स्टार्टअपबाट आत्मनिर्भर अर्थतन्त्र: ‘उद्यमशीलताको तहमा पुग्न सय अर्ब डलर लगानी आवश्यक’

सिद्धान्तराज पाण्डे,
२०७९ कार्तिक १०, बिहीबार १७:२६

विश्वमा सबैभन्दा पहिला अमेरिकामा स्टार्टअप उद्यमको सुरुआत भएको हो । अमेरिकामा छोटो समयमा धेरै स्टार्टअपको विकास भएको थियो । पछिल्लो समय अमेरिकाबाहेक विश्वका प्रायः सबै मुलुकमा स्टार्टअपको विकास भएको पाइन्छ । स्टार्टअपसँगै प्रविधिको पनि विकास भएको पाइन्छ । स्टार्टअपको रुपमा विकास भएका कम्पनीहरु अहिले युनिकर्न बनेका छन् । स्टार्टअपका रुपमा स्थापना भएका हजारौं कम्पनीले अहिले विश्वबजारमा ख्याति कमाएका छन् । विश्वमा सानो लगानीबाट सुरु भएर युनिकर्न स्टार्टअप बनेका कम्पनीहरू हजारौं छन् ।

विश्वका कयौं देशले स्टार्टअपको माध्यमबाट ठूलो प्रगति गर्न सफल भएका छन् । चीन, भारत, जापान, बेलायत, भियतनाम, बंगलादेश, अस्टेलिया, अफगानिस्तानलगायत देशहरुमा स्टार्टअप उद्यममा राम्रो विकास भएको छ । जापानले आज भन्दा २०/३० वर्षअगाडि स्टार्टअपमा ठूलो फड्को मारेको थियो । त्यो बेला जापानले नयाँनयाँ प्रविधि ल्याउन सफल भएको थियो । त्यो समयमा जापानले सोनी वाक्म्यान, निन्टेन्डोजस्ता इनोभेसनहरु ल्याएको थियो ।

तर पछिल्ला दशकहरुमा स्टार्टअप उद्यममा जापानले कुनै प्रोत्साहन दिएन । अहिले स्टार्टअपको विश्वव्यापार बिस्तारसँगै पुनः प्रोत्साहन दिन थालेको छ । प्रोत्साहन स्वरुप जापानले पछिल्लो समय यो उद्यममा ३० अर्ब डलरभन्दा बढी लगानी गरेको छ ।

पछिल्लो समय भारतमा दिनप्रतिदिन स्टार्टअप कम्पनीहरु खुल्ने र वृद्धि हुने क्रम जारी छ । भारतले नयाँ उद्यममा धेरै फड्को मारेको छ । स्टार्टअपले भारतको निर्यातमा ठूलो योगदान पु¥याएको देखिन्छ । भारतले सफ्टवेयर निर्यातबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न थालेको छ ।

पछिल्लो समय भारतमा दिनप्रतिदिन स्टार्टअप कम्पनीहरु खुल्ने र वृद्धि हुने क्रम जारी छ । भारतले नयाँ उद्यममा धेरै फड्को मारेको छ । स्टार्टअपले भारतको निर्यातमा ठूलो योगदान पुर्याएको देखिन्छ । भारतले सफ्टवेयर निर्यातबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न थालेको छ ।

अहिले भारतमा हरेक महिना दुईदेखि तीनवटा स्टार्टअप युनिकर्नका रुपमा परिणत भइरहेका छन् । भारतको आर्थिक सर्वेक्षणअनुसार सन् २०२३ जनवरीसम्ममा २ अर्ब ७७ करोड ७७ लाख डलर भन्दा बढी मूल्यांकन गरिएका युनिकर्न स्टार्टअपको संख्या ८३ नाघ्नेछ । भारतमा सन् २०२१ मा ४४ स्टार्टअप युनिकर्न बनेका थिए । बेलायतलाई पछि पार्दै अहिले विश्वमै तीव्र रुपमा युनिकर्न स्टार्टअप बनाउने देशमा भारत तेस्रो हुन पुगेको छ । भारतभन्दा अघि अमेरिका र चीन छन् । सन् २०२१ मा अमेरिकामा ४८७ र चीनमा ३०१ वटा स्टार्टअप युनिकर्न कम्पनी बनिसकेका थिए ।

