अब नेप्सेको पनि आईपीओ जारी हुन सक्छः सिईओ कृष्ण बहादुर कार्की

कृष्ण बहादुर कार्की
२०७८ फाल्गुन २०, शुक्रबार १९:२४

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सम्पादन गर्ने कामको प्रभावकारीता नहुनुमा नीतिगत, प्रविधिगत, समन्वयगत र केही व्यवहारिक समस्याहरु छन् । यी कुराहरुलाई सुधार गर्नतर्फ अहिले लागेका छौं ।

नीतिगततर्फ नयाँ औजारहरु प्रयोग गरेर जाने योजनामा छौं । ‘इन्ट्रा डे’ अक्सन मार्केट लगायत विभिन्न डेरिभेटिप्सका कुराहरु छन् । यसका लागि हामीले अहिले स्वीकृत भइरहेको कार्यविधिले नसमेटेको अवस्था छ । त्यसमा थप संशोधनको आवश्यकता छ । अहिले तत्काल त्यसमा जानका लागि हाम्रो प्रविधि (नट्स सिस्टम), टीएमएस त्यो ‘म्याचिङ’ हुँदैन । त्यसलाई अपगे्रड गराउनु नै पर्छ ।

केही व्यवहारगत पक्षमा पनि सुधारको आवश्यकता छ । हाम्रो सिस्टम ग्राहकमैत्री बनाउनु पर्छ । समयमै सही सुचना दिने प्रचलनको विकास गर्नु पर्नेछ । साथै, केही गुनासोहरु पनि छन् । इन्साइडर ट्रेडिङ, सर्कुलर ट्रेडिङका कुराहरु पनि आइरहेका छन् । कानुनतः नेप्सेले पाएको जिम्मेवारी अनुसार विषय वस्तुको गहन अध्ययन तथा छानबिन गरेर धितो पत्र बोर्ड पठाउने गर्नु पर्छ ।

अहिले जुन ढंगले मार्केट क्यापिटलाइजेसन गरेका छौं, या जुन मेकानिजम प्रयोग गरेका छौं । त्यो नै वास्तविकता छैन की ? त्यसलाई रिभ्यू गर्नु पर्ने जस्ता कुरा पनि आएका छन् । त्यसलाई हामीले विज्ञहरु राखेर अध्ययन गराई आवश्यक काम गराउछौं ।

धितोपत्र ऐन अनुसार बजारमा ३ वटा कोषको अवधारणा आएको छ । जसमा सेटलमेन्ट ग्यारेन्टी फण्ड, लगानीकर्ता संरक्षण कोष र क्षतिपूर्ति कोष भन्ने छन् । यी कोषहरुले मार्केट प्रतिको सकारात्मक प्रभाव बढाउन भुमिका खेल्छ ।

सेटलमेन्ट कोष भनेको नेप्से र सीडीएससीकै विषयका कुरा हुन । यसमा केही काम भइरहेको जानकारी पाएको छु । यसलाई थप तदारुकताका साथ अघि बढाउन आवश्यक पुँजी व्यवस्थापन गर्न लगायतका विषयमा छलफल कै क्रममा छन् ।

क्षतिपुर्ति कोषलाई पनि छलफल गरेर अघि बढाउने तयारी नै छ । तर, यस्ता कोषहरुलाई कसरी कति पुँजीमा सञ्चालन गर्ने भन्ने विषय एकिन गरी व्यवस्थित तबरले अघि बढाउन भने समय लाग्छ । यद्यपी मेरै कार्यकालमै बजारलाई थप विश्वसनीय बनाउँदै लगानीकर्ताको मनोबलमा सकारात्मक बनाउन सघाँउने यस्ता कोषको लागि प्रभावकारी रुपमा काम अघि बढ्छ ।

नेप्सेको अहिलेको संरचना ठिक भएन, यो ‘बिजनेश इन्टीटी’ को उदेश्यले स्थापना भएको संस्था हो । यसलाई सोही हिसाबले अघि बढाउनु पर्छ । यसको पुनरसंरचना गराएर अहिले जो लगानीकर्ताको रुपमा छन् । उनीहरुलाई बाहिर्याएर उनीहरुभन्दा विवेकी लगानीकर्ता ल्याउनु पर्छ भन्ने सवाल पनि छ ।

तर, विगतमा के भयो भन्दा पनि नेप्सेले मेरो नेतृत्व पाइसकेपछि पनि यसको पुनरसंरचनाका विषयमा छलफल भएका हुन् । यसमा सम्भावना के छ भनेर नेप्सेकै तर्फबाट पनि सवाल उठाइरहेको विषय हो । सर्वसाधारणलाई सेयर दिने, अरु पार्टनर खोज्दा प्रभावकारी हुन्छ÷हुँदैन ? अरु संस्थाहरुलाई बढी समावेश गरी प्रभावकारी बनाउने हो की ? यस्ता विषयमा हामीले छलफल अघि बढाइरहेका छौं ।

