Shikhar Insurance

भारतीय वारेन बफेटः ५ हजार लगानीबाट ६ अर्ब डलरको मालिक, ढुंगा छुँदा सुन बन्ने ‘पारसमणि’

राघवेन्द्र राव
२०७८ आश्विन ३१, आईतवार १२:४७
NIMB
Nabil Bank

काठमाडौं । पाँच अक्टोबरमा भारतीय सेयर बजारका परिचित लगानीकर्ता राकेश झुनझुनवालाले आफ्नी पत्निसहित प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे । भेटपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा लेखे–‘आफु जस्तै एक मात्रै मानिस राकेश झुनझुनवालासँग भेटेर धेरै खुसी लाग्यो । उनी जीवन्त, व्यवहारिक र भारतका बारेमा धेरै आशावादी छन् ।’

यो भेटको केहि दिनपछि अर्थात ११ अक्टोबरमा खबर आयो की राकेश झुनझुनवालाको समर्थन रहेको आकाश एअर नामको हवाईजहाज कम्पनीलाई ‘अल्ट्रा–लो कास्ट’ विमान सेवा सुरु गर्ने प्रारम्भिक स्वीकृति त्यहाँको नागरिक उड्डयन मन्त्रालयले दियो । यो विमानको उडान आगामी वर्षको गर्मी सिजनमा सुरु हुने अपेक्षा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राकेश झुनझुनवालाले यो एअरलाइन्समा ३.५ करोड डलर अर्थात करिब २६४ करोड भारु लगानी गर्ने बताईसकेका छन् । कम्पनीले थप ७० वटा जहाज किन्ने तयारी पनि गरिरहेको छ । आकासा एअरले पाएको स्वीकृतिलाई झुनझुनवालाले प्रधानमन्त्री मोदीलाई भेटेको उपलब्धिका रुपमा हेरिएको छ । त्यो भेटमा झुनझुनवाला एउटा कुर्सीमा बसेको देखिन्छ भने प्रधानमन्त्री मोदी र रेखा झुनझुनवाला उभिएरै राकेशसँग कुरा गरिरहेका देखिन्छन् । यो तस्विरका कारण विपक्षीहरुले प्रधानमन्त्री मोदीको आलोचना पनि गरिरहेका छन् ।

तर सबै प्रकरणको केन्द्रमा राकेश झुनझुनवाला नै देखिन्छन् र र प्रश्न उठिरहेको छ की झुनझुनवालामा त्यस्तो के छ, जसले उनलाई त्यति महत्वपूर्ण बनाईरहेको छ ।

कम उमेरमै करिअरको सुरुवात
५ जुलाई १९६० मा जन्मेका झुनझुनवालाले मुम्बईमा अध्यय गरे । उनका बुवा एक आयकर अफिसर थिए । सेयर बजारको लगानी प्रति राकेशको किशोरावस्थादेखि नै झुकाव थियो । भनिन्छ उनका बुवाले राकेशलाई दिनभरका कस्ता समाचारले सेयर बजारमा असर पर्छ भन्नेबारे ध्यान दिन सिकाउँथे ।

झुनझुनवालाको सेयर बजारमा रुची बढ्दै गयो । सिडनहैम कलेजमा अध्ययन गर्दा सन १९८५ मा उनले सेयर बजारमा लगानी गर्न थालिसकेका थिए । चाटर्ड एकाउन्टेन्सीको अध्ययन पुुरा गरेपछि उनले सेयर बजारमा लगानी गर्ने आफ्नो इच्छाबारे बुवालाई जानकारी गराए । राकेशलाई उनका बुवाले सेयर बजारमा लगानी गर्न आफु र साथीहरुसँग पैसा नमाग्न स्पष्ट पारे । सेयर बजारमा असफल भएमा राकेशले चाटर्ड एकाउन्टेन्सीमा सफलता पाउन सक्ने अनुमान पनि उनका बुवाले सुनाउँथे ।

भनिन्छ की झुनझुनवाला ५ हजार भारुबाट भारतीय सेयर बजारमा प्रवेश गरेका थिए । अहिले झुनझुनवालाको कुल सम्पति ६ अर्ब डलर अर्थात ४५, ३२८ करोड भारु पुगेको छ ।

फोर्ब्सका अनुसार उनको सबै भन्दा ठूलो सूचिकृत कम्पनी टाइटन हो जसले घडी र गहना निर्माण गर्छ र त्यसमा टाटा समुहको स्वामित्व छ ।
झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्राण्ड र कानकार्ड बायोटेक जस्ता निजी कम्पनीमा पनि लगानी छ ।

सन १९८६ मा झुनझुनवालाले एक कम्पनीको ५ हजारमा सेयर किनेका थिए । प्रति सेयर ४३ रुपैयाँ दरमा ती सेयर खरिद गरिएको थियो । तर तीन महिनापछि त्यो सेयरको मूल्य १४३ रुपैयाँ पुग्यो । आफ्नो लगानीले छोटो समयमै तीन गुणा प्रतिफल पाउनुलाई झुनझुनवालाले आफनो पहिलो सफलता सम्झे ।