दिल्ली भारतको सबैभन्दा धेरै स्टार्टअपहरू रहेको सहर बनेको छ । त्यसअघि स्टार्टअपको हबका रुपमा ब्याङ्ग्लोर थियो । दिल्ली अहिले त स्टार्टअपको राजधानी नै बनिसकेको छ । भारत सरकारले सन् २०२१ मा १४ हजार नयाँ स्टार्टअप पहिचान गरेकोे थियो । सन् २०१६ देखि २०१७ सम्ममा केवल ७३३ स्टार्टअप पहिचान गरेको भारत सरकारले चार वर्षको अन्तरालमा १४ हजारभन्दा बढी पहिचान गरेको हो । सन् २०२३ सम्ममा भारत सरकारले ६१ हजार भन्दा बढी स्टार्टअप उद्यम गर्ने लक्ष लिएको छ ।

नेपालमा स्टार्टअप उद्यमको सुरुआत
नेपालमा स्टार्टअप उद्यमशीलताको सुरुआत करिब अढाइ सय वर्षपहिले भएको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकृत नेपालको राजधानी काठमाडौं बनाएपछि यो सहरलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना देखे । त्यो बेला नेपालमा उद्यम–व्यवसाय गर्ने प्रचलन थिएन । उद्यम गर्न खोज्नेहरुलाई समाजले राम्रो मान्दैनथ्यो । राजा पृथ्वीनारायण शाहले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउन भारतको राजस्थानका मारबाडी समुदायका व्यापारीलाई पसल खोल्न र उद्यमशीलताको सुरुआत गर्न अनुमति दिए ।

पृथ्वीनारायणको यो कदमलाई पछि प्रधानमन्त्री चन्द्र शमशेर जबराले बिस्तार गरे । नेपालमा उद्यमशीलताको जरा गहिरो नहुनुको एउटा कारण जनतामा जागिर खाने मनोवृत्ति बलियो हुनु पनि हो । जागिरमा सुरक्षा हुने बुझाइ थियो । यही मनोविज्ञानका कारण नेपालमा स्टार्टअप उद्यमशीलताको विकास हुन धेरै समय लागेको देखिन्छ ।

नेपालमा नयाँ व्यवसाय गर्ने नूतन सोच रहे पनि पूर्वाधारको विकास धेरै पछिमात्रै हुन सकेको देखिन्छ । नयाँ टेक्नोलोजीसहितको स्टार्टअप उद्यम विकास नहुनुको कारणमा नेपालमा इन्टरनेटको बिस्तार, एक्सपोजर र अन्तरराष्ट्रिय लगानी अभाव पनि हो । नेपालमा अन्तरराष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुमा बिस्तारै भित्रिन थालेका हुन् । नेपाल विश्वमा स्टार्टअपमा धेरै पछाडि छ । तथापि, यहाँ पनि पछिल्ला केही वर्षदेखि स्टार्टअप वृद्धि हुँदै गएको छ । नेपालका यस्ता कम्पनीहरुमा पनि युनिकर्न स्टार्टअप बन्ने सम्भावना प्रचुर रहेको छ ।

स्टार्टअपमा लगानी
विश्व स्टार्टअप इकोसिस्टम प्रतिवेदन–२०२० अनुसार, स्टार्टअप अर्थतन्त्रको आकार ३० खर्ब (तीन ट्रिलियन) अमेरिकी डलर पुगिसकेको छ । संयुक्त राज्य अमेरिकामा स्टार्टअप उद्यममा ४० खर्ब (४ ट्रिलियन) अमेरिकी डलर लगानी रहेको छ । दक्षिण एसियामा भारतमा १०० बिलियन भन्दा बढी डलरको संयुक्त पुँजी लगानी भएका २०,००० हजार युनिकर्न स्टार्टअप कम्पनी सञ्चालनमा छन् ।

