पर्यटक लोभ्याउन काठमाडौँमा आतिथ्यता सम्मेलन हुने

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार ०९:०५

काठमाडौं । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन टेवा पुर्याउने उद्देश्यले नेपालमा पहिलोपटक आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आयोजना हुने भएको छ ।

होटल सङ्घ नेपाल (हान) ले आगामी असोज ८ र ९ गते सम्मेलन आयोजना गर्न लागेको हो । कोभिडपछिको नयाँ परिस्थितिमा हस्पिटालिटी क्षेत्रको विकासका लागि आगामी कार्यदिशाबारे छलफल गर्न सम्मेलन आयोजना गर्न लागिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

राजधानीमा आयोजना हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसियालगायत मुलुकका आतिथ्यता क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहनेछ । नेपालका तर्फबाट राष्ट्रिय योजना आयोग, सरोकारवाला निकायका उच्च अधिकारी एवं प्रतिनिधिको सहभागिता रहने छ ।

हानको अर्थवार्षिक साधारणसभाका बखत उक्त सम्मेलनको उद्घाटन गरिने कार्यक्रम रहेको प्रथम उपाध्यक्ष शाहले जानकारी दिए । उनले लामो समयदेखि तयारी गरिएको नेपालकै पहिलो आतिथ्यता सम्मेलनमार्फत होटल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने प्रकारका छलफल सत्र सम्मेलनमा सञ्चालन हुने बताए ।

पर्यटन व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरण गरिनुका साथै केही नयाँ अभ्यास प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न र समग्र पर्यटनको विकासका लागि सम्मेलनले भूमिका खेल्ने हानको विश्वास रहेको छ ।
सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गर्ने स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न सत्रहरु सञ्चालन हुनेछन् । दक्षिण एशियाका उदियमान हस्पिटालिटी ब्राण्ड, डिजिटल बजारीकरण, होटल सञ्चालन र सेवाको गुणस्तर अभिवृद्धि, नीतिगत सवाल, दिगो ऊर्जा वचत र पर्यावरणमैत्री सेवा सञ्चालन आदिबारे विज्ञले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ ।

छलफलले होटल सञ्चालनमा नीतिगत उपाय सुझाउनुका साथै दीर्घकालीनरुपमा होटल सञ्चालनमा अवलम्वन गर्नुपर्ने विषयमा सुझाव नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने जनाइएको छ । सो अवसरमा होटलमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्ध गराउने कम्पनी तथा व्यवसायीलाई समेटी बृहत् प्रदर्शनी गरिनेछ भने हानबाट प्रकाशित गरिएको ‘नेपाल अ जर्नी फ्रम इस्ट टु वेस्ट’ स्मारिकाको विमोचन कार्यक्रम पनि रहेको छ ।

हानमा पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी चार हजार हाराहारी होटल आबद्ध छन् । नेपालमा हाल १८ वटा पाँच तारे होटल छन् ।

अबको डेढ वर्षभित्र थप १८ वटा पाँच तारे होटल थपिने र त्यसमध्ये आठवटा राजधानी काठमाडौँमै रहेको हानका उपाध्यक्ष शाहले बताउनुभयो । अहिले होटल शय्या करिब ५० हजार रहेको बताइन्छ । हालको अवस्थामा ५० लाख पर्यटकलाई धान्न सक्ने पूर्वाधार रहेको व्यवसायीको भनाइ छ । नेपालमा कोभिडपूर्व १२ लाख हाराहारी विदेशी पर्यटक भित्रिएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्