Shikhar Insurance

मर्जरका नाममा चरम लापरवाही, सेयर कारोबार रोक्का हुँदा करिब डेढ खर्ब रुपैयाँ फ्रिज

दिलु कार्की
२०७८ मंसिर १६, बिहीबार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको नीति ल्याएपछि दर्जनौं बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा सहभागी भइसकेका छन् । तर, मर्जर गर्छु भन्दै राष्ट्र बैंक स्वीकृति लिन पुगेका करिब दर्जन बैंक तथा वित्तीय संस्थाले प्रक्रिया समयमै पूरा गर्न सकेका छैनन् ।

आफूले लगानी गरेको कम्पनी मर्जरको प्रक्रियामा भएकै कारण लाखौं लगानीकर्ताको अर्बौ रुपैयाँ सेयर बजारमा फ्रिज भइरहेको छ । मर्जर तथा प्राप्ति सम्बन्धि नीतिअनुसार कुनै पनि दुई संस्था आपसमा मर्जरको सहमति गरी स्वीकृत माग्दै राष्ट्र बैंक पुग्छन् । यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोही दिन देखि ती दुवै संस्थाको सेयर कारोबार रोक्का गर्छ । प्राप्ति (एक्वायर) अर्थात् कुनै एक संस्थाले अर्को संस्थालाई खरिद गर्ने हो भने बिक्री हुने संस्थाको मात्र सेयर कारोबार रोक्का हुने गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जर तथा प्राप्तिकै कारणले सेयर कारोबार रोक्का भएका संस्थाले प्रक्रिया पूरा गरी एकीकृत कारोबार सम्पन्न गरेको पत्र नेप्सेमा पठाएसँगै खुल्ला हुन्छ । जसका लागि राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिको प्रक्रिया पूरा गर्ने शतप्रतिशत जिम्मेवारी बैंक तथा वित्तीय संस्थाकै हुन्छ ।

तर, मर्जरमा जान हतारमा आपसी समझदारी (एमओयू) गरेर एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति लिन नसक्दा दर्जन बैंक तथा वित्तीय संस्था २ वर्षदेखि राष्ट्र बैंकमा मर्जरको पाइपलाइनमा छन् ।

जसमध्ये ९ वटा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएर दोस्रो बजारमा काराबोर भइरहेका हुन् ।

२ वर्षयता मर्जरको प्रक्रिया समयमै पूरा गर्न तदारुकता नदेखाएका बैंक तथा वित्तीय संस्थाले लगानीकर्ताको खर्ब बढी सम्पती फ्रिज गरिरहेका छन् ।

मर्जर तथा प्राप्तिका लागि बैंक तथा वित्तीय संस्थाले पार्टनर खोजेर अनुमानित सेयर स्वाप रेसियो तय गरेर प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आवेदन दिन्छन् । नेप्सेले मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ अनुसार नेप्सेले मर्जरको प्रक्रियामा गएका संस्थाको सेयर कारोबार रोक्का गर्छ । यसरी रोक्का भएको सेयर कारोबार मर्जर तथा प्राप्तिको सम्पूर्ण प्रक्रिया सम्पन्न भइ एकीकृत कारोबार सुरु भएपछिमात्र खुला हुन्छ ।

निश्चित स्वाप रेसियो तय भइसकेपछि सेयर खरिद बिक्री गरी त्यसको फाइदा कुनै एक पक्षका सेयरधनीले मात्र नलिउन् भन्ने अभिप्रायले यसरी कारोबार रोक्का हुने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताउँछन् । मर्जरको प्रारम्भिक सहमतिलाई अन्तिम रुप दिन नसक्दा बैंक तथा वित्तीय संस्थाको मर्जर प्रक्रिया लम्बिने उनको भनाइ छ ।

‘सम्पूर्ण प्रक्रिया समयमै पूरा गरे बढीमा २/३ महिना भित्रै राष्ट्र बैंकले अन्तिम स्वीकृत दिन सक्छ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘प्रारम्भिक सहमतिमा भएका स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्यांकन गराउँदा नभएपछि उनीहरुको सहमतिले अन्तिम रुप लिन सक्दैन, त्यसले पनि प्रक्रिया पुरा गर्न एक पक्ष आनाकानी गर्छ ।’

यस बाहेक केन्द्रीय कार्यालय, शाखा मर्जर, व्यवस्थापन र सञ्चालक समितिको संरचनाबारे कुरा नमिल्दा समेत प्रक्रिया लामो हुनुका साथै कतिपय मर्जर नै भाँडिने उनको भनाइ छ ।

मर्जरले लगानीकर्ताको खर्ब रुपैयाँ फ्रिज, कुन संस्थाको कति ?
मर्जरको प्रक्रियामा गएकै कारणले लगानीकर्ताको हालसम्म १ खर्ब ३४ अर्ब ४३ करोड रुपैयाँ बढी सम्पत्ति किनबेच गर्न नमिल्ने भएर बसेको छ ।

मर्जरमा जान्छु भन्दै लगानीकर्ताका खर्ब रुपैयाँ बढी सम्पती फ्रिज गर्नेमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, वोमी लघुवित्त, सुर्योदय लघुवित्त, घोडीघोडा लघुवित्त, नाडेप लघुवित्त, समाज लघुवित्त, आँधीखोला लघुवित्त र नेपाल सेवा लघुवित्त हुन् ।