भारतमा निजी क्षेत्रबाट ४० अर्ब डलर टेक्नोलोजी स्टार्टअप उद्यममा लगानी भएको छ । तुलना गर्ने हो भने नेपालमा त्यस्तो लगानी अत्यन्तै न्यून छ । विश्वका विभिन्न देशमा लगानी तथा प्रविधिको उच्चतम विकास र बिस्तार भएसँगै नेपालमा पनि नवीन व्यावसायिक धारणासहित स्टार्टअप उद्यममा लाग्ने क्रम बढ्दो छ । ‘म्यापिङ अफ नेपाल्स इभोल्भिङ स्टार्टअप इकोसिस्टम–२०१९’को एक अध्ययनअनुसार नेपालमा अहिले करिव साढे चार सय वटा स्टार्टअप इन्क्युबेसन र एक्सिलेरेसनको प्रक्रियाबाट अघि बढिरहेका छन् । तीमध्ये अधिकांश काठमाडौं उपत्यकामा केन्द्रित छन् ।

नेपालमा स्टार्टअप टेक्नोलोजीमा लगानी गर्ने ठूलो सम्भावना छ । यो उद्यममा विगत चार वर्षमा विदेशी लगानी ५७० मिलियन डलर अर्थात् ७२ अर्ब १० करोड ५३ लाख रुपैयाँ नेपालमा भित्रिएको छ । तीन वर्षअगाडि वैदेशिक लगानीमा ५ करोडको थ्रेस होल्ड बनाउँदा टेक्नोलोजी क्षेत्रमा लगानी कम भएको थियो । नेपालमा निजी क्षेत्रको लगानी खासै छैन ।

स्टार्टअप उद्यममा २ मिलियन डलरभन्दा माथि लगानी भएको छैन । ठूलो लगानी जलविद्युत्मा भएको छ । तर नेपालमा प्राविधिक व्यवसाय सुरु गर्नको लागि लागत पनि तुलनात्मक रूपमा कम लाग्छ । नेपालमा २०२० र २०२१ मा १ बिलियन डलर मात्रै लगानी भएको छ । लगानीका हिसाबले दक्षिण एसियाको स्टार्टअप उद्यममा नेपाल धेरै पछाडि छ । दक्षिण एसियामा भुटान र अफगानिस्तानबाहेक अन्य देश भन्दा पछाडि नेपाल छ ।

अन्तरराष्ट्रिय बजारमा स्टार्टअप उद्यम लगभग ९० प्रतिशत ‘टेकअफ’ गर्न असफल भएको देखिन्छ । यो उद्यममा वैदेशिक लगानी मात्रै भएर पुग्दैन, यसमा प्रविधि मुख्य कुरा हो । पछिल्लो समय नेपालका व्यावसायिक संगठनहरुले पनि लगानी गर्न सुरुआत गरेका छन् । स्टार्टअप उद्यमशीलतालाई विकास गर्नको लागि नेपालकै स्रोतसाधनको प्रयोगले पुग्दैन । नेपाल मध्यम उद्यमशीलताको तहमा पुग्नको लागि करिब १०० अर्ब डलर अर्थात् वार्षिक ५ देखि ७ अर्ब डलर लगानी आवश्यक पर्छ । नेपालको क्षमता २०२१ मा १ अर्ब डलरमात्रै थियो । स्टार्टअप उद्यमको लागि विदेशी लगानीलाई प्राथमिकता दिनुपर्छ । आफ्नो आन्तरिक पुँजी र स्रोतसाधन प्रयोग गर्छु भनेर मात्रै पनि हुँदैन ।

