२ सय पुगेको नेप्से घटेर १२ सय कुनै पनि हालतमा आइपुग्दैन ।
– मैले जुन सेयर विश्वास गरेर किनेको छु, त्यो सेयर किनबेच गर्दै गर्दिनँ । त्यसले मलाई वार्षिक राम्रो प्रतिफल दिन्छ ।
– मैले ८० प्रतिशत सेयर होल्ड गरेर २० प्रतिशतमात्र घटबढ गर्ने गरेको छु ।
– ब्रोकर कमिसन घटाउनुपर्ने हाम्रो पहिलेदेखिको माग हो । म त भन्छु ब्याजदर झैं ब्रोकर कमिसन पनि खुला राखिनुपर्छ । कमिसनमा बेसरेट तोकिनुपर्छ, र ब्रोकरले प्रिमियम थप्न पाउनुपर्छ । लगानीकर्ता जुन ब्रोकरकहाँ सस्तो कमिसन छ, त्यहीँबाट कारोबार गर्छन् ।
– सेयर बजारमा एनआरएन भित्र्याउने नीति नै मलाई उल्टो लाग्छ । कर नलिनुपर्ने ठाउँमा २५ प्रतिशत कर लिने भनेको छ, अनि कसरी एनआरएन आउँछन् ।
– पुँजीबजारमा सबैभन्दा बिग्रिने लोभले हो । किन्नेमात्र काम गर्ने र अझै बढ्रछ भनेर कुर्ने लोभले कहिल्यै लाभ लिन सक्दैन । जति छिटो नाफा मिल्छ, त्यति छिटो बेचिहाल्नुपर्छ ।

कुराकानीको पुरा पाठ सिंहदरबारको युट्युब च्यानलमा हेर्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्