विदेशी लगानी प्रति राष्ट्र बैंक र वन मन्त्रालयको नीति ठिक भएनः अर्थमन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १८:५६

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैङ्क र कर्मचारीहरूले नबुझेको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई बोल्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री शर्माले आफू उर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप मिडियादेखी सबैले लागाएको गुनासो गरे । विगत लामो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक छ, भनेर नियमावली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैङ्क, ब्युरोक्रेसी तथा मिडियाको असहयोगमा कारण आफुले धेरै समस्या भोग्नुपरेको र ठूलै लडाई लडेर अहिले मन्त्रिपरिषदबाट हेजिङसम्बन्धि नियमावली पास गर्न सफल भएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

उनले भने, म उर्जामन्त्री हुँदा हेजिङ आवश्यक रहेको छ भन्ने लाग्यो । मैले हेजिङको विषय उठाएँ, तर अहिलेसम्म फाइनल भएको छैन । मैले राष्ट्र बैङ्कलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु । ब्युरोक्रेसीलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु तर बुझ्दैनन् ।

हेजिङ चाहिन्छ यो देशलाई भन्दा देश बर्बाद पार्‍यो मन्त्रीले भनेर मिडियामा आउँछ । हेजिङ जलविद्युतलाई आवश्यक छ तर जलविद्युत उत्पादक नै चाहिँदैन भन्छन् । सबैभन्दा बढी उसैलाई चाहिएको छ । अहिले मुस्किलले ठूलो लडाई लडेर मन्त्रिपरिषदबाट नियमावली पास भएको छ ।’’ विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानीसम्बन्धी नीति निकै कसिलो छ । अर्थमन्त्री शर्माले राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, वन मन्त्रालयको नीति कसिलो भएको तथा वैदेशिक लगानीका लागि झन्जटिलो रहेको बताए ।

अर्थमन्त्री शर्माले भने, ‘‘वैदेशीक लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ । हाम्रो नीति, कानुन र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ । सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ । ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुङ्गा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, जडीबुटी संकलन, बिक्री गर्न नमिल्ने ? हाम्रो रिस्वर्स प्रयोग गर्न नहुने अनि विकास के बाट गर्ने ? कसरी गर्ने ? गम्भीर प्रश्न छ ।’’

वैदेशिक लगानीसम्बन्धी कसिलो नीतिले देश विकास हुन नसक्ने भन्दै नीति र सोचमा परिवर्तन पर्ने बताए । अर्थमन्त्री शर्माले पहाड खनेर ढुङ्गा बिक्री गरौँ भन्ने प्रस्ताव गर्दा देश बेचेको आरोप लागेको उनले बताए । उनले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनैपनि देशमा लगानी बढ्न र पुँजी निर्माण हुन नसक्ने दाबी गरे ।

उनले भने, ‘‘पहाड फोरेर ढुङ्गा चलाउनै हुन्न कुनै ठाउँ नचलाउने होला । एउटा पहाड खनेर बिक्री गर्न किन मिल्दैन ? काठ बिक्री गर्न नमिल्ने, अदालतले पनि ढुङ्गामा, जङ्गलमा र प्राकृतिक स्रोतका हातै लगाउन मिल्दैन भन्छ । यहाँ कसैले पनि सबै जङ्गल काट्ने र सबै पहाड फोड्ने कुरा गरेको छैन नि तर एयरपोट बनाउन अदालतले रोक्छ । नेपालमा औसतभन्दा धेरैभागमा जङ्गल भैसक्यो तर छुन पाँइदैन, त्यस्ता प्राकृतिक स्रोतबाट पुँजी निर्माण गर्नसक्नुपर्छ । हामिसँग जे छ त्यही त प्रयोग गर्ने हो । ’’

अर्थमन्त्री शर्माले नेपाल इन्फास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) मर्जमा जान नमानेको भन्दै आक्रोश व्यक्त गरे । उनले संस्थागत वा व्यक्तिगत स्वास्थ्यका लागि मर्जमा जान नमान्नु राम्रो नभएको बताए । एकजना सीईओको जागिरका लागि मर्जमा जान मानेनन् अर्थमन्त्री शर्माले आक्रोश पोखे । उनले निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भूमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्न आवश्यक भएको बताए ।

मन्त्री शर्माले नेपालमा खडा भएका नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता बिभिन्न कोष तथा संस्थामा भएको पैसा पूर्वाधारमा लगानी नगरेर ब्याज खाने गरेको आरोप लगाए । उनले कोषहरूमा भएको अर्ब रकम बैङ्कमा जम्मा गरेर ब्याज खाने तर पूर्वाधारमा लगानी नगर्नाले पूर्वाधारको विकास हुन नसकेको भन्दै अब त्यस्ता संस्थाहरूमा रहेको रकम पूर्वाधारमा लगानी लगाउनुपर्ने बताए ।

त्यस्तै अर्थमन्त्री शर्माले उर्जा उत्पादको विद्युत् धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाए, विद्युत् बेच्ने कि विद्युत्को प्रयोग बडाउने ? विद्युत् बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै विद्युत् बेच्ने कुरा गर्व गर्न लाएक नरहेको बताए । मन्त्री शर्माले अब विद्युत् बेच्ने युग गएको, विद्युतबाट हाइड्रोजन,एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्व ६ जीमा विकास भएको भएपनि हामीले भने २ जीका कुरा गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्