नेपालमा स्टार्टअप व्यवसायको वर्तमान अवस्था
ठूला उद्योगी–व्यवसायीले भन्दा पछिल्लो समय कल्पनाशील नवउद्यमीहरु नौला–नौला उद्यम बिस्तारको खाका बुन्न थालेका छन् । चुनौतीका बीच अवसर सिर्जना गर्ने खुबी भएका कल्पनाशील उद्यमीहरुले इच्छाशक्ति र मेहनतको बलमा आफ्ना व्यावसायिक सपनालाई साकार पार्न सफल भइरहेका छन् । अहिले पारिवारिक विरासत र ठूलो पुँजी नभए पनि नवीन सोच बोकेका उद्यम (स्टार्टअप) हरुको बिस्तार क्रमशः हुन थालेको छ । खासगरी, विदेशबाट फर्किएका र उद्यमशील चेत भएका युवाले स्टार्टअप अभियानलाई गति दिएका छन् ।

स्टार्टअप प्रोत्साहनका लागि ‘इकोसिस्टम’ बिस्तार हुँदै गएको छ । स्टार्टअप व्यावसायिक आइडिया र कार्यान्वयन क्षमता भएका उदीयमान कम्पनीलाई लगानी गर्न बिजनेस अक्सिजन प्रा.लि, डोल्मा इम्प्याक्ट फन्ड, टिम भेन्चर्स, ट्रु नर्थ एसोसिएट्स, वान टु वाचलगायतका संस्थाले लगानी गरिरहेका छन् । नेपालको आयातलाई निरूत्साहित गर्दै निर्यातमुखी बनाउन र युवा रोजगारी सिर्जना गर्न सरकारले स्टार्टअप व्यवसायलाई प्रवद्र्धन गर्न आवश्यक छ ।

कोरोनापछि डिजिटल स्टार्टअपको बिस्तार
कोरोना महामारीक्रै क्रममा पनि नेपालमा बिस्तारै स्टार्टअप उद्यम बढ्न थालेको छ । दुई वर्षभन्दा लामो समय कोरोना संक्रमणले अन्य क्षेत्रमा नराम्रो असर गरे पनि इन्टरनेटमा आधारित ई–कमर्स, स्वास्थ्य, डिजिटल पेमेन्टका विभिन्न स्टार्टअपहरूलाई अवसर प्रदान गर्यो । त्यो अवधिमा नेपालमा डिजिटल ट्रान्सफर्मेसनमा ठूलो प्रगतिसँगै बिस्तारसमेत भएको छ । इन्टरनेटमा आधारित स्टार्टअप व्यवसाय वा अन्य उद्यमहरूले यहीबेला ठूलो प्रगति गर्ने अवसर प्राप्त गरे ।

कोरोना संक्रमणको बेला फिनटेक, डिजिटल पेमेन्ट, ई–कमर्स जस्ता स्टार्टअप फस्टाए । लकडाउनकै बेलामा ई–कमर्स कम्पनीहरुले धेरै नेपाली बजारमा प्रवेश गर्ने अवसर पाए । त्यस्तै, होमडेलिभरी गर्ने सेवाहरू पनि फस्टाएका छन् । सरकारले नयाँ सोचका साथ नौलो व्यवसाय सुरु गर्ने युवालाई प्रोत्साहन गर्नुपर्ने हो, तर दुर्भाग्य, सरकारी घोषणा कागजमा सीमित भएका छन् ।