के उनी भारतका बारेन बफेट हुन् ?
वारेन बफेटलाई दुनियाँभर सेयर बजारका सफल लगानीकर्ता मानिन्छ । फोर्ब्सका अनुसार उनको कुल सपति १०२ अर्ब डलर अर्थात ७,६९, ९०३ करोड भारुको छ । बफेटका बारेमा यो पनि भनिन्छ की उनले पहिलो पटक ११ वर्षको उमेरमा सेयर किनेका थिए र १३ वर्षको उमेरमा कर तिरेका थिए ।

त्यसकारण झुनझुनवालालाई भारतको वारेन बफेट भन्ने गरिन्छ । जबकी झुनझुनवालालाई यो तुलना ठिक लाग्दैन् । सन २०१२ मा रोयटर्सलाई दिएको एक अन्तरवार्तामा झुनझुनवालाले भनेका थिए की बफेटसँग उनको तुलना गरिनु ठिक हुन्न । धन, परिपक्वता र सफलताका हिसाबले बफेट आफु भन्दा निकै अघि रहेको उनले बताएका थिए ।

विवादहरुको साथ
झुनझुनवाला समय समयमा विवादित पनि भैरहन्छन् । यसै वर्ष जुलाईमा पनि झुनझुनवाला, उनकी पत्नि रेखा र अन्य ८ जना व्यक्तिहरु एप्टेक लिमिटेडको सेयर इन्साडर ट्रेडिङमा मुछिए । उनीहरुले ३७ करोड भारु पनि जरिवाना तिरेका थिए । त्यसमा सेटलमेन्ट शुल्क, गलत ढंगले गरिएको आम्दानी र ब्याज शुल्क पनि जोडिएको थियो ।

इन्साइडर ट्रेडिङ, व्यापार गर्ने त्यस्तो तरिका हो जसमा गलत ढंगले सूचना लिएर आफ्नो फाइदाका लागि सेयर बजारमा कारोबार गरिन्छ ।
झुनझुनवाला माथि सेबिले कारवाही गरेको पहिलो पटक भने होइन् । उनी सन २०१८ मा पनि एक संकास्पद कारोबारमा मुछिएर सोधपुछमा परेका थिए । उनले पछि २.४८ लाख रुपैयाँ तिरेर सहमतिमा यो मामला मिलाएका थिए ।

पारसमणि जस्तै गुण भएको व्यक्ति
राकेश झुनझुनवालालाई भारतमा पारसमणि जस्तै गुण भएको व्यक्ति मानिन्छ । अर्थात उनी त्यस्ता लगानीकर्ता हुन, जसले जुन कम्पनीमा लगानी गर्छ, त्यो सुन जस्तै भैदिन्छ ।

सेयर बजारमा प्राप्त यहि सफलताले उनलाई यतिबेला सेलिब्रिटीको दर्जा दिएको छ । देशका सायद कोहि त्यस्तो बिजनेश अखबार न्युज च्यानल छन् जसले उनको अन्तरवार्ता नलिएको होस् ।

उनी इंग्लिस भिग्लिस, की एण्ड का, शमिताभ जस्ता भारतीय चलचित्रका निर्माता समेत हुन् । हालै जी मिडियामा चलिरहेको बोर्ड विवादका वावजुद झुनझुनवालाले जी को सेयर किनेर ५० प्रतिशत मुनाफा कमाईदिएका छन् । उनी आफ्नो फर्म रेयर इन्टरप्राइजेजबाट व्यापार गर्छन् । रेयरको नाम उनले आफ्नो नामको पहिलो र श्रीमतिको नामको दुई अक्षरबाट जुराएका हुन् ।

पर्दा पछाडीका अत्यधिक शक्तिशाली पात्र
बरिष्ठ पत्रकार आलम श्रीनिवासका अनुसार राकेश झुनझुनवाला एक स्मार्ट र सावधान लगानीकर्ता हुन् । यसको प्रमाण उनको लगानीका तरिकाबाट बुझ्न सकिन्छ । श्रीनिवासका अनुसार झुनझुनवाला कर्पाेरेट, वित्तिय र सेयर बजार दुनियाँका लागि अत्यन्तै प्रभावशाली व्यक्ति हुन् ।
झुनझुनवाला कुनै पनि कम्पनीका ५ देखि १५ प्रतिशत सेयर खरिद गरेर कम्पनीको मुल हिस्सेदार बन्छन् । उनी पर्दा पछाडी बसेर त्यो कम्पनीको रणनीति निर्माणमा सक्रिय रहन्छन् ।

झुनझुनवालाको कर्पाेरेट र वित्तिय क्षेत्रमा राम्रो सम्बन्ध छ र उनी राजनीतिक क्षेत्रमा पनि भिजेका मान्छे हुन र धेरै नेतासँग राम्रो सम्बन्ध छ ।
सेयर बजार त झुनझुनवालाको नामले पनि तल–माथि भैदिन्छ । झुनझुनवालाले सेयर किन्दैछन् भन्ने खबर फैलियो भने बजार बढ्छ । झुनझुनवालाले सेयर बेच्दैछन् भनिदियो भने बजार घट्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्