Shikhar Insurance

काँग्रेसले प्रचण्ड सरकारलाई ‘विश्वास’ गरेपछि सेयर बजारमा अविश्वास, एकै पटक २१.३५ अंकले ओरोलो

सिंहदरबार संवाददाता
२०७९ पुष २६, मंगलवार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली काँग्रेसले विश्वास गरेपछि सेयर बजारमा भने अविश्वास पैदा भएको छ । एमाले–माओवादी गठबन्धनमा प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली काँग्रेसले पनि विश्वासको मत दिने निर्णय मंगलबार गरेको थियो । कारोबार खुलेपछि लगातार उकालो चढेको बजार काँग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरेपछि एक्कासी ओरोलो लागेको हो । मंगलबार बजार २१.३५ अंकले घटेर २१९०.४२ अंकमा झरेको छ ।

देउवा नेतृत्वको काँग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा नयाँ ट्वीष्ट आउन सक्ने भन्दै लगानीकर्ता आत्तिएको देखिन्छ । ‘काँग्रेसले प्रचण्डलाई विश्वास गर्दा सेयर बजारमा अविश्वास पैदा भयो, एमालेलाई सत्ता बाहिर राखेर फेरी काँग्रेस सरकारमा आउने हो की भन्ने त्रास लगानीकर्तामा देखियो । यस अघि काँग्रेस र माओवादीको सरकार हुँदा पनि लगानीकर्ता निरुत्साहित थिए, बजार घटेकै थियो । अहिले पनि त्यस्तै डर लगानीकर्ताहरुमा देखियो’, एक ब्रोकरले लगानीकर्ताको मनोविज्ञान सम्झाउँदै भने ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार कारोबारको सुरु समयमा लगातार ६५ अंक बढेको नेप्से सूचक अन्त्यमा पुनः नकारात्मक भएर २१ अंकले घटेर बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक २१.३५ अंकले घटेर २,१९०.४२ को विन्दुमा बन्द भएको हो । त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७५ अंकले घटेर ४१९.१६ को विन्दुमा बन्द भएको छ ।

मंगलबार दिनभरीमा २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने उल्लेख्य बढेको छ । अघिल्लो दिन अर्थात सोमबार परिसूचक ४६.७६ अंकले बढ्दा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको ५३ कम्पनीको सेयर मूल्य बढेको छ । १५१ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बाराही हाइड्रो पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । भने, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सबैभन्दा बढी ८.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा न्यादी ग्रुप पावर शीर्ष स्थानमा छ । कम्पनीको २१ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै, अपि पावर कम्पनीको २० करोड ६७ लाख, रिडी पावर कम्पनीको १८ करोड १५ लाख, एनआईसी एशीया बैंकको १६ करोड ७२ लाख र शीवम् सिमेन्टको १६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको हो।

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ४.३१ प्रतिशत घटेको छ। त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्