धौलागरी र आँधीखोला लघुवित्त २०७६ साल पुस १४ गते राष्ट्र बैंका मर्जरका लागि पुगेका हुन् । यी बैंकले समयमै प्रक्रिया पुरा गर्न नसक्दा अहिले यी बैंकको मर्जर डिमर्जको प्रक्रियामा छ । २ वर्षअघि देखि मर्जरको प्रक्रियामा रहेका यी संस्थामध्ये आँधीखोला नेप्सेमा सुचीकृत कम्पनी हो । मर्जरकै कारणले ४६ करोड ५० लाख पुँजीकरण रहेको संस्थाको सेयर कारोबार हुन सकेको छैन ।

स्वस्तिक लघुवित्तले समाज लघुवित्तलाई एक्वायर गर्ने सम्झौता गरी २०७७ असोज ५ गते नै राष्ट्र बैंक पुगको हो । यी संस्थाहरुलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि अन्तिम स्वीकृत लिने तयारीमा उनीहरु छन् । स्वस्तिक नेप्सेमा सुचिकृत छैन भने मर्जर हुन सहमत भएको समाजले लगानीकर्ताबाट उठाएको २ करोड रुपैयाँ फ्रिज गरेको छ । कम्पनीले आईपीओ जारी गरेपछि दोस्रो बजारमा कारोबार सुरु भएकै छैन ।

डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई एक्वायर गर्ने आपसी सम्झौता गरी २०७७ पुस १६ गते राष्ट्र बैंक पुगेका थिए । यी संस्था आपसी सम्झौतालाई अन्तिम टुंगो लगाउन नसक्दा मर्जर डिमर्जको प्रक्रियामा छन् ।

यूनिक नेपाल र घोडीघोडा लघुवित्त २०७७ चैत ११ गते नै आपसमा मर्जरको सहमति गरी राष्ट्र बैंक पुगेका हुन् । यी संस्थालाई राष्ट्र बैंक एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिने तयारीमा छ । यूनिक नेपाल नेप्सेमा सूचीकृत छैन भने घोडीघोडा लघुवित्तका लगानीकर्ताको २२ करोड ९२ लाख ८७ हजार रुपैयाँ फ्रिज भइरहेको छ ।

नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंक गत जेठ ६ गते नै आपसमा मर्जरको सहमति गरी राष्ट्र बैंक पुगेको हुन् । यी बैंकले मर्जरको लागि सैद्धान्तिक स्वीकृती गत जेठ २० गते नै पाएका थिए । समयमै अन्तिम स्वीकृतका लागि प्रक्रिया पूरा नगरेपछि उक्त मिति मंसिर १९ गतेसम्मका लागि सारिएको छ ।

यी बैंकको सेयर कारोबार वैशाख मसान्तबाटै रोक्का भएको हो । जसमा हिमालयनको ५१ अर्ब ७१ करोड २५ लाख रुपैयाँ र इन्भेष्मेण्ट बैंकका ६६ अर्ब ४० करोड ९५ लाख रुपैयाँ लगानीकर्ताको सम्पत्ती फ्रिज भएको छ ।

गत भदौ १८ गते वोमी लघुवित्त र सुर्योदय लघुवित्त आपसमा मर्जरको सहमति गरी राष्ट्र बैंक पुगेका थिए । यी बैंकलाई राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत समेत दिइसकेको छ । स्वस्तिक लघुवित्त नेप्सेमा सूचीकृत छैन । सूचीकृत भएको वोमी लघुवित्तका लगानीकर्ताको ६ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ बढी सेयर बजारमा फ्रिज भइरहेको छ ।

यस बाहेक नेपाल सेवा लघुवित्तको सेयर कारोबार समेत मर्जर प्रक्रिया पूरा भइ एकीकृत कारोबार सूरु हुँदा समेत खुला भएको छैन । संस्थाले गत कात्तिक २८ गते नै विन लघुवित्तलाई एक्वायर गरी एकिकृृत कारोबार सुरु गरेको हो । प्रक्रिया सम्पन्न गरेपनि नेप्सेमा रोक्का भएको सेयर खुल्ला गर्न नेपाल सेवा लघुवत्तले पत्र नपठाउँदा लगानीकर्ताको ५१ करोड १० लाख रुपैयाँ फ्रिज भइरहेको छ ।

राष्ट्र बैंकले सेयर कारोबार खुला गर्ने स्वीकृत एकीकृत कारोबारका लागि दिइने अन्तिम स्वीकृतमै दिएको हुन्छ । सोही अनुसार संस्थाहरुले एकीकृत कारोबार सुरु गरेपछि नेप्सेमा आएको पत्रको आधारमा कारोबार खुल्ला गरिने नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

‘दुई बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि कारोबार रोक्का गर्ने गरेका छौं । कारोबार फुकुवा लागि भने राष्ट्र बैंकले नै एकीकृत कारोबारका लागि अन्मित स्वीकृत दिँदा दिन्छ,’ प्रवक्ता पराजुलीले सिंहदरबारसँग भने, ‘सोही अनुसार हामीलाई पत्र आउँछ र भोलीपल्टै कारोबार फुकुवा हुन्छ ।’

आन्तरिक कारोबार मिलान नभइसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति सम्पन्न भएपनि सेयर कारोबार फुकुवा गर्न केही समय लगाउने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्