सामान्य अंकले बढ्यो सेयर बजार, सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० कार्तिक २२, बुधबार १५:२५

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । सोमबारदेखि उकालो लाग्न थालेको सेयर बजार निरन्तर तेस्रो कारोबार दिन बढेर बन्द भएको हो ।

बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

त्यसैगरी, हिमालयन बैंकको संस्थापक सेयर ५ करोड २३ लाख, नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक सेयर ३ करोड ६० लाख, सानिमा जीआईसी इन्स्यारेन्सको २ करोड ६४ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब १ अर्बको सेयर कारोबार भएको बजारमा यस दिन २८८ कम्पनीको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १२४ कम्पनीको सेयर मूल्य बढेको छ । ९३ कम्पनीको सेयर मूल्य घटेको छ भने, २२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको ७.४० प्रतिशत र नेपाल एसबिआई बैंकको सेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.३८ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक यस दिन स्थिर रहेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्