Shikhar Insurance

यसपालिको दसैंमा आलुको भाउ पोहोरभन्दा सस्तो, उत्पादन बढ्दा उपभोक्तालाई लाभ

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १९:४२
NIMB
Nabil Bank

काठमाडौं । दशैँ नजिकिँदै गर्दा नेपाली बजारमा आलुको माग बढ्न थालेको छ । गत वर्ष दशैंको पूर्वसन्ध्यामा असोजको पहिलो हप्ता प्रतिकिलो ८१ रुपैयाँसम्म पुगेको आलुको मूल्य यसपालि असोज पहिलो साता प्रतिकिलो ५९ रुपैयाँमा झरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

नयाँ आलु उत्पादन हुन थालेपछि मूल्यमा गिरावट आएको हो । काभ्रे, दोलखा, सिन्धुपाल्चोकको मुडे र मकवानपुर, रामेछाप, पालुङलगायत क्षेत्रबाट नयाँ आलु आएपछि मूल्य सस्तिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘नयाँ आलु आएपछि केही सस्तो भएको छ । तर, केही उपभोक्ताहरु भने महङ्गो भयो भन्दै गुनासो गरिरहेका छन् । गतवर्ष असोजको पहिलो हप्ताभन्दा यस वर्षको असोजको पहिलो हप्तामा आलुको भाउ घटेको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल आलुमा अत्मनिर्भर नहुँदा नेपालीले समय समयमा महँगो मूल्य तिरेर किन्नु पर्ने बाध्यता भने कायमै रहेको श्रेष्ठ बताउँछन् । उनकाअनुसार भारतबाट वार्षिक ७० प्रतिशत आलु नेपाल भित्रिन्छ । अघिल्लो वर्ष असोजको पहिलो सातामा ९१३ टन आलु कालिमाटी बजार भित्रिएको थियो भने यसपालि पहिलो साता ९१४ टन आलु भित्रिएको बजार विकास समितिले जनाएको छ । भारतबाट ५७६ टन आलु भित्रिएको छ भने नेपालका केही ठाउँबाट ३३८ टन भित्रिएको जनाइएको छ । यो भनेको भारतबाट ६३ प्रतिशत र नेपालबाट ३७ प्रतिशतमात्रै आलु बजारमा आइपुग्ने गरेको उपनिर्देशक श्रेष्ठको भनाइ छ ।

कालिमाटीमा आजको भाउमा नेपाली रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ कायम भएको छ । त्यस्तै, भारतीय आलुको मूल्य प्रतिकिलो ३१ रुपैयाँ तोकिएको छ, मुडेको आलु प्रतिकिलो ४९ रुपैयाँ तोकिएको छ भने सेतो आलु ४१ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तर, खुद्रा बजारमा भने भाउ मनलाग्दी हुने गरेको उपभोक्ता बताउँछन् । हाल उपत्यकाका खुद्रा पसलमा भने रातो आलु प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गर्दै आएका छन् भने भारतीय आलु प्रतिकिलो ३० रुपैयाँमा बेच्दै आएको बताउँछन् खुद्रा व्यापारी । त्यस्तै, सेतो आलु प्रतिकिलो ४० रुपैयाँमा बेचेको बताउँछन् । मुडेको आलु महंगिएको छ भन्दै प्रतिकिलो ८० रुपैयाँसम्ममा बच्ने गरेको खुद्रा व्यापारीको अनुभव छ ।

कालिमाटी तरकारी बजारमा नै मूल्यमा एकरुपता नभएको भन्दै खुद्रा व्यापारीहरु महंगो मूल्यमा आलु बेच्न बाध्य भएको गुनासो गर्छन् । बिहानको समयमा तरकारी किन्न जाँदा मूल्य फरक पर्ने गुनासो खुद्रा व्यापारीको छ । यसले गर्दा उपभोक्ताहरु मारमा पर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्