Shikhar Insurance

सिभिलका साहुको उच्च डिमाण्डमा चित्त नबुझेपछि मर्जर ‘नेगोशिएसन’मा रुष्ट हुँदै हिमालयन बैंक

स्वाप रेसियो ९० प्रतिशतको अडान
सिंहदरबार संवाददाता
२०७९ असार १४, मंगलवार १४:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकसँग डिमर्जर गरिसकेको हिमालयन बैंकलाई अर्को वाणिज्य बैंकसँगै मर्जरमा जान बाध्यता छ । यही बाध्यताको फाइदा उठाउँदै अन्य वाणिज्य बैंकले हिमालयनसँग ‘नेगोशिएसन’ मा आफ्नो पावर बढाइरहेका छन् ।

इन्भेष्टमेण्टसँग डिमर्जर भएपछि राष्ट्र बैंकले सनराइज बैंकसँग नेगोशिएसन गर्न सुझाएको थियो । सनराइज बैंकले पनि २ वर्ष अघि सिर्जना फाइनान्ससँग डिमर्जर गरेपछि अर्को बैंकसँग मर्जरमा जानुपर्ने बाध्यता छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकको मर्जर तथा प्राप्ति विनियमावली, २०७३ अनुसार आपसमा मर्जर तथा प्राप्तिको सम्झौता गरी सैद्धान्तिक स्वीकृति पाएका बैंक तथा वित्तीय संस्था डिमर्जर भएमा ३ वर्षभित्र अर्को पाटनर खोजी मर्जर सम्पन्न गरिसक्नु पर्छ । अर्को संस्थामा मर्जर नहुँदासम्म राष्ट्र बैंकबाट पाउने सेवा सुविधा कटौती हुनुका साथै सेयर कारोबार रोक्का र लाभांश वितरण समेत रोक्का हुन्छ ।

जुन कारवाहीमा हिमालयन बैंक र सनराइज बैंक छन् । राष्ट्र बैंकले सनराइज बैंकसँग नेगोशिएसन गर्न सुझाएको भएपनि हिमालयन बैंकले सिभिज बैंकसँग ४ महिना अघिदेखि मर्जरको छलफल गरिरहेको छ । यी बैंकहरुबीच मर्जरको प्रारम्भिक सम्झौता पत्र नै तयार गर्ने सम्मको छलफल अहिले स्थगित भएको छ ।

सिभिल बैंकका संस्थापकहरुको डिमाण्डमा हिमालयन बैंकका सञ्चालकहरुको चित्त नबुझेपछि मर्जरको नेगोशिएसन तत्काललाई स्थगित भएको हो । दुवै बैंकको मर्जर कमिटीबिच भएरहेको दैनिक छलफल अहिले रोकिएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए ।

हिमालयन बैंकले सिभिल बैंकलाई ६० प्रतिशत स्वाप रेसियोमा प्राप्तिको प्रस्ताव गरेको हो । तर, सिभिल बैंकले भने ९० प्रतिशतको स्वाप रेसियोमा मर्जरको डिमाण्ड गरिरहेको हिमालयन बैंक ती सञ्चालकको भनाइ छ ।

‘सिभिललाई २ वर्षअघि वित्तीय अवस्था ४०/४५ प्रतिसम्म स्वापमा लिँदा हुन्छ भनेर प्रस्ताव गरेका थियौं, अहिले ग्रोथ गरेकै भएर ६० प्रतिशतसम्म एक्वार गर्दा हुने हाम्रो प्रारम्भिक अध्ययनले देखाएको हो,’ हिमालयन बैंकका ती सञ्चालकले भने, ‘तर हामीले प्रस्ताव गर्दा ७० प्रतिशत गरेका थियौं, सिभिलका टिमले ९० प्रतिशतको अडान पेश गर्यो । त्यसमा नेगोशिएसन गर्दा उनीहरु सकारात्मक हुनै सकेका छैनन् ।’

हिमालयनको पक्षबाट ८५ प्रतिशतसम्ममा प्राप्ति गर्न तयारको प्रस्तावमा समेत सिभिल बैंकले नमानेपछि अहिले मर्जर कमिटीमा छलफल नै स्थगित भएको ती सञ्चालकको भनाइ छ । दुबै बैंकको मर्जर कमिटीको पछिल्लो बैठकमा ‘नन् डिक्सक्लोजर एग्रिमेन्ट’ समेत गरेकोे । तर, सिभिल बैंकको उच्च डिमाण्ड सहितको सो एग्रिमेन्टलाई हिमालयन बैंकको पछिल्लो सञ्चालक समितिको बैठकले पास नगरे पछि उक्त एग्रिमेन्ट रद्द गरिएको उनले जानकारी दिए ।

‘उनीहरुको डिमाण्ड ९० प्रतिशतमा मर्जर नै भए राम्रो भन्ने हो, हामीले इन्भेष्टमेण्टलाई त ७८ प्रतिशत स्वापमा मान्ने भए मर्जर गर्ने भनेर राष्ट्र बैंकलाई स्पष्टिकरण दिएका थियौं, यही प्रश्न बोर्ड मिटिङमा उठेपछि अहिले त्यो एग्रिमेन्ट नै रद्द भयो,’ उनले थपे, ‘सिभिलको डिमाण्ड स्वाप रेसियोमा मात्र नभएर उच्च म्यानेजमेन्ट टिम र बोर्ड अफ डाइरेक्टरका टिममा पनि छ ।’

इन्भेष्टमेण्ट बैंकसँगको डिमर्जरले राष्ट्र बैंकको कारवाहीमा पर्दा आफ्नो नेगोशिएसन पावर खस्किएको हुँदा सिभिल बैंकको सुन्नु पर्ने बाध्यता हिमालयनलाई रहेको ती सञ्चालकको गुनासो छ ।

सिभिल बैंकले पछिल्ला २ वर्षयता वित्तीइ सुचांकहरुको आक्रमक ग्रोथ गरिरहेको छ । जसले गर्दा सिभिल बैंकले आफ्नो अर्गानिक ग्रोथलाई नै निरन्तरता दिने भन्दै हिमालयनसँग उच्च डिमाण्ड गरेको देखिन्छ । तर, हिमालयन बैंकलाई मर्जरको दबाव रहेको हुँदा सिभिलको शर्त मान्नुको विकल्प देखिन्दैन ।

हिमालयन र सिभिल मर्जरपछिको आकार

हाल हिमालयन बैंकको चुक्तापूँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभिल बैंकको ९ अर्ब ७ करोड रुपैयाँ छ । हिमालयनसँग सिभिल ८५ को स्वाप रेसियोमा मर्जर भएमा कुल चुक्ता २० अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ ।

यस्तै, गत बैखाश मसान्तसम्म हिमालयन बैंकले १ अर्ब ६७ करोड रुपैयाँ र सिभिल बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्