स्टकको सेयर सर्वसाधारणलाई दिने अन्तराष्ट्रिय अभ्यास नै हो । पाकिस्तान, बंगलादेशका स्टकहरुले पब्लिकमा सेयर जारी गरेका छन् । त्यसैले हामीले पनि हाम्रो नेप्सेलाई कुनै विदेशी स्टकमा लगेर सुचीकृत गराएर सेयर कारोबार गराउन सकिने सम्बन्धी अध्ययन अघि बढाउँदा फरक पदैन । मूख्य कुरा भनेको आएको नीति प्रभावकारी र जनताको लगानी सुरक्षित बनाउने हुनु पर्छ । त्योसँगै नेप्सेको प्रभावकारीता पनि बढाउन पर्छ ।

अहिले केही बजार घटेपनि जसरी बजार पुँजीकरण बढ्दै आयो, त्यो वास्तविकता हो वा होइन ? यसको ग्रोथलाई पनि हामीले अध्ययन गर्नु पर्छ । हाम्रो जस्तो अर्थतन्त्र भएको देशमा यस्तो पुँजी बजारको मूल्यांकन कसरी गर्ने भन्ने विषय पनि आउँछ । तर, हामीले बजारलाई माग र आपुर्तिको आधारमा छोडेका छौं । बजारलाई हामीले स्वतन्त्र रुपमा छोड्छौं भने त्यसमा हामीले धेरै प्रश्न गर्ने ठाँउ छैन ।

तर, बजारलाई स्वतन्त्र छोड्नु पर्छ भन्ने व्यक्तिहरुलाई बजार केही घट्यो भने नेप्सेकै गेटमा आउने ढुङगामुढा गर्ने लबिङको लागि सेबोन, अर्थमन्त्रालयसम्म धाउने प्रवृत्ति मौलाएको छ ।

घटेको बजारमा मानिस ‘प्यानिक’ हुने विश्वका सबै ठाँउमा हुन्छन् । अमेरिकाको मार्केट हेर्दा पनि अप एण्ड डाउन भइरहेको हुन्छ । तर, हाम्रोमा भने बढी प्यानिक÷सेन्टिमेन्टल भएको लबिङको लागि पहुँच भएर नै हो । त्यहासम्म जाने पहुँच भएपछि लगानीकर्ताहरुले प्यानिक भएर लबिङ गर्न विभिन्न निकाय धाउँछन् ।

यो प्रवृत्ति रोक्न सम्बन्धित सरोकारवाला पक्षले पनि बुझ्नु पर्छ । नेप्सेले गर्दा मात्र बजार घट्ने बढ्ने हुने हो या समग्र वातावरण नै यसको जिम्मेवार हो ? त्यो बुझेर पहिचान गरेर काम गर्नु पर्छ । हाम्रो बजारमा ‘लिटरेसी’ को पक्ष भने धेरै कमजोर छ । लिटरेसीको पक्षलाई जोडतोडका साथ अघि बढाउनु पर्छ ।

हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा सेयर बजारमा यति धेरै लगानकिर्ताको संलग्नता विषेश गरी आइपीओमा १० कित्ताको संरक्षण नीतिले पनि हो । यो १० कित्ता नीतिमा आकर्षित हुनेहरु पनि बजार प्रति चासो राखेर, बजारमा आउँदाको सकारात्मक÷नकारात्मक पक्ष दुवैलाई अध्ययन गरेर आउँछन् भने कोही आइपीओमा सहभागीता जनाउने मात्रका लगानीकर्ताहरु पनि छन् । समग्रमा १० कित्ता नीतिले सेयर बजारमा लगानीकर्ता थपिएका छन् । यसलाई राम्रो मान्न सकिन्छ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयको समय सान्र्दभिककता हेर्नु पर्छ । ५० वटा ब्रोकरले कार्यसम्पादन गरिरहेका छन् । अहिले बजार नै धेरै ठुलो भइसकेको छ । देश नै प्रादेशिक संरचनामा गइसकेको अवस्थामा सेवा विस्तार गर्नु आवश्यक छ । तर, बैंकलाई ब्रोकर लाइसेन्स दिएर प्रभावकारी हुन्छ या ब्रोकर कै संख्या बढाउन आवश्यक हुन्छ ? शाखा बढाएर वा सब–ब्रोकरको नीति ल्याएर हुन्छ ? यसमा छलफल गरेर अघि बढाइन्छ ।

यसका लागि हामीले विभिन्न चरणमा छलफलहरु गर्ने विज्ञहरुलाई अध्ययन गर्न लगाउने गछौं । प्रभावकारीताकै आधारमा नेप्सेले काम अघि बढाउँछ ।

नयाँ स्टक एक्सचेञ्ज पनि आउने कुरा छ । मेरो कार्यकालमा अहिलेकै नेप्सेलाई बढी प्रभावकारी बनाउने, लगानीकर्ताको माग अनुसार सञ्चालन हुन सक्ने बनाउने, बढी प्रविधिमैत्री बनाउने र आएका सुझावहरुको सुनुवाइ गर्र्दै कामहरु सम्पन्न गर्नमा म प्रतिबद्ध छु । (नेपाल स्टक एक्सचेञ्जका सिईओ कार्कीसँग सिंहदरबारले गरेको कुराकानी)

प्रतिक्रिया दिनुहोस्