Shikhar Insurance

यसकारण रोकियो यी ४ बैंकको लाभांश, अर्को वर्ष बम्पर आउँला?

सिंहदरबार संवाददाता
२०७९ पुष १०, आईतवार १६:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ४ वटा वाणिज्य बैंकलाई लाभांश वितरणमा रोक लगाइ सकेको छ । सेयरधनीलाई लगानीको प्रतिफल दिन राष्ट्र बैंकले एनआइसी एशिया, लक्ष्मी, माछापुच्छ्रे र सनराइज बैंकलाई रोक लगाएको हो ।

हालसम्म कृषि विकास बैंक बाहेक २१ वटा वाणिज्य बैंकले गत आवको सञ्चित मुनाफाबाट सेयरधनीलाई न्यूनतम ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् भने, यी मध्ये १० वटा वाणिज्य बैंकले साधारणसभामार्फत् घोषित लाभांश पारित गरी सेयरधनीमा वितरण समेत गरिसकेको छन् । तर, यी चार वाणिज्य बैंकहरुले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गर्दै वार्षिक साधारणसभाको मिति तय गरेका हुन् । जसमा एनआइसी सनराइज र माछापुच्छ्रेले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ भने, एशिया एशिया बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । सनराइज बैंकले भने गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेपनि हालसम्म वार्षिक साधारणसभाको मिति तय गरेको छैन ।

Citizen Life
Kumar Bank
Nepal Life

लाभांश वितरण नगर्नुका कारण

बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारण सभा सम्पन्न गर्नको लागि सम्बन्धित वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने हुन्छ । जसमा राष्ट्र बैंकले प्रिलिमनरी (प्रारम्भिक) स्वीकृति दिएपछिमात्रै सोही अनुसार बैंक तथा वित्तीय संस्थाले सेयरधनीमा वितरण गर्न मिल्ने लाभांश घोषणा गर्छन् । घोषित लाभांश राष्ट्र बैंककै स्वीकृति पश्चातमात्रै बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभाले पारित गरेमा सेयरधनीमा वितरण हुन्छ ।

राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति दिँदै सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण सक्ने/नसक्ने वा दिने/नदिने विषय एकिन गरेर मात्रै दिन्छ । सेयरधनीलाई लाभांश वितरण गर्न गरी मुनाफा आर्जन नगर्ने र तोकिएको नियमकिय प्रावधान कायम गरी व्यवसाय नगर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ ।

गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेका ४ वाणिज्य बैंकमध्ये ३ वटाले तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा लाभांश रोकिएको हो भने, सनराइ बैंकको भने गत आवको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने पैसा नै नभएपछि लाभांश वितरण गर्छु भन्न बैंकले नसकेको हो ।

केन्द्रीय बैंकद्वारा जारी पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्यूनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्राथमिक पुँजी कोषभित्र न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत, पुँजी संरक्षण बफर २.५ प्रतिशत हुनुपर्छ । न्यूनतम साझा (टायर १) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात पनि भनिन्छ ।

बैक तथा वित्तीय संस्थाको यस्तो अनुपात केन्द्रीय बैंकको सम्बन्धित बैंक सुपरिवेक्षणले दैनिक मासिक तथा त्रैमासिक रुपमा मगाएर निगरानी गर्छ भने बैंकहरुले त्रैमासिक रुपमा यस्तो प्रकाशित गर्नु पर्छ । गत आवको पहिलो र दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंक र एनआइसी एशिया बैंकले तोकिएको प्राथमिक पुँजीकोष अनुपात कायम गरेका थिएनन् । भने, लक्ष्मी बैंकले भदौ महिनामा प्राथमिक पुँजीकोष अनुपात कायम गरेको थिएन ।

एनआइसी एशिया बैंकले अघिल्लो आर्थिक वर्षमा तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा गत आवमा लाभांश वितरण गर्न पाएको थिएन भने गत आवको पहिलो त्रैमासिकमा ७.३० र दोश्रो त्रैमासमा समेत बैंकको प्राथमिक पुँजीकोष ७.८० प्रतिशतमात्रै कायम थियो । जसका कारण बैंकले गत आवको मुनाफाबाट चालु आवमा पनि लाभांश वितरण गर्न भएपछि बैंकले लाभांश वितरणको प्रस्ताव बाहेक नै २५औं वार्षिक साधारणसभा पुस २९ गते बोलाएको हो ।

बैंकले आवको ०७६/७७ को मुनाफाबाट सेयर धनीलाई १७ प्रतिशत लाभांश वितरण गरेको थियो । भने, ०७७/७८ मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपनि राष्ट्र बैंकले स्वीकृत गरेको थिएन सोही कारणले गर्दा उक्त आवबाट बैंकका सेयरधनीले लाभांश पाएका छैनन् भने, आव ०७८/७९ को मुनाफाबाट पनि बैंकले २० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दथ्यो । तर, तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा बैंकले गत आवको मुनाफाबाट चालु आवमा समेत लाभांश वितरण गर्न नपाएको हो । बैंकले चालु आवको ४ वटै त्रैमासमा तोकिएको पुँजीकोष कायम गरेमा आर्थिक वर्ष २०८०/८१ मा चालु आवको सहित एकै पटक ३ वटा आवको मुनाफा सेयरधनीलाई वितरण गर्न पाउँछ ।