विश्वमा सानो व्यवसायबाट सुरु गरेका सयौं स्टार्टअप अहिले अर्बौंको ब्यापार गर्ने युनिकर्न कम्पनी बन्न सफल भएका छन् । ती युनिकर्न कम्पनीले आन्तरिक रोजगारी सिर्जनामा ठूलो योगदान गरेका छन् भने मुलुकको आर्थिक सुधारमा समेत इँटा थपेका छन् । नेपालमा सुरु भएका स्टार्टअप व्यवसाय थोरै सफल र धेरै असफल भएका छन् । यसको कुनै सर्वेक्षण र तथ्यांक छैन, तर सानो पुँजीमा स्थापना भएका स्टार्टअप कम्पनी थोरै मात्र सफल भएका देखिन्छन् । यति हुँदाहुँदै पनि नेपालमा पछिल्लो एक दशकमा भने स्टार्टअप उद्यममा केही सुधार हुँदै गएको छ ।

स्टार्टअप उद्यमको लागि नीति अभाव
नेपालमा हालसम्म स्टार्टअप अर्थात् नवप्रवत्र्तन व्यवसायका लागि छुट्टै ऐन, नियम तथा नीति बनेको छैन । नेपाल सरकारको नीतिले स्टार्टअप उद्यम विकासको लागि वास्तवमा कुनै काम गर्न सकेको देखिँदैन । सरकारको नीति स्टार्टअप उद्यमलाई पछ्याउनुपर्नेमा व्यवसायले सरकारलाई पछ्याउनुपर्ने विडम्बना छ । नेपालमा नयाँ आइडिया (जुक्ति) ट्रेडमार्क सम्बन्धी कानुन नै फितलो छ । कसैले ट्रेडमार्क चोर्यो भने कारबाही गर्ने कानुनसमेत छैन । बौद्धिक सम्पत्ति सम्बन्धी कानुन २०२२ सालमा बनेको थियो ।

अहिले दुनियाँ कहाँ पुगिसक्यो, तर त्यही थोत्रो कानुन बोकेर हामी बसिरहेका छौं ! त्यसले गर्दा नयाँ प्राविधिक स्टार्टअप उद्यममा वैदेशिक लगानी ल्याउन समेत कठिनाइ छ । सरकारले जलविद्युत् क्षेत्रमा नियम र कानुन राम्रोसँग ल्याएर सहुलियत दिएको छ । जलविद्युत् क्षेत्र पछिल्लो समय राम्रो भएको छ । त्यस्तै, सिमेन्टले पनि राम्रो प्रगति गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातजन्य उत्पादनमा अनुदान बढाएसँगै सिमेन्ट उद्योगमा उत्साह थपिएको छ । स्टार्टअप उद्यमका लागि सरकारले ऐन नियम ल्याएर व्यवस्थित नबनाएसम्म जहिले पनि अलमल नै हुन्छ ।

अहिले त कस्तो व्यवसायलाई स्टार्टअप भन्ने, कस्तोलाई नभन्ने अन्योल छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा पहिलो पटक स्टार्टअप व्यवसायबारे केही पहिचान गरेको देखिन्छ ।

स्टार्टअपमामा सरकारले गरेको प्रयास
कानुनी तथा नीतिगत रूपमा स्टार्टअपको परिभाषा प्रष्ट उल्लेख नभए पनि सरकारले बजेटमार्फत् केही सुविधा र सहुलियत दिन खोजेको देखिन्छ । आव २०७८/०७९ को बजेटमा खासगरी युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न व्यवस्था गरेको पाइन्छ ।

जसमध्ये स्टार्टअपहरुको परियोजना धितो राखी १ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीऊ पुँजी कर्जा उपलब्ध गराइने भनिएको छ । त्यस्तै, स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्राउन नीतिगत सहजीकरण गर्ने र यसका लागि एक अर्ब रुपैयाँको च्यालेन्ज फन्ड स्थापना गर्ने सरकारको घोषणा छ । योजना आयोगले पनि स्टार्टअपलाई ५० लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने भनेर प्रस्ताव माग गर्यो, तर यसमा कुनै कार्यक्रम कार्यान्वयन हुन सकेको देखिँदैन ।