यस्तै, माछापुच्छ्रे बैंकद्वारा सार्वजनिक गत आवको पहिलो र दोस्रो त्रैमासमा समेत बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत कायम छैन । गत आवको असोज मसान्तमा माछापुच्छ्रे बैंकको प्राथमिक पुँजीको कोष अनुपात ८.०२ प्रतिशत र पुष मसान्तमा ८.०९ प्रतिशत कायम थियो । जसकारणले गर्दा माछापुच्छ्रे बैंकलाई समेत राष्ट्र बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणमा रोक लगाइसकेको छ । बैंकले समेत पुस २८ गवते आफ्नो २४औं वार्षिक साधारणसभा लाभांश वितरणको प्रस्ताव बिना नै बोलाइ सकेको छ ।

माछापुच्छ्रे बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ३२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिसम्म बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम हुँदा बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई १२.९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । तोकिएको पुँजीकोष अनुपात नपुगेको कारणले बैंक सो मुनाफा संचित खातामा राखेको छ । बैंकले चालु आवको मुनाफा सहित गरी आव ०७९/८० मा २ वर्षको लाभांश सेयरधनीलाई एकै पटक वितरण गर्न सक्छ ।

यसैगरी, लक्ष्मी बैंकले गत आवको भदौ महिनामा प्राथमिक पुँजीकोष अनुपात ८.४८ प्रतिशत कायम गरेको थियो । सोही कारणले गर्दा राष्ट्र बैंकले बैंकलाई गत आवको मुनाफाबाट चालु आवमा सेयरधनीमा लाभांश वितरण गर्न स्वीकृति दिएन । बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ कायम रहँदा बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ । चालु आवको मुनाफा सहित गरेर आव २०८०/८१ मा बैंकले २ आवको मुनाफाबाट एकैपटक सेयरधनी लाभांश वितरण गर्न सक्छ ।

सनराइज बैंकले ढुकुटी नै रित्याएपछि लाभांश शुन्य

सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी साधारण सभा गर्ने घोषणा गरिसकेको छ । बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर नबाड्ने निर्णय गरेको हो । बैंकले आगामी साधारण सभामा आव २०७८÷७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेशमात्रै प्रस्ताव गर्ने उल्लेख गरेको छ ।

यस वर्ष बैंकले सेयरधनीलाई बाँड्न मिल्ने पैसा ढुकुटीमा नभएकै कारणले सेयरधनीको हात रित्तो बनाउन लागेको हो । यस पटक सेयरधनीलाई प्रतिफल नदिनेमात्रै होइन बैंक व्यवस्थापन अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्य क्षमता खराब हुँदा लगानीकर्ताको टाउँकोमा करोडौं रुपैयाँ ऋण समेत थपिएको छ ।

यसअघि अर्थात् गत आव २०७७/७८ को मुनाफाबाट गत आवमा बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांशगरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो। हाल १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरणको क्षमता राख्दथ्यो । गत आवको असार मसान्तसम्म बैंकको ‘रिटेन्ड अर्निङ’ अर्थात संचित नाफामा १ अर्ब ४६ करोड ३० लाख ५१ हजार रुपैयाँ मौज्दात थियो ।

यसको मतलब बैंकले वितरण योग्य नाफाबाहेक पनि थप १ अर्ब ४६ करोड रुपैयाँ सेयरधनीलाई प्रतिफलको रुपैयाँ दिन सक्छ भन्ने नै हो । ‘रिटेन्ड अर्निङ’ को पैसा भनेको अघिल्ला वर्षहरुमा सेयरधनीले पाउने प्रतिफल अर्थात् बाँड्न मिल्ने पैसा नै आगामी वर्षमा सेयरधनीलाई दिन रिजर्भ राखिएको हुन्छ ।

तर, बैंकले ३ महिनामै अर्थात् चालु आवको पहिलो त्रैमासमा ‘रिटेन्ड अर्निङ’ १५ करोड ७ लाख ८२ करोड रुपैयाँले र वितरण योग्य नाफा २८ करोड २३ लाख रुपैयाँले नकारात्मक भएको वित्तीय विवरण प्रकाशित गरेको छ । सो वित्तीय विवरणअनुसार बैंकको सेयरधनीको पैसा अर्थात् रिजर्भमा भएको प्रतिफल नै शुन्य गरेर थप १५ करोड रुपैयाँ ऋण थपेको हो । ३ महिनाबीचमै बैंकले सेयरधनीको १ अर्ब ४६ करोड ३० लाख ५१ रुपैयाँ हजार खर्च गरेर थप १५ करोड ७ लाख रुपैयाँ बढी ऋण थप गर्दा १ अर्ब ६१ करोड रुपैयाँ सेयरधनीको पैसा बैंकबाट गायब भएको हो । बैंक व्यवस्थापनले बैंक व्यवस्थापनले प्रोभिजन र अन्य खर्च वा दायित्व बहन गर्न ‘रिटेन्ड अर्निङ’ को पैसा खर्च गर्दा समस्या बढेको हो ।

यसरी सेयरधनीलाई दिने प्रतिफल नै नकारात्मक भएपछि लाभांश घोषणा गर्न नसकेको कुरा भने बैंकले प्रष्ट पारेको छैन । सनराइज बैंकले आगामी त्रैमासमा नेगेटिभिमा रहेको ‘रिटेन्ड अर्निङ’ पोजिटिभ बनाएपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गर्न पाउँछ । आगामी दिनमा बैंकको आम्दानीबाट सेयरधनीले पाउने प्रतिफलबाट पनि १५ करोड रुपैयाँ नेगेटिभ ‘रिटेन्ड अर्निङ’ पोजिटिभ भएपछि मात्रै बैंकका सेयरधनीले लाभांश पाउँछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्