आव २०७१/०७२ बजेटमा स्टार्टअपहरूलाई सहयोग गर्ने भनेर पहिलो पटक ५० करोड रुपैयाँको कोष खडा गरिएको थियो । सो कोषको उद्देश्य स्टार्टअप सञ्चालन गर्न चाहने उद्यमीलाई बीऊ पुँजी उपलब्ध गराउने रहेको थियो । त्यसयताका हरेक वर्षका बजेटले कुनै न कुनै किसिमले स्टार्टअपलाई छोएका छन् ।

तर, झन्डै एक दशक हुन लाग्दासम्म सरकारले घोषणा गरेका सुविधा र सहुलियत कुनै पनि स्टार्टअपले पाउन सकेका छैनन् । यसको मुख्य बाधक सरकारी नीति नै रहेको छ । स्टार्टअप कार्यक्रम घोषणा गर्ने, तर त्यसको परिभाषा र नियमावली नहुनुलाई विडम्बना नै मान्नुपर्छ । नीतिगत अस्पष्टताका कारण स्टार्टअपहरूले सरकारी सहयोग, बैंकको ऋणदेखि अन्य लगानीसमेत ल्याउन सकेका छैनन् ।

बजेटमार्फत् स्टार्टअप व्यवसायको दर्ता, नवीकरण तथा अन्य सेवा एकद्वार प्रणालीबाट मिलाउने व्यवस्था गरिएको छ । स्नातक वा त्योभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका युवाले आफूले प्राप्त गरेका शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भन्ने व्यवस्था गरिएको छ ।

स्टार्टअप प्रवद्र्धन गर्न नीतिगत हस्तक्षेप आवश्यक
स्टार्टअप उद्यमीहरुको लागि आवश्यक कानुन तथा अन्य साइबर कानुनको पनि व्यवस्था गर्नुपर्छ । महिला उद्यमी, युवा रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्टार्टअप व्यवसायमा लगाउन ऋण, तालिम, सीप विकास र उद्यमशीलतामा विशेष अनुदान दिनुपर्छ । स्टार्टअप व्यवसायका लागि एकलबिन्दु सेवाकेन्द्रको स्थापना गरिनुपर्छ । स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्राउन नीतिगत सहजीकरण गरिनुपर्छ ।

स्टार्टअप उद्यमबाट औद्योगीकरण
नेपालमा पछिल्लो समय सफ्टवेयरको माध्यमबाट घरघरमा नै टुटल, पठाओ, फुटमान्डुलगायतले सेवा दिँदै आएका छन् । यसले मुलुकको अर्थतन्त्रमा कति योगदान हुने रहेछ भन्ने कुरा बुझ्नुपर्छ । भविष्य भनेको टेक्नोलोजी हो । टेक्नोलोजी भनेकै भविष्य हो । यी दुई कुरा एकै सिक्काका दुई पाटा जस्तै हुन् । नेपालमा नै उत्पादन हुने वस्तु आयातमा प्रतिबन्ध लगाएर मुलुकभित्रकै उत्पादन प्रयोग गर्नुपर्छ । रेमिट्यान्सको अलावा वैदेशिक लगानी कसरी ल्याउने भन्ने सोच्नुपर्छ । उद्यमशीलताले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । यसको बेफाइदा केही पनि छैन । जतिसक्दो उद्यमशीलतालाई प्रोत्साहन गरेर लैजानु पर्छ ।

सरकारले ऐन, कानुन र नीति बनाउँदा उद्यमशीलताको आँखाले हेर्न सकेमा स्टार्टअपकै विकासबाट आत्मनिर्भर अर्थतन्त्र बन्न सक्छ । अबको दशकमा स्टार्टअपबाट उद्यमीको हितमात्र नभएर देशभित्रै ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना हुनेछ ।

(बिजनेस अक्सिजन प्रालिका अध्यक्ष-प्रबन्ध निर्देशक सिद्धान्तराज पाण्डेकाे  यो विचार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को बार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्